समाचारमा बालबालिका

बिहेको प्रलोभन देखाएर बलात्कार गर्ने पक्राउ

विवाह गर्ने झुठो आश्वासन दिएर १७ वर्षीया किशोरीमाथि बलात्कार गर्ने एक युवकलाई सप्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । किशोरीमाथि बलात्कार गरेको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रेमको नाटक गर्दै घरमा कोही नभएका बेला खत्वेले किशोरीलाई बलात्कार गर्ने गरेको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले बताए । ‘प्रेमको प्रपञ्च रच्दै आमाबुवा नभएका बेला बालिकालाई बिहे गर्छु भन्दै बलात्कार गरेको पाइयो,’ केशरीले भने, ‘प्रारम्भिक अनुसन्धानबाट बालिका पीडित देखिएकोले उजुरी लगत्तै स्वास्थ्य परीक्षण गरी आरोपितलाई पक्राउ गरियो ।’पीडितकी आमाका अनुसार अन्तिम पटक खत्वेले मङ्सिर १५ गते किशोरीलाई बलात्कार गरेको खुलेको छ । आमासँगै प्रहरी कार्यालय पुगेकी किशोरीले बिहेको झुटो आश्वासन दिइ बलात्कार गर्ने गरेको बताइन् ।

२०७६ पुष २ गते १०:३१ मा प्रकाशित