समाचारमा बालबालिका

कञ्चनपुरमै दुई बालिका बलात्कृत

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले शनिबार बेल्डाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । ‘परिवारले दुईवटै बालिका दुई साताअघि बलात्कृत भएको जानकारी दिए’ इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले भने, ‘परिवारले दिएको जानकारीका आधारमा शनिबार नै आरोपित व्यक्तिलाई पक्राउ गरिसकिएको छ ।’ विष्टलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । विष्टले भदौ १५ गते शुक्रबार दुवै बालिका स्कुलबाट घरतर्फ फर्कने क्रममा मिठाई दिने भन्दै फकाएर घरमा लगी बलात्कार गरेको परिवारले आरोप लगाएको छ । ‘१५ दिनअघि नै स्कुलबाट घर फर्किंदा छोरीहरूमाथि बलात्कारको घटना भएको रहेछ’, एक बालिकाकी आमाले भनिन् । ‘घरमा भन्यो भने मारिदिन्छु भन्दै डर देखाएको रहेछ’, दुवै बालिकाले डरका कारणले दुईसातासम्म घटना लुकाएर राखेकाले ढिलो घटना बाहिर आएको परिवारले जनाएको छ ।

अर्की बालिकाकी आमाले भनिन्, ‘उनीहरू डराएर बाहिर कहीं भन्न सकेनन् । मैले थाहा पाएपछि बल्ल प्रहरी कार्यालयसम्म पुगेकी हुँ ।’ विष्ट सधैं घरमा आइरहने र परिवारसँग समेत नजिकका मानिस भएको उनले बताइन् । ‘चिनेजानेकै मानिसबाट यस्तो अपराध भयो, उसलाई कडा कारबाही हुनुपर्छ’, बालिकाकी आमाले भनिन् । विष्ट गाँजा चरेसलगायत नशा सेवन गरिराख्ने व्यक्ति भएको स्थानीयले बताए । दुवै बालिका घरदेखि ३० मिनेटको दूरीमा रहेको स्थानीय स्कुलमा कक्षा २ मा पढ्छन् । पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णराज ओझाले बताए । ‘घटनाबारे बुझ्ने काम भइरहेको छ’, ओझाले भने । दुवै बालिकाको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणपछि बालिकालाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दुवै बालिका अलग–अलग परिवारका हुन् ।

२०७५ भदौ ३१ गते ५:४३ मा प्रकाशित