बलात्कारका धेरै घटना चिनेजानेकैबाट
फागुन ७ गते सिरहाको गोलबजार नगरपालिका–१० घुर्मीघाटकी १२ वर्षीया एक बालिका गाउँकै २१ वर्षीय दीपक राईबाट बलात्कृत भइन्। गाउँलेले राईलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाए। प्रहरीले जबर्जस्तीकरणी मुद्दामा अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ। गाउँलेका अनुसार दीपकले त्यसैको अघिल्लो दिन पनि ती बालिकालाई बलात्कार गरेका थिए तर घटनालाई थामथुम पारियो। त्यस्तो घटना नदोहोर्याउने सर्तमा मिलापत्र गरिएको भोलिपल्टै उनले सोही प्रकृतिको घटना दोहोर्याए। पानी लिन गएका बेला राईद्वारा घुर्मी जंगलमा आफूमाथि जबर्जस्ती गरिएको बालिकाको भनाइ छ। चिच्याउँदै घर फर्केकी पीडित बालिकाबाट घटनाबारे जानकारी पाएपछि छरछिमेकले राईको खोजी गरे। सोही दिन रातको समयमा कपडा र पैसा लिन घर आएका उनलाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने बालिकालाई मेडिकल जाँचपछि फर्काइएको छ। गाउँकै एक ज्येष्ठ नागरिकले घटनाबारे बताउँदै भने, ‘यस्ता घटना गाउँसमाजमै मिलाउनु हुँदो रहेनछ, बदमासहरूको मनोबल बढ्ने रहेछ।फागुन ७ मै सिरहाकै धनगढीमाई नगरपालिका–१३ भोरलेनीकी १४ वर्षीया बालिका दाउरा खोजन जंगल गएका बेला बलात्कृत भइन्। पीडित बालिकाको उपचार भइरहेको अस्पतालमै पुगेर प्रहरीले अनुसन्धान सुरु गर्यो। बालिकाले दिएको बयानका आधारमा प्रहरीले सोही ठाउँका आरोपित २४ वर्षीय श्रीराम यादवलाई पक्राउ गरी जबर्जस्तीकरणी मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। यी दुई घटना भएको पाँच दिनअघि फागुन १ गते धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरकी ११ वर्षीया रेश्मा भनिने दुतिया रसाइलीको बलात्कारपछि जलाएर हत्या गरिएको थियो। छिमेकीको घरमा आयोजित विवाहमा रमाइलो गरिरहेकी रेश्मालाई २२ वर्षीया निरन भनिने निरज जर्घा मगरले खानेकुराको प्रलोभनमा पारेर एकान्तमा लगी बलात्कार गरी जलाएर हत्या गरेको जनाइएको छ। बटेश्वर गाउँपालिका–४ स्थित मामाघरमा बस्ने आरोपित निरजलाई प्रहरीले पक्राउ गरि जबर्जस्ती करणी र कर्जव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
सिरहामा चालू आर्थिक वर्षको साउनयता मात्र २९ वटा बलात्कारका घटना भए। घटनाका ३९ पीडकमध्ये ३० पक्राउ परे, बाँकी फरार छन्। गत आर्थिक वर्ष २०७४/७५ मा सिरहा प्रहरीमा २९ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए। तथ्यांकले विगतको तुलनामा यस वर्ष बलात्कार घटना ह्वात्तै बढेको देखाउँछ। प्रदेश २ का आठ जिल्लामा साउनदेखि पुससम्म मात्र बलात्कारका एक सय ३६ वटा घटना दर्ता भए। घटनाका एक सय ९३ पीडकमध्ये एक सय ६ पक्राउ परे, बाँकी फरार छन्। गत आर्थिक वर्षमा २०७४/७५ मा प्रदेश २ का आठ जिल्लामा एक सय ७० वटा बलात्कारका मुद्दा दर्ता भएका थिए। तथ्यांकअनुसार विगतको तुलनामा यस वर्ष बलात्कार घटना ह्वात्तै बढेको देखिन्छ। गत वर्ष दुई सय २६ पीडकमध्ये एक सय ५५ पक्राउ परे, बाँकी फरार छन्।प्रहरीमा दर्ता भएको मुद्दामा १६ वर्षमुनिका ९१०–१६ वर्ष० सबैभन्दा बढी ६१ जना बालिका बलात्कृत भएका छन् । बलात्कृत हुनेमा १० वर्षमुनिका १५ बालिका छन् । १६ वर्षभन्दा माथिका ६० जना बलात्कृत भएको प्रदेश प्रहरी कार्यालयको अभिलेख छ । एक सय ३६ बलात्कारका घटनामा चिनेजानेकै पीडकको संख्या एक सय ६३ रहेको तथ्यांक छ। बलात्कारका यी घटनामध्ये घरभित्र ९४ र घरबाहिर ४२ भएको तथ्यांक छ। बलात्कारका अधिकांश घटना बेइज्जत हुने डरले सार्वजनिक नै हुँदैन। भएकालाई पनि परिवार र गाउँका पञ्चभलाद्मीले मिलापत्रका नाउँमा प्रहरीसम्म पुग्न दिँदैनन्। केही प्रहरीमा पुगेर उजुरी दिन्छन्। उजुरी दिएका अभियुक्त पनि थोरै मात्र पक्राउ पर्छन्। पक्रिएका पनि प्रमाण नपुगेको भन्दै चाँडै छाडिन्छन्। पीडितलाई न्यायको सट्टा आहत बनाउने यस्तै सामाजिक र कानुनी रबैयाले समाजमा दिनहुँ बलात्कारका घटना बढिरहेका छन्। सिरहाका एसपी जीवन श्रेष्ठका अनुसार बलात्कारका घटनाको जानकारी तत्काल नआउँदा अभियुक्त पक्राउ गर्न सकस हुन्छ। समयमै जानकारी आएजति घटनाका अभियुक्त पक्राउ परेका छन्। ‘कतिपय घटनामा प्रहरीसम्म जानकारी आइपुग्दा अभियुतm भागिसकेका हुन्छन्,’ उनले भने। गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, महिलाप्रतिको हेपाहा प्रवृत्ति, लागूऔषध दुव्र्यसन, पीडितलाई आर्थिक प्रलभोन, डर, धम्की र खुला सीमाले यस्ता जघन्य प्रकृतिका घटना बढिरहेको सुरक्षा अधिकारीहरू बताउँछन्। अधिवतmा ओमकुमारी साहका अनुसार युवा पुस्तामा बढ्दो मदिरा सेवन तथा अश्लील फिल्मलगायत सामग्री हेर्ने लत पनि बलात्कारका घटना बढ्नुको एउटा कारण हो। बलात्कार घटनाका अधिकांश पीडित बालिका भएको पाइन्छ। यसमा अभिभावकहरूको सचेत निगरानी आवश्यक देखिन्छ। बलात्कारजस्तो जघन्य अपराधका मुद्दामा न्यायपीडितलाई सहज अनुभूति हुनेगरी न्यायिक प्रक्रिया परिमार्जन हुनुपर्छ। दोषी उम्काउन राजनीतिक र अन्य चलखेल निरुत्साहित गरिनुपर्ने साहको भनाइ छ। बलात्कारका घटनामा पीडितले न्यायमा पहुँच बढाउन सक्नुपर्छ। ‘बलात्कार मुद्दामा न्यायसम्पादन प्रक्रियामा अझ बढी गम्भीरता अपनाउनुपर्छ, जसले दोषीलाई उम्कने छिद्रसमेत नहोस्,’ उनी भन्छिन्, ‘दोषी उम्कने छिद्र बन्द भए बलात्कारका घटना ह्वातै घटेर आउँछ।’ प्रहरीमा पुग्दा महिला प्रहरी अधिकारीबाट बयान नलिइनु, भाषा नबुझ्नुजस्ता समस्याले पीडितहरू झन्झटको अनुभूति गर्न थाल्छन्। अर्का अधिवक्ता सुनिलकुमार साहका अनुसार प्रहरी अधिकारीहरू दबाब र प्रभावमा नपरी पीडितमैत्री हुनपर्ने बताउँछन्। बलात्कार घटनामा साक्षीको सुरक्षाका लागि सुरक्षा र संरक्षण ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ। बलात्कार घटना पीडितलाई मनोसामाजिक विमर्श र सुरक्षित अनुभूति गराउन स्थानीय प्रशासनको भूमिकालाई समेत प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको उनले बताए। जबर्जस्तीकरणी मुद्दामा निरन्तर सुनुवाइको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी विपक्षीबाट कानुनी व्यवस्थाबाहेक पेसी झार्नेमा कडाइ गरिनुपर्ने उनको भनाइ छ।
२०७५ फागुन १७ गते ८:४४ मा प्रकाशित