समाचारमा बालबालिका

सप्तरीमा ५ वर्षीया बालिका बलात्कृत, किशोर पक्राउ

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले सप्तरीबाट एक १३ वर्षीय बालकलाई पक्राउ गरेको छ । मामाघरमा बस्दै आएका बालकले ललाइफकाइ बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको उजुरीका आधारमा किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया लगेकी थिइन । चिकित्सकले बालिकाको स्वास्थ्य परीक्षण गरेपछि बालिका बलात्कृत भएको तथ्य खुलेको हो । चिकित्सकले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा गराएको बताए । बलात्कृत बालिकाको परिवारले किशोरविरुद्ध उजुरी गरेका छन् । उजुरीपछि किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २१९ को उपदफा २ को (ग) अनुसार अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने भएकाले जबर्जस्ती करणीको उजुरी दर्ता गरी कारवाही थालिएको प्रहरीले जनाएको छ।

२०७६ जेठ ३१ गते १२:०४ मा प्रकाशित