समाचारमा बालबालिका

बलात्कारको तारो बन्दै बालिका

गत बुधबार पर्साकी ८ वर्षीया बालिकालाई तीन जना युवाले सामूहिक बलात्कार गरे । प्रहरीले बलात्कारमा संलग्नलाई अझै पक्राउ गर्न सकेको छैन । सामूहिक बलात्कारको कारण बालिकाको गुप्तांगमा गम्भीर चोट लागेको छ । चोटका कारण बालिकाको रक्तश्राव अझै रोकिएको छैन । बलात्कारपछि बलात्कारीले कुटपिट गर्दा उनका शरीरका विभिन्न भागमा चोटैचोट लागेका छन् । उनलाई आइतबार रक्षा नेपालले उपचारका लागि उद्धार गरी राजधानी ल्याएको छ। सँगै माछा मार्न हिँडेका स्थानीय तीन व्यक्तिको समूहले माछा दिन्छु भन्दै फकाएर उनलाई बलात्कार गरेको बालिकाले बताएकी छिन् । रक्षा नेपालले आइतबार बलात्कारीविरुद्ध जाहेरी दिएको छ । बालिकाले किटानी गरेका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान चलाउनुपर्ने रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् । रक्षा नेपालका अनुसार बालिका अल्पसंख्यक जातिकी हुन् र अविभावकको आर्थिक अवस्था दयनीय छ। उता, कात्तिक तेस्रो साता भोजपुरकी १४ वर्षीया बालिका घाँस काट्न गएको बेला स्थानीय सन्तोष श्रेष्ठले बलात्कार गरे । श्रेष्ठले बलात्कारपछि बालिकाको हत्या प्रयास गरे । बालिका बाँच्न त सफल भइन् तर ज्यान जोगाउन प्रतिवाद गर्दा उनको एउटा आँखा फुट्यो । उनी राजधानीमा आश्रयलिएर उपचार गराइरहेकी छिन् ।

यी घटनाबाहेक पछिल्लो समय दैनिकजसो बालिका एकल या सामूहिक बलात्कारबाट प्रताडीत भएका घटना संचारमाध्यममा आइरहेका छन् । प्रहरीका अनुसार बलात्कृत हुनेमा १० वर्ष मुनिका बालिका अधिक छन् । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ५ सय २९ जना किशोरी तथा बालिका बलात्कृत भए । रक्षा नेपालमा बलात्कारपछि शरण लिन आएकामध्ये सबैभन्दा बढी बालिका छन् । आश्रय लिइरहेका ६० मध्ये ४० बालिका छन् । ती मध्ये ३० जना दलित र बाँकी जनजाति बालिका हुन्। विगत ११ वर्षदेखि हिंसामा परेका महिलालाई आश्रय दिँदै आएको अर्को संस्था आवेगनमा गत दुई महिनामा ५ जना बालिकाले आश्रय लिइरहेका छन् भने गत सन् २०१७ मा १० जना बालिकाले आश्रय लिएका थिए । आश्रय लिएका सबै बलात्कृत बालिका हुन् । बलात्कृत हुनेमा अधिकांश ज्यालामजदुरी गरेर जीविका चलाउने, निम्नवर्गीय परिवारका दलित तथा जनजाति समूहका बालिका हुन्। आमाबुबा नै ज्याला मजदुरीमा व्यस्त हुने, आफ्ना बालबालिकालाई हेरचाह गर्न नसक्ने, आर्थिक रूपमा विपन्न, निरक्षर अविभावकका बालिकाहरू नै बढी बलात्कारको शिकार हुने गरेको सरोकारवालाहरू बताउँछन् । ‘आफन्तहरू निर्वल भएका परिवारका बालिकाहरू सहरमा आएर ज्यालामजदुरी गर्ने क्रममा सहरमा पनि बलात्कृत भएको देखिन्छ,’ आवेगनकी परामर्शदाता रेणु शाहले भनिन् । रक्षा नेपालकी मेनुका थापा भन्छिन्, ‘बलात्कृत हुनेहरूलाई परिवारमा हेरचाह नपुगेका र एउटा चकलेटको भरमा फकिने अवोध बालिका छन् । सहरमा अविभावकले एकछिन हेरचाह गर्न छोडेको ठाउँमै काका, दाईपर्नेले समेत बलात्कार गरेको देखिन्छ। उनका अनुसार गाउँमा सौतेनी बाबु, आफ्नै बाबु, काकालगायतका अविभावकबाट समेत बलात्कृत भएका देखिन्छन् । सहरमा घरबेटी, व्यवसायी तथा ठेकेदारहरूबाट घरभाडामा बस्ने बालिकाहरू बलात्कृत भएका दखिन्छन् ।

किन बालिका नै तारो ?

शाहका अनुसार बलात्कारीले जहिले पनि कुनै न कुनै रूपमा कमजोर अविभावक र उमेर समूहका बालिकालाई तारो बनाएका देखिन्छन् । बोल्न नसक्ने, उजुरी गर्न नसक्ने, विपन्न समूहका कमजोर बालिका बलात्कारीको तारो बनेका छन् । शाहका अनुसार कलिली किशोरीसँग यौन संसर्ग गर्दा सन्तुष्टि मिल्छ भन्ने गतलधारणाका कारण पनि यसो भएको हुन सक्छ । आवेगनमा आएको एउटा घटनामा दोस्रो विवाह गरेका पुरुषले कम उमेरकी सालीलाई र पछि आफ्नै छोरीलाई पनि बलात्कार गरेका थिए। बालिका तारोमा पर्नुको अर्को कारण हो, पुरुषमा हुने हर्मोनको गडवडी । त्यस्ता पुरुषहरूलाई जतिबेला पनि अनियन्त्रित यौन इच्छा रहेको हुन्छ । त्यही कारण कमजोर परिवारका बालिका बलात्कृत हुन्छन् । परामर्शदाता शाह भन्छिन्, ‘रोगी मानसिक अवस्था नभएको भए बलात्कार गरेपछि कानुनी कारबाही हुन्छ, बद्नाम हुन्छ भन्ने थाहा हुँदाहुँदै किन आफूलाई नियन्त्रण गर्न सक्दैनन् त ?

परिवारमा पहिलादेखि हिंसामा हुर्केका पुरुष पनि पछि गएर बलात्कारमा संलग्न हुन पुगेका उदाहरणहरू छन् । समाधान के ?

नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता मनोज नेउपाने नजिकका आफन्त, चिनजानबाटै बालिकाहरू बलात्कृत भएको देखिँदा मानिसहरूको नैतिकतामा ह्रास आएकाले बलात्कारमा संलग्न भएको तर्क गर्छन् । विशेष गरी कमजोर अविभावक र कम उमेरका बालिकालाई अपराधीले लक्षित बनाउने गरेका छन् । अपराधीले अपराध सफल पार्न केही दिनअघिदेखि नै प्रयास गर्ने हुनाले प्रयासकै समयमा अविभावकले जानकारी पाउन सकेमा रोक्न सकिन्छ। यसका लागि स्कुलमा पनि बालबालिकाको कुरा सुन्ने वातवरण सिर्जना हुनुपर्ने उनको भनाइ छ । स्कुलको पनि बालबालिकामैत्री वातवरण नभएकाले यस्ता अपराध फस्टाउने अवसर मिल्छ । ‘परिवार र स्कुलमा बालबालिकालाई आपूmमाथि भएका कुनै पनि हिंसाका कुरा सुनाउने वावतरण हुनुपर्छ,’ प्रवक्ता नेउपानेले भने।रक्षा नेपालकी अध्यक्ष थापाको विचारमा बलात्कृत छोरी हाम्रो समाजमा पटक–पटक मरेर बाँच्नुपर्छ । अहिलेको कानुन फितलो भएकाले कानुन कडा हुनुपर्ने र जिल्ला अदालतबाटै मुद्दा टुंगिने कानुनमा व्यवस्था हुनुपर्छ । उनी भन्छिन्, ‘हाडनाता करणी, अपांगता भएका, वृद्धा र नाबालिकामाथिको करणी भएमा कडाभन्दा कडा सजाय हुनुपर्छ ।

२०७४ फागुन २१ गते १०: २ मा प्रकाशित