समाचारमा बालबालिका

तीनवटा श्रीमती भएका बाबुविरुद्ध छोरी बलात्कार गरेको किटानी जाहेरी

तेह्रथुमको लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा एक व्यक्तिले १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा किटानी जाहेरी परेको छ । डर धम्की देखाउँदै पटक–पटक  करणी गरेको भन्दै आमा–छोरीले वुबाविरुद्ध इलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएका छन् । गएको भदौदेखि पटक–पटक बलात्कार गरेको भन्दै बालिका र उनकी आमाले इलाका प्रहरी कार्यालय बसन्तपुरमा किटानी जाहेरी दिएको निमित्त प्रमुख कुलबहादर खड्काले बताउनुभयो ।
बलात्कारपछि १५ वर्षीया छोरी गर्भवती भएकी छिन् । छोरीको पेटमा ५ महिनाभन्दा बढी समयको गर्भ रहेको भन्दै बालिकाकी आमाले श्रीमानलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका हुन् । गएको भदौ महिनादेखि आफूलाई वुबाले पटक–पटक बलात्कार गरेको बालिकाले बयान दिएकी छिन् । झड्केली छोरी बलात्कार गर्ने वुबाका ३ वटी श्रीमती रहेको प्रहरीले जनाएको छ । बालिकाकी आमाले आफू घरमा नभएको बेलामा छोरीलाई डर त्रास देखाएर श्रीमानले पटक–पटक बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । श्रीमान् पूर्वी तराइमा अर्की श्रीमतीसँग बस्दै आएको आमाको भनाई छ । अर्की श्रीमती ल्याएर तराइमा बस्दै आएका श्रीमान् गएको भदौ महिनादेखि बाक्लै रुपमा आफ्नो घरमा आउजाउ गरिरहेको आमाले बताएको प्रहरीले जनाएको छ । घरमा श्रीमानको आउजाउ बढेसँगै छोरीको महिनावारी रोकिएपछि शंका लागेर सोध्दा वुबाले पटक–पटक बलात्कार गरेको छोरीले बताएको आमाको भनाई छ । गरिबीका कारण आफू कामका लागि अन्यत्र जाने गरेको र त्यही मौका छोपेर श्रीमानले छोरीको बलात्कार गरेको आमाको आरोप छ । बलात्कृत बालिकाको जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । किटानी जाहेरी आएकाले जवरजस्तीकरणीमा मुद्धा दर्ता गरी अघि बढाउने प्रहरीको भनाई छ । हाडनाता भित्र बालात्कृत भएकाले घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धन थालिएको छ । घटना सार्वजनिक भए लगत्तै तराईमा बस्दै आएका पीडित बालिकाका वाबु त्यहाँबाट पनि फरार भएको प्रहरीले जनाएको छ । 

२०७४ माघ २२ गते ११:०९मा प्रकाशित