छोरी बलात्कारको आरोपमा युवक पक्राउ
कानेपोखरी गाउँपालिकामा छोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । १४ बर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका – ५ का ३९ बर्षका युवक पक्राउ परेका हुन् । श्रीमती माइत गएको अवस्थामा बुबाले गत कात्तिक ७ गते जबरजस्ती करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए । उनका अनुसार किशोरीका हजुरआमाले किटानी जाहेरी दिएपछि कात्तिक २० गते प्रहरीले युवकलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्यादसमेत लिएको छ । किशोरीले उक्त घटना हजुरआमालाई सुनाएकी थिइन् । त्यही आधारमा हजुरआमाले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
२०७५ कार्तिक २६ गते १:३८ मा प्रकाशित