समाचारमा बालबालिका

पक्राउ पर्दै छुट्दै गरेका बलात्कारका अभियुक्त आठ वर्षका लागि जेल गए

पक्राउ पर्दै छुट्दै गरेका बलात्कारका एक अभियुक्त अन्ततः आठ वर्षका लागि जेल पुगेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका सप्तरीको बोदे बर्साइन ६ काचनका २५ वर्षीय धर्मेन्द्रकुमार दास बिहीबारदेखि आठ वर्षका लागि राजविराज कारागारमा थुनामा परेका हुन् । उनलाई प्रहरी चौकी काचनले बिहीबार नै पक्राउ गरी जिल्ला अदालत बुझाएकोमा अदालतले कैद असुल गर्न कारागार पठाएको तहसिलदार किरणकुमार सिंहले बताए । पीडितको घरको ढोका तोड्दै बालिकाको मुखमा रुमाल कोचेर दासले २०७२ भदौ १ गते राति बलात्कार गरे । घरमा अरु कोही नभएको बेला पीडितको घरको ढोका तोड्दै बलात्कार गरेका अभियुक्तले प्रतिकारमा उत्रेकी बालिकालाई कुटपिट गर्दा पीडितको कानलगायतका ठाउँमा चोट लाग्यो । दासलाई स्थानीयवासीले घटनास्थलबाट नियन्त्रणमा लिई ०७२ भदौ २ गते बिहान इलाका प्रहरी कार्यालय बोदे बर्साइनमा बुझाएका पनि थिए । तर सहमतिमा घटना मिलाउने प्रयत्नमा रहेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनले उसै दिन साँझ नपर्दै दासलाई उनको बुवा साधुशरण दासको जमानतमा छाड्यो । आरोपितविरुद्ध पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएर एक साता धाएपछि मात्र भदौ ९ गते पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भयो । अधिकारकर्मीहरुले आवश्यक अनुसन्धान गर्न दवाव दिएपछि आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयले ०७२ भदौ १० गते उजुरी दर्ता ग¥यो । प्रहरीले भगाइसकेकाले जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले फरार दासका नाममा २०७२ असोज १ गते वारेण्टसहितको म्यादी पूर्जी जारी गर्‍यो । एक वर्षपछि अदालतमा हाजिर भएका दासलाई जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले २०७३ असोज १२ गते २० हजार धरौटी राख्न लगाएर रिहा ग¥यो । जनकपुर उच्च अदालत राजविराज इजलाशले २०७३ चैत १७ गते थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि दास तारेख छाडेर फरार भए । फरार रहेका दासलाई प्रहरीले पक्राउ गर्नु भन्दा एक महिना अघि मात्र कैदसजायको फैसला गरिसकेको थियो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको गत असार १७ गतेको फैसलाबमोजिम दास आठ वर्षका लागि कारागार गएका हुन् । फैसलाबमोजिम दासले पीडितलाई क्षतिपूर्ति समेत दिनु पर्नेछ ।

 २०७५ साउन १७ गते ७:४८ मा प्रकाशित