बालिकामाथि यौन शोषण
हजुरआमाको उपचारका लागि १३ वर्षीय एक बालिका माघमा सुर्खेतबाट नेपालगन्ज आइन् । मजदुरी गर्ने उनका अभिभावक नेपालगन्जमा दिनभरि काममा व्यस्त हुन्थे । बालिका नेपालगन्ज-१० स्थ्िात छिमेकी सुष्मा रैदासको घरमा आवतजावत गर्न थालिन् । सम्बन्ध नजिकिँदै गएपछि रैदासले बालिकालाई विभिन्न प्रलोभन दिई यौन क्रियाकलापमा सरिक गराइन् । घरमा विभिन्न पुरुष बोलाएर उनी ती बालिकासँग यौन क्रियाकलाप गर्न लगाउँथिन् । तिनै पुरुषले बालिकामाथि लगातार यौन शोषण गरे । बालिका फागुनको अन्तिम साता हजुरआमाको उपचारपश्चात आफ्नो घर सुर्खेत फर्किइन् । कक्षा ७ मा पढ्दै गरेकी बालिकाको तीन महिनापछि अस्वाभाविक रूपमा स्तन र पेट बढ्दै गयो । गाउँले र घरकी हजुरआमाले कारण पत्ता लगाउन बालिकालाई नेपालगन्ज पठाए । नेपालगन्जमा आमासँगको भेटमा उनले सबै कुरा सुनाइन् । छोरीले सबै कुरा भनेपछि बल्ल थाहा पायौं, बालिकाकी आमाले भनिन्, छिमेकी सुष्मा रैदासले गर्भ रहेको भन्दै गर्भपतनका लागि जथाभावी औषधि खुवाउन थालिन् । अनि, रगत बग्न थाल्यो । वैशाख ३१ गते बालिकाका पिताले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो । गर्भपतन गराउन खोज्दा बालिकाको ज्यान नै खतरामा परेको छ । असुरक्षित गर्भपतनका कारण रक्तश्राव नरोकिएपछि बालिकालाई प्रहरीले कोहलपुर मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार गराइरहेको छ । बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेलका अनुसार गस्तीमा रहेको प्रहरीले बालिका चिच्याएको थाहा पाएपछि गएर बुझ्दा रगत बगिरहेको थियो । त्यसपछि उनलाई भेरी अस्पताल, नेपालगन्ज पुर्याइयो । त्यहाँ उपचार हुन सम्भव छैन भनेपछि कोहलपुर मेडिकल कलेजमा लगिएको प्रहरीको भनाइ छ । एसपी पौडेल आफैं राति कोहलपुर मेडिकल कलेज पुगेर आर्थिक कुरा पछि गरौंला, अहिले उपचार गरिदिऊँ भनेर फर्किएका थिए । बालिकाका बुबा-आमा नेपालगन्ज-१०, गोसाइँगाउँमा बस्छन् । बालिका भने हजुरआमासँगै सुर्खेतमा बस्छिन् । बालिकालाई कसले यौन शोषण गर्यो भन्ने खुलिसकेको छैन । घरपरिवारबाट कुनै उजुरी नआए पनि बालिकालाई कसले यौन शोषण गर्यो भन्ने कुरा अनुसन्धान थालेका छौं, एसपी पौडेलले भने, बालिकालाई त्यस्तो अवस्थामा कसले पुर्यायो, त्यसको खोजी गर्दै छौं । अपराधी कुनै पनि हालतमाउम्किन पाउँदैन । बालिकाका पिताले भने छोरीले भनेका आरोपितलाई प्रहरीले पक्राउ नगरेको बताए । सुष्मा रैदासले बारम्बार आफ्नी श्रीमतीलाई फोन गरेर ुमलाई नफसाऊ, म उपचार खर्च दिन्छुु भन्ने गरेको पनि बालिकाका बुबाले बताए । बालिकालाई सीमावर्ती भारतीय बजारमा लगेर गर्भपतन गर्ने प्रयास भएको थियो । बालिकाको एबी नेगेटिभ रगत समूह हो । बालिकालाई चार प्रिन्ट रगत चढाइसकिएको अस्पताल प्रशासनले जनाएको छ । बालिकालाई अझै पनि रगत आवश्यक छ । बालिका बुबाले एबी नेगेटिभ भएका व्यक्तिलाई सहयोग गरिदिन अपिल गरेका छन् । बलात्कारपछि गर्भपतन गराइएकी बालिकाको अहिले आर्थिक समस्याले उपचारमा समस्या आएको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले छोरीको उपचार गरिदिन बालिकाकी आमाले आग्रह गरेकी छन् । हामीसँग पैसा छैन । आफन्तसँग लिएको २५ हजार ऋण पनि सकियो । उपचार गराउन नसकेर मेरो छोरीको अकालमा ज्यान नजाओस्, बालिकाकी आमाले भनिन्, छोरीको निःशुल्क उपचारका लागि पहल गरिदिनुपर्यो । नेपालगन्ज मेडिकल कलेजका स्टाफ नर्स ज्योति शाहले रगत चढाइरहेकाले बालिकाको अवस्थामा पहिलाभन्दा सुधार आइरहेको बताइन् । शनिबारदेखि बालिका बोल्न थालेको उनले बताइन् । आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि शनिबार नेपालगन्ज उपमहानगरकी उपप्रमुख उमा थापा मगर र महिला, बालबालिका शाखा प्रमुख शोभा शाहको सहयोगी समूह लागिपरेको छ । बालिकाको उपचारमा सहयोग गरिदिन सरोकारवालासँग अनुरोध गर्दै सहयोग जुटाउन पहल थालेको शाहले बताइन्।
२०७६ जेठ ६ गते १०:३४ मा प्रकाशित