समाचारमा बालबालिका

बालिका बलात्कारपछि हत्या गर्ने १२ घन्टामै पक्राउ

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया विक (सुनार)लाई बलात्कारपछि हत्या गर्ने २७ वर्षीय कुसुम पौडेल १२ घन्टामै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पौडेललाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले कुसुम पौडेलले अपराध स्वीकार गरेको बताए । उनका अनुसार घटनाको जानकारी पाउना साथ कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र गुरुङ, वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नवीन कार्की र आफूसमेत अनुसन्धानमा जुटेर हत्यारा पक्राउ गर्न सफलता मिलेको हो । सोमबार साँझ साढे पाँच बजेदेखि हराएकी बालिकाको मंगलबार बिहान शव भेटिएको थियो । साढे नौ बजे घटना सार्वजनिक भएपछि अनुसन्धानमा लागेको प्रहरी झन्डै १२ घन्टा ९साँझ साढे आठ बजे० मा बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । रानाका अनुसार सुरुमा शंकास्पद आधा दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको थियो । तीमध्ये २७ वर्षीय कुसुम पौडेलले आफ्नो अपराध प्रहरीसमक्ष स्वीकार गरेका थिए । सोमबार साँझ साढे पाँच बजेदेखि हराएकी श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी हुन् । एसपी रानाले पौडेललाई बलात्कार र हत्या अभियोगमा हदैसम्मको कारबाही हुने बताए ।

मादकपदार्थ सेवन मुख्य कारण
कास्की प्रहरीका अनुसार कुसुमले रक्सी सेवन गरेकै कारण १० वर्षीया बालिका श्रेया विक ९सुनार०को बलात्कारपछि हत्या भएको हो । कास्की प्रहरी प्रवक्ता रवीन्द्र गुरुङले लागुपदार्थ सेवनकै कारण सो घटना घटेको देखिएको बताए । यस्ता खालका अधिकांश घटना मादकपदार्थ प्रयोग गरेर घटाइने गरेको डिएसपी गुरुङले बताए ।

जिल्ला प्रहरी कार्यालयअगाडि आफन्तको प्रदर्शन
हत्यारालाई कडाभन्दा कडा सजायको माग गर्दै आफन्त र स्थानीयले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिनभर प्रदर्शन गरे । आक्रोसित आफन्त र गाउँलेले हत्यारालई फाँसी दिनुपर्ने माग गर्दै दिनभर प्रदर्शन गरेका हुन् । उनीहरू कोदीबाट जुलुससहित प्रहरी कार्यालयमा आएका थिए । दिनभर प्रहरी कार्यालयअगाडि धर्ना दिँदै उनीहरूले महिला हिंसा अन्त्य हुनुपर्ने, कानुन कडा बनाउनुपर्नेलगायतका नारा लगाएका थिए ।

पोखरामा प्रदर्शनसहितको र्‍याली
पोखरामा विभिन्न संघसंस्थाहरूले कास्की कोदीकी १० वर्षीया बालिका श्रेया विक, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलगायत देशका विभिन्न ठाउँमा भएका बलात्कार र हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याउनुपर्ने माग गर्दै बुधबार प्रदर्शन गरेका छन् । पोखराको स्थानीय मानवअधिकार चोकदेखि सुरु विभिन्न संघसंस्थाहरूको र्‍याली हत्यारालाई पक्राउ गरिनुपर्ने, कडाभन्दा कडा कारबाही गरिनुपर्ने र फाँसीको सजाय हुनुपर्नेलगायतका नाराअंकित प्लेकार्डसहित अमरसिंह चौरमा पुगेको थियोे ।

यसरी भयो श्रेयाको बलात्कारपछि हत्या

सोमबार बिहानैदेखि कुसुम पौडेल साथीहरूसँग रक्सी पिएर मातेका थिए । उनले बिहान ११ बजेदेखि १२ बजेसम्म स्थानीय हेम विकको भट्टी पसलमा अन्य चारजनासँग बसेर रक्सी पिएका थिए । उनी ती साथीहरूसँग थप रक्सी लिएर डाँडामाथि उदय केसीको घरमा पुगे । त्यहीँ बसेर साँझ पौने पाँच बजेसम्म पौडेल साथीहरूसँगै रक्सीमा मस्त रहे । त्यसपछि रक्सीकै सुरमा चुरोट किन्छु भन्दै तल झर्दै थिए । त्यही क्रममा मामा घरबाट बिस्कुट किन्न पसलतर्फ झर्दै गरेकी श्रेयालाई देखेपछि उनले सुरुमा बोलाएर ५ रुपैयाँ दिए । घरबाट करिब ६०–७० मिटर तल एउटा सानो मन्दिर र पुरानो घर रहेको स्थानमा उनले बालिकालाई मिठाइ किन्न भन्दै ५ रुपैयाँ दिएका थिए । त्यसपछि करिब १० मिटर तल रहेको एउटा पुरानो घर र पानीट्यांकीबीचमा बालिका तल झर्दै गर्दा पुनः बोलाएर १० रुपैयाँको प्रलोभन देखाउँदै उनले बलात्कारको प्रयास गरे । बालिकाले नमानी चिच्याउन थालेपछि घाँटीमा थिचेर तल झाडीमा फालिदिए । त्यही क्रममा बलात्कार गरेको र ढुंगाले टाउको र अनुहारमा थिचेर बालिकाको हत्या गरेको अनुसन्धानको क्रममा प्रहरीलाई कुसुमले बताएका छन् । कास्की प्रहरीले कुसुमले बलात्कार र हत्या गर्दा लगाएको लुगा र ढुंगासमेत कुसुमसँगै सार्वजनिक गरेको छ । पत्रकार भेटघाटका क्रममा नै कुसुमले आफूले हत्या गरेको स्विकारेका छन् 

२०७५ असोज ११ गते प्रकाशित