किशोरीमाथि जबरजस्ती गर्ने स्वास्थ्यकर्मी पक्राउ
किशोरीमाथि जबरजस्ती गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका १२ टक्सार कोटडाँडास्थित आर्युवेदिक औषधालयका स्वास्थ्यकर्मी शंकर साह १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । साहले आफ्नै कार्यालयमा उपचारका लागि आएकी स्थानीय किशोरीलाई कार्यालयको स्टोर रुममा लगेर बलात्कार गर्न खोजेको उजुरीका आधारमा साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए । उनका अनुसार साहले सोमबार स्वास्थ्योपचारका लागि आएकी किशोरीलाई बलात्कार गर्ने प्रयास गरेका हुन् । अभियुक्त स्वास्थ्यकर्मीले बलात्कार गर्ने प्रयास भएकी किशोरीले घरमा गएर आमालाई सुनाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । साहलाई सोमबार नै पक्राउ गरी जबरजस्ती करणी उद्योग मुद्दामा कानुनी कारबाहीको तयारी भइरहेको कार्कीको भनाइ छ ।
२०७५ जेठ १ गते प्रकाशित