समाचारमा बालबालिका

बलात्कारपछि बालिका हत्या गर्ने युवकलाई जन्मकैद

बालिकालाई बलात्कारपछि  हत्या गरेको अभियोगमा एक युवकलाई जिल्ला अदालत भोजपुरले जन्मकैदको फैसला सुनाएको छ ।  अदालतले ११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका–५, दोभाने सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको सजाय सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ईङ्नामको एकल ईजलासले राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको फैसला सुनाएको हो । अदालतको फैसलाले मृतक बालिकाको परिवारलाई अभियुक्त राईबाट एकलाख क्षतिपूर्ति दिने निर्णय ठहर गर्दै जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत भोजपुरका निमित्त श्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए ।पीडक राईले गत भदौ १० गते बेलुका मोबाइलमा फिल्म हेर्दै सुतेकी ११ वर्षीया बालिकालाई बलात्कार गरेपछि आमाबुवालाई सुनाइदिने डरले घाँटी थिचेर हत्या गरेका थिए । पीडित परिवारको उजुरीका आधारमा उनलाई घरबाटै नियन्त्रणमा लिइएको थियो । मृतक बालिका दोभानेको सालेवामै आमा धनमनी र सौतेनी बुवा राजन राईसँग बस्दै आएकी थिइन्।

२०७५ फागुन २९ गते ९:२९ मा प्रकाशित