समाचारमा बालबालिका

बलात्कृत बालिकाले पढाइ छाडिन्

शिक्षकबाट बलात्कृत चापाकोट नगरपालिकाकी १३ वर्षीया बालिकाले पढाइ छाडेकी छन् । गंगालाल माध्यमिक विद्यालयमा शिक्षक रामभक्त आचार्य विद्यार्थी बलात्कारपछि अझै फरार छन् । बलात्कृतको घटनापछि आफ्नै साथीले गरेको हेला र दुव्र्यवहारका कारण विद्यालय जान मन नलागेको ती बालिकाले बताइन् । ‘सँगै बस्ने, खाने, खेल्ने, पढ्ने साथीहरू त्यसपछि मबाट टाढिन थाले’, उनले भनिन् । जन्म दिनको दिन एक जना साथीले सबैलाई मिठाइ बाँडे पनि आफूलाई नदिएपछि मनमा चोट लागेको बलात्कार पीडित बालिकाले सुनाइन् । ‘साथीहरूले खुसियाली मनाए, मलाई कसैले पनि वास्ता गरेनन्, कोही पनि बोलेनन्’, उनले भनिन् । पढेर सैनिक सेवामा लाग्ने उनको इच्छा पूरा नहुने भनेर आफैंप्रति खिन्न छिन् उनी । उनी स्कुल जान छाडेको तीन महिना बितिसकेको छ । वैशाखदेखि सुरु नयाँ शैक्षिकसत्रको केही दिन मात्र छोरी विद्यालय गएको उनकी आमाले सुनाइन् । ‘आजकल दिनभर छोरी टोलाएरै घरमा बस्छे । धेरै रिसाउने र झन्कने स्वभाव बढेको छ । शारीरिक एवं मानसिक चोट पुगेको छ छोरीलाई, तर उपचार गर्न सकेका छैनौं’, उनले भनिन् । छोरीको स्कुल ड्रेस, किताब देख्दा आफ्नो पनि भक्कानो छुट्ने उनले सुनाइन् । ‘यो ठाँउमा नबसौं, अन्यत्र बसाइँ जाऔं भन्छे छोरी, तर जाने ठाउँ कहीँ छैन’, उनले भनिन्, ‘कतैबाट सान्त्वना र सहयोग पाउन सकेनौं हामी गरिबलाई न्याय मिलेन । सुन्तलीटार घर रहेका शिक्षक आचार्यले ललाइफकाइ आफूलाई बलात्कार गरेको बालिकाले बताइन् । बालिका र आमा न्याय खोज्दै सदरमुकाममा आइपुगेका छन् । आमाछोरीले प्रहरी कार्यालयमा पुगेर पीडक आचार्यको तत्काल खोजी गरी कारबाही गर्न आग्रह गरे । प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको र दोषीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जयराज सापकोटाले जानकारी दिए । ‘सरले भनेको माने जापान लगिदिन्छु भन्नुहुन्थ्यो’, ती बालिकाले भनिन्, ‘नमाने भविष्य बिगारिदिन्छु भनेर धम्क्याउनुहुन्थ्यो ।’ बाख्रा चराउन गएका बेला साँझपख स्कुटरमा राखेर जंगलमा लगेर जबरजस्ती गरी जंगलमै छाडेर आचार्य भागेको र छोरी रुँदै घरमा आएको आमाले बताइन् । छिमेकीसमेत रहेका आचार्य कहिलेकाहीँ उनीहरूको घरमा आउजाउ गरिरहन्थे ।

२०७५ असार २० गते ८:५६ मा प्रकाशित