समाचारमा बालबालिका

फरार बलात्कारी पक्राउ

बालिकामाथि बलात्कार गरेको घटनामा सर्वोच्च अदालतले डेढ वर्षअघि दोषी ठहर गरे पनि फरार रहेका एक जनालाई प्रहरीले मोरङको कानेपोखरीबाट पक्राउ गरेको छ । कानेपोखरी गाउँपालिका ६ का २४ वर्षीय यामबहादुर सार्कीलाई इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको हो । बालिकामाथि बलात्कार गरेको घटनामा सर्वोच्चले २०७५ साल असार २६ गते सार्कीविरुद्ध दुई वर्ष छ महिना कैद फैसला सुनाएको थियो । पथरीका डीएसपी दिलिप गिरीले अदालतबाट बलात्कारी ठहर भएर कैद सजायको फैसला सुनाइए पनि खुल्लेआम हिँडडुल गरिरहेको पाइएपछि पक्राउ गरिएको जानकारी दिए । गिरीले ट्याक्टरलगायत ढुवानी साधनमा सार्कीले ढुंगा तथा बालुवा लोड(अनलोडको काम गर्ने गरेको बताए । ट्याक्टरमा गिट्टी र बालुवा लोड गर्दै गरेको अवस्थामा कानेपोखरीकै चिसाङ खोलामा उनलाई पक्राउ गर्न प्रहरी पुगेको थियो ।प्रहरीलाई देखेपछि भागेका सार्कीलाई लखेट्दै लगेर केही पर पुर्‍याएपछि पक्राउ गर्न सकिएको गिरीको भनाइ छ । बालिका बलात्कार प्रकरणमा जिल्ला र उच्च अदालतको आदेश चित्त नबुझेको भन्दै गिरी सर्वोच्चसम्म पुगेको प्रहरीले जनाएको छ । सर्वोच्चले पनि दोषी ठहर गरिदिएको हो । गिरीलाई पक्राउ गरेर बिहीबार जिल्ला अदालत मोरङमा पेश गरिएको र अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ।

२०७६ पुष २४ गते १०:५२ मा प्रकाशित