समाचारमा बालबालिका

अवैध धार्मिक संस्थाबाट बालबालिका उद्धार

कानूनी रुपमा दर्तासमेत नगरी पोखरा लेकसाइडको डिहिकोपाटनमा सञ्चालन गरिएको न्युभिजन बालगृहबाट कास्की जिल्ला प्रशासनले शनिबार नौ बालबालिका उद्धार गरेको छ । उक्ता संस्थाले बालबालिकालाई क्रिस्चियन धर्म पढाउने गरेको थियो । यसअघि पनि अवैध बालगृह चलाएकी ज्योति गुरुङले सञ्चालन गरेको उक्त संस्थाबाट ५ बालक र ४ बालिकालाई निकालेर जिल्ला बाल कल्याण समितिले अन्त व्यवस्थापन गरेको छ । बालकल्याण समिति, प्रहरी, प्रशासनका प्रतिनिधिहरु जाँदासमेत टसकोमस नभएकी ज्योतिको संस्थाबाट बालबालिका उद्धार गर्न ४ घन्टा लागेको थियो । प्रशासनका अधिकारीकै शब्दमा ज्योतिले सिकाएअनुसार बालबालिकाले आफूहरुलाई बेच्न लैजान लाने भन्दै बालगृहबाट निस्कन मानेका थिएनन् । बच्चाहरुलाई भित्रैपट्टिबाट चुकुल लगाएर बस्न लगाउँदै ज्योति पनि आफू व्यस्त भएको भनी निकैबेरसम्म आउन मानेकी थिइनन् । उक्त बालगृह २०५९ सालमा जिल्ला प्रशासन कास्कीमा दर्ता भए पनि २०७१ यता नवीकरण भएको छैन । २०७२ सालमा समेत उक्त बालगृहबाट १३ जना बालबालिकालाई जिल्ला बालकल्याण समितिले उद्धार गरेको थियो । अवैध ढंगले बालगृह चलाएको भेटिएकाले बालबालिका उद्धार गरी सुरक्षित अर्को संस्थामा लगेर राखेको कास्कीका सहायक सीडीओ राजेश पन्थीले बताए ।
केन्द्रीय बालकल्याण समिति स्रोत व्यक्ति बद्री वाग्लेले बालबालिकालाई कमाइ खाने भाँडो बनाएको भेटिएकाले उद्धार गर्नुपरेको सुनाए । समितिको ३ वर्षअघिको अनुगमन र अध्ययनपछिको रिपोर्टमा उक्त संस्था बन्द गर्न सुझाइएको थियो । सुझावअनुसार संस्था बन्द भएपछि अदालत गएकी सञ्चालकले पछि मुद्दा फिर्ता लिएकी थिइन् ।

२०७२ कात्तिकमा संस्था बन्द गराइएपछि उनले फेरि दर्ताबिनै बालबालिका ल्याएर राखेकी हुन् । ‘दर्ता नै नभएको संस्थामा बालबालिका राखिरहन दिनु उचित थिएन’, वाग्लेले भने, ‘जोखिम हुन्थ्यो ।’ उनकै भनाइमा यसअघि पनि बालगृह सञ्चालन गर्दा पूरा गर्नुपर्ने मापदण्ड ज्योतिको संस्थाले पूरा गरेको थिएन । ‘बालबालिकाको जन्मदर्ता, नामठेगाना लगायत विवरण समितिलाई उपलब्ध गराउन पनि अटेरी थियो’, उनले भने, ‘यसपालि त अरु मापदण्ड भन्दा पनि दर्तै नगरी चलाएको हुँदा जोखिम हुने देखेर बालबालिका उद्धार गरियो ।’ उनले क्रिस्चियनधर्मी दाताले समेत दान र सहयोग ज्योतिको संस्थाले दुरुपयोग गरेको उजुरी यसअघि गरेको जानकारी दिए । कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तारानाथ अधिकारी अध्यक्ष रहेको जिल्ला बालकल्याण समितिको टोलीले अध्ययन र अनुगमन गरिसकेपछिमात्रै बालबालिकाको उद्धार गरेको हो । सञ्चालक ज्योतिले शनिबार सरकारी अधिकारीहरु सामु आउँदो साउनमा संस्था दर्ताको तयारी गरिराखेको बताएकी थिइन् । बालगृहमा धार्मिक गतिविधि गर्न नहुने त्यससम्बन्धी मापदण्डमा छ । तर ज्योतिको संस्थामा भने क्रिस्चियन धर्म शिक्षाको लेखन ढोकामा टाँसिएको भेटिएको थियो । कास्कीमा अहिले ४१ बालगृह छन् । तिनमा १ हजार ३ सय ७७ बालबालिका आ िश्रत छन् । पछिल्लो २ वर्षमा २० भन्दा बढी अवैध बालगृह बन्द गराइएको वाग्ले जानकारी दिए ।

२०७५ जेठ ६ गते प्रकाशित