समाचारमा बालबालिका

कक्षा ९ पढ्न अर्को प्रदेश

रोल्पाको परिवर्तन गाउँपालिका ४, जरेनीका सुरेश विष्ट रुकुम पश्चिमको मुसीकोट नगरपालिका १०, को चुन बस्छन् । डेरा लिएर चुन बस्ने उनले पढ्नका लागि घर छाडेका हुन् । सोही ठाउँका वीरेन्द्र विष्ट पनि डेरा लिएरै चुनमा बस्दै आएका छन् । दुई वर्षदेखि सुरेश र वीरेन्द्रको डेरा चुनमा छ । डेरा गरेरै बस्ने गरी उनीहरू उच्च शिक्षाका लागि भने यहाँ पढ्न आएका होइनन् । कक्षा ९ र १० पढ्न उनीहरूले जिल्ला मात्रै होइन, प्रदेश नै छाड्नुपर्छ । गाउँमा विद्यालय नहुँदा उनीहरू साढे दुई घण्टा पैदलै हिंडेर ५ नम्बर प्रदेशको रोल्पाबाट कर्णाली प्रदेशको रुकुम पश्चिम मुसीकोट नगरपालिका १०, चुनस्थित महाकाली माविमा पढ्न आउँछन् । यसरी जिल्लामात्रै नभएर प्रदेशै छाडेर ९ र १० कक्षा पढ्न आउने यी दुईमात्र होइनन् । रोल्पाको परिवर्तन गाउँपालिका ४ का अधिकांश विद्यार्थी ९ र १० कक्षा पढ्न जिल्ला छाडेर चुन आउँछन् । आफ्नै गाउँनजिक पठनपाठनका लागि विद्यालय नहुँदाको दुस्ख विद्यार्थीहरूले पाइरहेका छन् । यो वर्ष मात्रै परिवर्तन गाउँपालिका ४ का विभिन्न ठाउँका ४० विद्यार्थी मालिका मावि चुनमा अध्ययन गरिरहेका छन् । कक्षा ९ र १० को पठनपाठनका लागि घरबाट विद्यालय पुग्न साढे २ घण्टा पैदल हिंड्नुपर्ने भएका कारण अधिकांश विद्यार्थी डेरा लिएर पढ्ने गरेका छन् । उनीहरू घरबाट विद्यालय पुग्न एउटा लेक उक्लेर आरोलो झर्नुपर्छ ।

गाउँमा स्कुल छैन, अलि टाढा जाँदा पनि पढाइ राम्रो छैन, त्यसैले हामी जिल्ला मात्रै नभई प्रदेश छाडेर यहाँ पढ्न आउँछौं,’सुरेशले भने, ‘बिहान घरबाट विद्यालय भेटाउन ढिला र बेलुका विद्यालयबाट घर भेटाउन अबेर हुने भएकाले विद्यालय नजिकै डेरा लिएर पढ्ने गरेका छौं ।’ गाउँघर नजिक विद्यालय नहुँदापढ्नका लागि टाढा भए पनि आउने गरेको उनको भनाइ छ । उनका अनुसार कति विद्यार्थी त ८ कक्षा पढ्न पनि चुन नै आउने गर्दछन् । तीन वर्षअघिसम्म कक्षा ८ सम्मका सबै विद्यार्थी आउथे हाल तातापानीमा ८ कक्षा सञ्चालन गरेपछि केही विद्यार्थीले मात्रै कक्षा ८ पढ्न जिल्ला र प्रदेश छाड्छन् । रोल्पाको परिवर्तन गाउँपालिका ४, जरेनी, तातापानी, सिजाखोला, खोलागाउँ, दवारे, हलहले, पात्लेढुंगा तथा पोखराडाँडालगायत गाउँका विद्यार्थी ८, ९ र १० कक्षा पढ्न चुन आउने गरेका छन् । ती गाउँका केही विद्यार्थी रुकुम पूर्वको भूमे गाउँपालिका ९ स्थित नेपाल राष्ट्रिय माविमा समेत पढ्न जाने गरेका छन् । मालिका मावि चुनमा २०६४ सालदेखि रोल्पाबाट विद्यार्थी आउन थालेको प्रधानाध्यापक खडकसिंह कठायतले बताए । मालिका माविले २०६४ सालमा कक्षा ९ को पठनपाठन सुरु गरेको थियो । ‘२०६४ अघि हाम्रो यो विद्यालयमा पनि कक्षा ८ सम्म मात्रै पठनपाठन हुन्थ्यो,प्रअ कठायतले भने, २०६४ सालमा ९ कक्षा सुरु गर्‍यौं, ९ कक्षा सुरु गरेकै वर्षदेखि रोल्पाका विद्यार्थी पठनपाठनका लागि यहाँ आउन थाले । मालिका माविमा हाल १० कक्षासम्म मात्रै पठनपाठन हुन्छ । उक्त विद्यालयबाट १० पास गर्नेहरूमध्ये कति विद्यार्थी प्राविधिक शिक्षा पढ्न बाहिर जान्छन् भने कति रुकुम पश्चिमकै सदरमुकाम खलंगामा प्ल टु पढ्न जान्छन् । त्यसमध्येका अधिकांश विद्यार्थी रोल्पाका पनि रुकुम पश्चिमकै सदरमुकाम आएर पढ्छन् । मालिका माविमा पनि अब प्राविधिक धारको पठनपाठन सुरु गर्ने गरी छलफल भइरहेको छ । प्राविधिक शिक्षाको पठनपाठन ९ कक्षादेखि सुरु गर्नेकी एसईईपछि गर्ने भन्ने छलफलकै क्रममा रहेको वडा शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार समितिका संयोजक धनबहादुर खड्काले बताए । वडा हुँदै नगरपालिकासम्म मालिका माविमा प्राविधिक पठनपाठन गर्ने भन्ने टुंगो लागिसकेको छ,शिक्षा संयोजक खड्काले भने, ९ कक्षाबाटै सुरु गर्ने कि एसईईपछि गर्ने भन्ने टुंगिएपछि मात्रै आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

२०७५ माघ ५ गते १०:४२ मा प्रकाशित