समाचारमा बालबालिका

हप्तैपिच्छे बलात्कार

साउन ११ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटियो । अघिल्लो दिन साथी रोशनी बमको घरमा गृहकार्य गरेर फर्किएकी उनको बलात्कारपछि हत्या कसले ग¥यो भन्ने अझै खुलेको छैन । साथीको घरबाट दिउँसै फर्किएकी उनको एकाएक अर्को बिहान हत्या गरिएको अवस्थामा शव भेटियो । हत्या गरिएको ६ दिन बितिसकेको छ तर अहिलेसम्म हत्याराको पहिचान हुन सकेको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय हत्याको अनुसन्धानमा लागिरहेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको अघिल्लो दिन कञ्चनपुरमै अर्की एक २० वर्षीया महिला बलात्कारको सिकार भइन् । शुक्लाफाँटा नगरपालिका–८ स्थित नौखुरी शिविरमा बस्दै आएकी २० वर्षीया महिला राति घरमा सुतिरहेको अवस्थामा ढोका फोडेर भित्र पसेका एक युवकबाट बलात्कृत भएकी हुन् । स्थानीय र प्रहरीले खोजी गरेपछि अर्को दिनै बलात्कारी पक्राउ परे । स्थानीय ३२ वर्षीय बिन्तीराम चौधरीलाई प्रहरीले पक्राउ गरी अदालतबाट १० दिन म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइसकेको छ । साउन ४ गते पुनर्वास नगरपालिका–६ नमुना सामुदायिक वनमा ९ वर्षीया बालिका बलात्कृत भइन् । बालिकामाथि बलात्कार गर्ने पुनर्वास–३ आईबीआरडीका सलिम अन्सारीलाई प्रहरीले पक्राउ गरी जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाएर कारबाही थालेको छ ।

त्यसको तीन दिनअघि मात्रै साउन १ गते पुनर्वासमै एक महिलामाथि बलात्कारको प्रयास भयो । गाईबाख्रा चराउन गएकी ३९ वर्षीया महिलामाथि पुनर्वास ६ परासनका ३० वर्षीया नरेश रानाले बलात्कार प्रयास गरे । उनलाई पनि पक्राउ गरेर प्रहरीले अहिले जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा चलाएर कारबाही अघि बढाएको छ । असार मसान्तकै दिन कृष्णपुर नगरपालिका ८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको सामूहिक हत्यापछि शव गाढिएको अवस्थामा फेला प¥यो । लालझाडी संरक्षित वनभित्रको अमखैया खोलामा उनको शव उत्खनन गरी निकालियो । त्यस घटनाका सम्बन्धमा समेत स्थानीय दुई युवकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रत्येक महिनामा घटेका अपराधको तथ्यांक हेर्ने हो भने हप्तैपिच्छे बलात्कार भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांक हेर्ने हो भने वैशाख पहिलो साता कृष्णपुर नगरपालिकाकै एक पुरुषले १४ वर्षीया आफ्नै छोरीको बलात्कार गरे । बलात्कृत बालिका आफैं प्रहरी कार्यालय पुगेर जाहेरी दिएपछि उक्त कुरा सार्वजनिक भयो । चैत अन्तिम साता भीमदत्त नगरपालिका–१० जिमुवामा एक युवकले दुई बालिकालाई पैसा दिएर नजिकैको जंगलमा लगेर बलात्कार गरे । १०/११ वर्षे ती बालिकालाई छिमेककै युवकले घरनजिकै बलात्कार गरेका थिए । यी जिल्ला प्रहरी कार्यालयसम्म पुगेका घटना हुन् । कतिपय घटना प्रहरीसम्म नपुग्ने गरेको समेत अवस्था छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेटी पनि जिल्लामा बलात्कारका घटना बढ्दै गएको बताउँछन् । ‘अहिले हप्तैपिच्छे बलात्कारका घटना बाहिर आइरहेका छन्’, उनले भने, ‘यसले समेत समाजमा अपराध बढ्दै गएको देखाउँछ ।’ उनका अनुसार कतिपय बलात्कारका घटना प्रहरी कार्यालयसम्म नपुगेर बीचमै मिलापत्र हुने गरेका छन् । प्रहरीका अनुसार कतिपय सहमतिमा शारीरिक सम्बन्ध कायम हुने र पछि कुरा नमिल्दा बलात्कारमा परिणत हुने घटनासमेत बढ्दो अवस्थामा रहेका छन् । बढ्दो सामाजिक विकृति, इन्टरनेट र दुव्र्यसनीका कारण अहिले बलात्कारका घटना बढेको ठम्याइ प्रहरीको छ । नाबालिकादेखि किशोरीसम्म बढी बलात्कारको सिकार भएका छन् भने कतिपय वृद्धा अवस्थाका महिलासमेत बलात्कारको सिकार हुन पुगेका छन् । घरपरिवार र आफन्तबाटै कतिपय बलात्कारको सिकार हुनुपरेको छ । सुदूरपश्चिम विश्वविद्यालयका समाजशास्त्र विषयका सहायक प्राध्यापक हरिप्रसाद बडु पीडकको मनोविज्ञान उच्च हुँदै जानु नै बलात्कारका शृंखला बढ्नु कारण रहेको बताउँछन् । ‘बलात्कारमा संलग्न अपराधीले पहिला त कारबाही नै भोग्नुपरेन, पक्राउ परे पनि सामान्य रूपमा छुट्न थाले, यसले उनीहरूको मनोबल बढेको मान्न सकिन्छ’, सहायक प्राध्यापक बडुले भने । उनले समाजले महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आइनसकेकाले समेत त्यस्तो भइरहेको बताए । ‘समाजमा बढ्दै गएको विकृति र विसंगतिले समेत बलात्कारका घटना बढेको देखिन्छ’, मानवअधिकारकर्मी कोमल निरञ्जन भाटले भने । अभिभावकले पनि आफ्ना छोराछोरीको ध्यान राख्नुपर्ने अवस्था आएको उनले बताए । राज्यका निकायले समेत सामाजिक चेतना फैलाउनेदेखि महिला तथा बालबालिकाको सुरक्षामा संवेदनशील हुनुपर्ने उनी बताउँछन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा जबर्जस्ती करणीका १७ र जबर्जस्ती करणी उद्योगका १५ घटना बाहिर आए ।

 २०७५ साउन १७ गते ९:४५ मा प्रकाशित