समाचारमा बालबालिका

नाच हेर्न गएका दुई बालिका बलात्कृत

छिमेकीको घरमा नाच हेर्न गएका पूर्वी सुर्खेतका दुई बालिका बलात्कृत भएका छन्। भदौ २ गते राति नाच हेर्न गएका १५ र १७ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालयमा पीडित बालिकाका आफन्तले बुधबार जाहेरी दिएपछि घटना बाहिर आएको हो। प्रहरीले बलात्कारमा संलग्न २१ वर्षीय आशिष विकलाई पक्राउ गरेको छ।अर्का एक जना भने फरार रहेका छन्। इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक मधुशुदन न्यौपानेका अनुसार छिमेकमा रातिको समयमा नाच हेर्न गएकी दुई बालिकालाई दुई युवकले एकान्तमा लगेर बलात्कार गरेका हुन्। प्रहरीले बिहीबार दुबै बालिकाको स्वास्थ्य परीक्षण गरेको छ। पक्राउ परेका विकलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघाडी बढाइएको र फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ।

२०७५ भदौ ७ गते ९:२१ मा प्रकाशित