समाचारमा बालबालिका

छोरी जोगाउनै मुस्किल

रुपन्देहीको कञ्चन गाउँपालिकास्थित मामाघर आएकी ७ वर्षीया ४ दिनअघि बलात्कारमा परिन् । जबरजस्ती करणी आरोपमा उनका मामाका साथी विकल पुन पक्राउ परेका छन् । राति बालिका चिच्याएपछि परिवारले थाहा पाएका थिए । पक्राउ परेका पुनविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान चलिरहेको छ । बालिकाको उपचार भइरहेको छ । धादिङबाट मामाघर आएका बेला उनी करणीमा परेकी हुन् ।रुपन्देही, कपिवलस्तुलगायत पश्चिम तराईका जिल्लामा बालिकामाथि यस्ता अत्याचारको शृंखला थामिएको छैन । अविभावकलाई छोरी जोगाउन मुस्किल परिरहेको छ । पछिल्लो समय छिमेकी, नातागोता र परिवारकै सदस्यबाट बालिका सुरक्षित छैनन् । रुपन्देहीको सियारी गाउँपालिकाकी २ वर्षीया दुधेबालिका पनि बचिनन् । गत साउन १४ गते घरभित्रै ती अबोध बालिका बलात्कारको सिकार भइन् । चिच्याएपछि परिवारले थाहा पाए । जबर्जस्ती आरोपमा प्रहरीले २६ वर्षीय राजकुमार चौधरीलाई पक्राउ गरेको छ । चौधरीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए ।

कपिलवस्तुमा गत फागुन तेस्रो साता तीन दिन अन्तरमा २ बालिका बलात्कृत भए । कपिलवस्तु नगरपालिकाकी ५ वर्षीया विद्यालय गइरहेका बेला करणीमा परिन् तर उनले आफूमाथिको ज्यादती पत्तै पाइनन् । उनी विद्यालय पुगिन् । योनिबाट रगत बगेको देखेपछि घटना सार्वजनिक भयो । शिक्षिकाले प्रहरीलाई खबर गरुन्जेल संलग्न आरोपी फरार भइसकेका थिए । लगत्तै कपिलवस्तु नगरपालिकाकै ७ वर्षीयामाथि बलात्कार प्रयास भयो । उनलाई गाउँकै ७५ वर्षीयले त्यस्तो गरेको आरोप छ । वृद्धले चकलेट दिई प्रलोभनमा पारेर घर लगेका थिए । गोठमा पुर्‍याएर करणी गर्न लागेको देखेपछि होहल्ला भयो । त्यसपछि वृद्ध फरार भएका थिए । गाउँलेले नियन्त्रणमा लिएर अस्थायी प्रहरीचौकी जहदीमा बुझाए । अबोधमाथि करणी र यौन हिंसाका उजुरी बढिरहेका छन् । बालिका घरभित्रै असुरक्षित बनिरहेका छन् । प्रजनन अंग विकास नहुँदै यस्तो अपराधको सिकार भएका धेरै बालिका शारीरिक तथा मानसिक रूपमा विक्षिप्त छन् । यसले उनीहरूको वर्तमान मात्र होइन, भविष्य पनि संकटमा पार्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.श्रीधर आचार्य बताउँछन् । साउनयता जिल्ला प्रहरी रुपन्देहीमा ३ नाबालिका बलात्कारमा परेको उजुरी छ । गत वर्ष यस्ता उजुरी ६८ वटा दर्ता भएका थिए । त्यसमा २३ यौन हिंसाका थिए, १० नाबालिक ।कपिलवस्तुमा गत आवमा जबर्जस्ती करणी १७, करणी उद्योग २० र शरीर बन्धक एक गरी ३८ मुद्दा दर्ता भएको जिल्ला प्रहरीले जनाएको छ । यस्ता बालिका शारीरिक मात्र नभई मानसिक रूपमा पीडित भइरहेको अधिकारकर्मी मीना परियारले बताइन् । ‘उनीहरूलाई समाजमा पुनस्स्थापना र आफ्नो अध्ययनलाई निरन्तरता दिन समस्या भइरहेको छ,’ उनले भनिन्, ‘कतिपयको बिहेवारी हुँदैन ।’ मादक पदार्थ सेवन गर्ने र यौन असन्तुष्टि भएका व्यक्ति बढी संलग्न भइरहेको प्रहरी अनुसन्धानले देखाएको छ ।बालिकाले घटनाबारे सही सूचना दिन नसक्ने भएकाले सहजै उम्किन सक्ने सोचले घटना भइरहेका छन् । प्रहरी नायब उपरीक्षक कुमोद ढुंगाना बालिकालाई फकाउन, लोभ्याउन र धम्क्याउन सहज हुने र तिनले प्रतिकार गर्न नसक्ने भएकाले घटना बढेको बताउँछन् । बाहिरी वातावरणमा घुलमिल नभएका, मातृत्व नपाएका वा घरमा आमा नहुने र विद्यालय नजाने बालिका बढी निसानामा परेका छन् । सामाजिक संरचना र मानसिक प्रभावले बलात्कार घटना बढाएको विज्ञले बताए । पछिल्लो समय मान्छेमा मानसिक विकृति बढ्दै जाँदा घटना बढेको सामाजिक मनोविज्ञानका प्राध्यापक नारायणप्रसाद पन्थले बताए । उनका अनुसार आध्यात्मिक, नैतिक शिक्षा र सामाजिक काममा संलग्नतामा कमी आएकाले अहिले असन्तुष्टि बढेको हो । लागूपदार्थ तथा नशालु पदार्थ सेवनले मानसिक रूपमा पनि विकृत बनेको छ ।

दुव्र्यवहारको सिकार बालक पनि
बालिकासँगै बालकसमेत जबरजस्तीको सिकार हुन थालेका छन् । रुपन्देहीका ९ वर्षीय बालकलाई ललाइफकाइ अप्राकृतिक यौन दुव्यर्वहार गरेको आरोपमा प्रहरीले भारत स्थायी घर भई बुटवल ४ मा डेरा गरी बस्ने ७२ वर्षीय सुन्दर पुरीलाई पक्राउ गरेको छ। दिनभर जोगी बनेर भिक्षा माग्दै हिँड्ने पुरीले अभिभावकविहीन एक बाललाई पटकपटक यौन दुव्र्यवहार गरेको पाइएको छ । छिमेकीले प्रहरीलाई खबर गरेपछि गत साउन २६ मा पुरी पक्राउ परेका थिए ।

२०७५ भदौ ११ गते ७:४३ मा प्रकाशित