समाचारमा बालबालिका

बलात्कृत किशोरी विक्षिप्त

सिरहाको धनगढीमाई नगरपालिकाको ग्रामीण क्षेत्रमा मंगलबार साँझ १७ वर्षीया दलित किशोरी बलात्कृत भएकी छिन् । बलात्कारमा संलग्न धनगढीमाई–१३ खजनपुरका २५ वर्षीय श्रीराम यादवलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारपछि रक्तस्राव नरोकिएपछि किशोरीलाई थप उपचारका लागि धरान रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । लहानमा सामान्य उपचारपछि उनलाई धरान लगिएको हो । बलात्कार भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय लहान र धनगढीबाट गएको प्रहरी टोलीले आरोपी यादवलाई घरैबाट पक्राउ गरेको छ । 

 यसरी भयो घटना 
धनगढीमाई नगरपालिका–१३ भोर्लेनीका सुकमान तामाङको परवल छोप्नका लागि स्थानीय चमेरा जंगलमा पतकर बटुल्न गएका वेला किशोरी बलात्कृत भएकी हुन् । ‘साँझ परिसकेकाले घर जाने तयारी गर्दै थियौँ’ किशोरीसँगै सोत्तर टिप्न गएकी स्थानीय दुई महिलाले भने, ‘हामी दुईवटीलाई नै छुरा देखाउँदै उसले लखेट्यो । अनि किशोरीमाथि जाइलाग्यो । छुरा देखाएपछि आफूहरू ज्यान जोगाउन भागेको उनीहरूको भनाइ छ । प्रत्यक्षदर्शी महिलाले गाउँमा आएर हल्लाखल्ला गरेपछि गाउँले घटनास्थलमा पुगेका थिए । ‘गाउँले घटनास्थलमा पुग्दा बलात्कारी हिँडिसकेको रहेछ, किशोरी भने रक्ताम्य अवस्थामा रुँदै घरतिर फर्किरहेकी थिइन्,’ प्रत्यक्षदर्शी महिलाको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले भने । विक्षिप्त अवस्थामा रहेकी पीडित किशोरीले बलात्कारी यकिन गर्न नसकेपछि प्रहरीले दुई महिलाको सहयोगमा यादवलाई पक्राउ गरेको हो ।

 गोलबजारबाट अर्का बलात्कारी पक्राउ

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपक राईलाई पक्राउ गरेको छ । पक्राउ गरिएका राईलाई जबर्जस्तीकरणी मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

२०७५ फागुन ९ गते ६:२२ मा प्रकाशित