समाचारमा बालबालिका

बलात्कृतमा अधिकांश बालिका

जिल्लामा साउनयता जबरजस्ती करणीका ५ मुद्दा दर्ता भए । जिल्ला प्रहरीमा दुई र इलाका प्रहरी कोहलपुरमा तीन मुद्दा दर्ता भएका हुन् । तीनमा अधिकांश कलिला बालिका छन् । प्रहरीका अनुसार उक्त अवधिमा ७, ८ र १३ वर्षका ४ जना बालिका र एक जना २१ वर्षकी महिला बलात्कारको सिकार भए । जिल्लामा बलात्कारका घटना बढिरहेको प्रहरी निरीक्षक रणबहादुर विष्टले बताए । यस्तो अपराध बढ्नुमा एउटै कारण छैन । सामाजिक परिवेश, अशिक्षा र इन्टरनेटको प्रयोग रहेको प्रहरीको भनाइ छ । अधिकांश घटनामा नजिकका आफन्त संलग्न पाइएको छ । ‘पाँचमध्ये एक आफन्तबाटै र अरू चिनेजानेकै व्यक्तिबाट बलात्कृत भएका हुन्,’ विष्टले भने, ‘अलि अलि चिनेजानेका व्यक्तिलाई विश्वास गर्दा समस्या हुन्छ ।’ चिनजानको छ भन्दैमा घरमा लगेर छोराछोरीलाई चिनाउँदा र जिम्मेवारी दिँदा यस्तो घटना भइरहेको उनले बताए ।घरपरिवार, समाज, पारिवारिक अवस्था, मानिसमा नैतिकता हराउँदै जानु, प्रविधिको गलत प्रयोग, व्यस्त जीवनशैली, अपरिचित व्यक्तिलाई विश्वास गर्नु, गलत संगत, प्रलोभनमा पर्नुजस्ता कारण छन् । यस्ता अपराध कम गराउन जिल्ला प्रहरीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको विष्टले जनाए । तर, यसको उपलब्धि देखिएको छैन । कार्यालयले महिला तथा बालबालिका सेवा केन्द्र, सामुदायिक सेवा केन्द्र अनि विभिन्न सरोकारवालाहरूसँगको सहकार्यमा यससम्बन्धी जनचेतना दिइरहेको जनाएको छ । जनचेतनाकै लागि विभिन्न पर्चा–पम्पलेट वितरणको काम पनि भएको जनायो । तर पनि बलात्कारका घटना कम हुनुको साटो बढिरहेको छ । विद्यालय तहबाटै बलात्कारबाट कसरी जोगिने भन्नेबारे शिक्षा दिनुपर्ने प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले बताए । 

२०७५ भदौ २२ गते १०:१४ मा प्रकाशित