समाचारमा बालबालिका

बालिका बलात्कार प्रकरणः ‘बलात्कारी’ लाई जोगाउन धार्मिक अस्त्र प्रयोग पीडितका बाबु भन्छन-प्रभुले क्षमादान गर्नु भन्नु हुन्छ

प्रहरी अधिकारीहरुकै मिलेमतोमा लुइएको बालिका बलात्कारको घटनामा आरोपीहरुविरुद्ध मुद्दा रोक्न धार्मिक अस्त्र प्रयोग भएको पाइएको छ । अंग्रेजी नयाँ बर्ष मनाउन इटहरीको रोयल रिसोर्ट पुगेकी एक बालिका बलात्कृत भएकी थिइन् । तर, प्रहरीको समेत मिलमतोमा घटना लामो समय लुकाइयो । त्यसक्रममा बलात्कारीको अभियोग लागेका युवाहरुविरुद्ध पीडित परिवारले मुद्दा दर्ता नगराउन् भनेर धार्मिक अस्त्र प्रयोग भएको पाइएको छ । इटहरी तरहारका पीडित परिवारले इसाई धर्म मान्छन् । उनीहरुको घर छेउमै चर्च छ । त्यसैले पीडक पक्षका विचौलियाले ‘क्षमादान गर्न लगाएको खुलुको छ । ‘प्रभुले मुद्दा मामिला गर्न हैन, क्षमादान गर्नु भनेको’ भनेको पीडित परिवारलाई भनिएको छ । ‘मुद्धामामिला र मनमुटाब हाम्रो धर्मले दिदैन’, बाबुले आफुलाइ सल्लाहरु दिनेहरुको तर्क उद्धृत गर्दै भने, ‘प्रभूले क्षमादान गर्नु भन्नु हुन्छ ।

धार्मिक कट्टरताले मुद्दा दर्ता भएन
नयाँ वर्ष मनाउन इटहरीको रोयल रिसोर्ट पुगेकी बालिका धरानका जुकल लिम्बु र विराटनगरका मनिष श्रेष्ठबाट बलात्कृत भएकी थिइन् । घटनापछि बालिका दुई दिन घर बाहिर रहिन्, सोधिखोजी गर्दा उनी बलात्कृत भएको परिवारले थाहा पायो । आफन्तहरुले प्रहरीमा उजुरी गर्न आग्रह गरे । तर, धार्मिक आस्था र मुद्धा मामिलामा जाँदा खर्च हुने भन्दै लेनदेनमा मुद्दा दर्ता नगराइएको पीडितका एक छिमेकीले बताए । इटहरीका इन्स्पेक्टर चिरन्जीवी दाहाल र सुनसरीका एसपी विद्यानन्द माझीलाई पनि घटना थाहा हुँदा हुँदै मिलापत्र गरिएको थियो । तर, आफन्तले प्रहरीको उच्चतहमा मौखिक उजुरी दिएपछि प्रदेश एकका एआईजी पशुपति उपाध्याय र संघीय इकाई प्रहरी कार्यालय धरानका एसएसपी हरिबहादुर पालसम्म कुरा पुग्यो र प्रहरीकै तर्फबाट मुद्धा दर्ता भएको थियो । पुष १६ गतेको घटनाको माघ १२ मा मात्रै जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो ।

समातिए एक आरोपित, प्रहरी पनि छानबिनमा
अदातलमा मुद्दा दर्ता भएको ८ दिनपछि शनिबार बिहान एक आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुकल लिम्बु रहेको इटहरीका डिएसपी संजल राउतले बताए । १४ बर्षीय बालिकाको बयान अनुसार इटहरीको रोयल रिसोर्टको २१२ नम्बरको कोठामा यो घटना भएको थियो । मनिष श्रेष्ठ र जुकल लिम्बुले बलात्कार गरेको किटानी जाहेरी छ तर, श्रेष्ठ भने अझै पक्राउ परेका छैनन् । मुद्धा दर्तासँगै एसएसपी हरिबहादुर पालको नेतृत्वमा ५ सदस्य छानबिन समिति बनेको छ । समितिलाई सात दिनको समय दिइएको प्रदेश एकका एआईजी उपाध्यायले बताए । मुद्धा दर्ता नगरी मेलमिलाप गरेको पाइएकोले प्रहरी अधिकारीहरुको पनि संलग्नता भए नभएको बारेमा अनुसन्धान हुने एआईजी उपाध्यायले बताए ।

२०७४ माघ २० गते ७:५२ मा प्रकाशित