समाचारमा बालबालिका

बलात्कारपछि बहिनीको हत्या : परिवारले नै दबाउन खोज्यो घटना

गत माघ २५ गते उक्त घटना भए पनि आरोपी भाग्न सक्ने आशंकामा प्रहरीले आरोपी पक्राउ परेपछि मात्रै शुक्रबार घटना सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा आरोपी राजदेवलाई सार्वजनिक गरिएको थियो । आरोपी राजदेव गत पुस २५ गते साँझ ५ बजे आफनै कोठामा रहेकी काकाकी छोरी भेटन गएका थिए । कोठाभित्र ब्लाङकेट ओढेर सुतिरहेकी बहिनीलाई राजदेवले बलात्कार गर्न खोजेपछि उनी ब्युझिएकी थिइन् । कोठा बाहिर घरका अन्य सदस्यहरू रहेको बेला राजदेवले बहिनीलाई जबरजस्ती बलात्कार गरेको अनुसन्धानवाट देखिएको उक्त घटनाका अनुसन्धान अधिकृत समेत रहेका इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले जानकारी दिए । बालिका चिच्याउन थालेपछि अरूले थाहा पाउने डरले राजदेवले कुर्ताको तुनाले १५ मिनेटसम्म घाँटीमा कसेर उनको हत्या गरेको अनुसन्धानवाट खुलेको प्रहरी उपरीक्षक सिंहले बताए । बहिनीलाई बलात्कार गरी राजदेव घरवाट फरार भएका थिए । बालिकाको हत्यापछि उनकै परिवारका सदस्यले घटनालाई भवितव्य बनाउन खोजेको प्रहरीले आरोप छ । पार्वतीको हत्यापछि उनको शवलाई परिवारका सदस्यहरूले तत्कालै जलाउन खोजेका थिए । अनुसन्धान अधिकृत ढकालका अनुसार पार्वतीका मावलीतर्फका आफन्तले अस्पताल लैजानुपर्ने अडान लिएपछि उनलाई कल्याणपुरस्थित एडभान्स अस्पताल पुर्‍याएका थिए । त्यहाँ चिकित्सकले उनी मृत भइसकेको बताएपछि उनको शव सिरहाको लहानस्थित अस्पताल लगिएको थियो । बलात्कारपछि साँझ ५ बजे नै उनको हत्या भए पनि राति १० बजे लहान अस्पतालबाट खवर आएपछि मात्र घटनाबारे प्रहरीले जानकारीपाएको थियो । पीडक परिवारकै सदस्य भएको र बलात्कारपछि बहिनीको हत्या गरेको विषय सार्वजनिक भए परिवारको प्रतिष्ठामा आँच आउने भन्दै परिवारका सदस्यहरूले घटनालाई भवितव्यमा परिणत गर्न खोजेको अनुसन्धान अधिकृत ढकालले बताए । तर लहान अस्पतालमा चिकित्सकले मृतकको घाँटीमा निलडाम देखेको र गोप्य अंगको अवस्थाले बलात्कार भएको आशंका गरेपछि मात्र प्रहरी बलात्कार र कर्तव्यज्यानको हिसाबले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याएको छ । केही स्थानीयवासीले दिएको गोप्य सूचना र राजदेवलाई निगरानीमा राखेर परिवारका सदस्यहरूको बयानलाई सूक्ष्म तरिकाले अनुसन्धान गर्दा राजदेव दोषी पाइएपछि उनलाई गत माघ २८ गते प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा आरोपी राजदेवले आफू भावाबेशमा आएर बहिनीलाई बलात्कार गरेको स्वीकार्दै उनी चिच्याउन थालेपछि कुर्ताको तुनाले घाँटी थिची हत्या गरेको स्वीकार गरेको प्रहरी निरीक्षक ढकाललेजानकारी दिए । ‘सामाजिक संरचना र पारिवारिक निकटता हुँदाहुँदै यो घटना अत्यन्तै क्रुर र पासविक ढंगको छ,’ प्रहरी उपरीक्षक सिंहले भने, ‘परिवारले नै घटना ढाकछोप गर्न खोज्दा प्रहरीलाई अनुसन्धान गर्न सुरुमा समस्या पर्‍यो ।’ परिवारबाटै तत्काल पाउनुपर्ने सूचनाहरू नपाउँदा प्रहरी अनुसन्धानमा अप्ठ्यारोमा परेको थियो । मुलुकी ऐन जबरजस्ती करणी महलको १४ को १ नम्बर बमोजिमको कसुरअपराधमा वा सोही ऐनको दफा ३९२०मा १० वर्ष वा सोभन्दा बढी तथा १४ वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेमा ८ देखि १२ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ । साथै हाडनाता करणी गर्नेलाई थप ३ वर्ष कैद हुन सक्ने कानुनी व्यवस्था रहेको छ । यस्तै मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १ नम्बर बमोजिमको कसुर अपराध वा सोही ऐनको दफा १३९३० मा कुनै कारणबाट कोही कसैको ज्यान मारेमा मार्ने व्यक्तिलाई सर्वस्वसहित जन्मकैदको सजायसम्बन्धी कानुनी व्यवस्था रहेको प्रहरी उपरीक्षक सिंहले बताए । यो घटनामा उक्त दुबै मुद्दा चलाइएको छ ।

३ वर्षीया बलात्कृत
सप्तरीको छिन्नमस्ता गाउँपालिकाकी एक दुई वर्षीय बालिकालाई स्थानीय १२ वर्षका एक किशोरले बिहीबार बलात्कार गरेका छन् । अभिभावक घरबाहिर रहेका बेला २ वर्षीया नाबालिकालाई छिमेककै १२ वर्षीय किशोरले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । आरोपी किशोरलाई प्रहरीले नियन्त्रणमालिएको छ ।

अनुसन्धान हुँदै
एक हप्ताअघि सप्तरीको कृष्णासवरण गाउँपालिका ६ मा भएको तीन वर्षीय बालिका र गत पुस ८ गते महदेवा गाउँपालिकामा भएको ११ वर्षीय बालिकाको बलात्कारको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । कृष्णासवरण गाउँपालिका ६ की ३ वर्षीय बालिकालाई गत शनिबार साँझ घर नजिकैका एक १३ वर्षीय बालकले आफनो घरमा लगी बलात्कार गरेका थिए । प्रहरीका अनुसार आफनै घर अगाडि खेलिरहेकी ती बालिकालाई ललाइफकाई बलात्कार गर्ने बालकले आफ्नो घरमा लगेका थिए । बालिकालाई आफ्नो घर लगेका बेला बालकका घरमा कोही थिएनन् । १३ वर्षीय बालकले आफनो घरमा लगेर बालिकालाई जबरजस्ती करणी गरेपछि बालिका रुँदै आफ्नो घर पुगेर बेहोस् भएकी थिइन् । बालिकाकी अभिभावकले स्थानीय प्रहरीमा खवर गरेपछि बलात्कार गर्ने बालकलाई प्रहरीले शनिबार साँझै घरबाट नियन्त्रणमा लिएको छ । बलात्कृत बालिकालाई गम्भीर अवस्थामा उपचारका लागि शनिबार साँझै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल उपचार गराइएको छ । तत्कालीन अवस्थामा बालिकाको योनीबाट अत्यधिक रक्तस्राव भएको थियो । प्रहरीका अनुसार बालिकालाई जबरजस्ती बलात्कार गर्ने बालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा राखिएको छ । बालक नाबालक रहेको भए पनि जघन्य अपराध गरेकाले उनलाई कानुनअनुसार के गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ । यस्तै गत माघ ८ गते सरस्वती पूजाकै दिन एक ११ वर्षीय बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्राप्त जानकारी अनुसार तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुरकी ११ वर्षीय बालिका आफू अध्धयनरत रहेको महदेवा गाउँपालिकास्थित एक बोर्डिङस्कुलबाट पूजा गरेर घर फर्किने क्रममा बलात्कृत भएकी हुन् । उक्त दिन बाक्लो कुहिरो लागेका कारण दिउँसै टाढासम्म हेर्न सकिने अवस्था नहुँदा सरस्वती पूजा सकेर घर फर्किदै गर्दा खेतमा ती बालिका बलात्कारको सिकार भएकी हुन् । आफना अन्य तीन जना साथीसहित घर फर्किइरहेकी ति बालिकालाई महदेवाका एक पुरुषले माटो उठाइदिन भनेका थिए । माटोको बोरा उठाउने क्रममा ती पुरुषले बालिकालाई जबरजस्ती गर्न खोजेपछि उनका अन्य दुई साथी भागेकी थिइन् । भागेकी साथीहरू घरमा आएर उनका अभिभावकलाई बताएपछि अभिभावकले उद्धार गरी उनलाई उपचारका लागि अस्पताल भर्ना गरेका थिए । उक्त बालिका बलात्कारको आरोपमा महदेवाका एक जनालाई नियन्त्रणमा लिई म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सप्तरीमा बढ्दै बलात्कारका घटना
सप्तरी जिल्लामा बलात्कारका घटना पछिल्लो समय बढदै गएको छ । अधिकांश घटनामा नाबालिकामाथि आफन्त वा छिमेकीबाट बलात्कार भएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा जिल्लामा जबरजस्ती करणीका १७ वटा घटना भएका छन् । ती घटनामा संलग्न भएको आरोपमा १९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ भने ३ जना अझै फरार छन् । यस्तै जबरजस्ती करणीको उद्योगका १० वटा घटना भएको छ । जसमा संलग्न भएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा अगाडि बढाएको छ ।

किशोरीमाथि सामूहिक
महोत्तरी (कास) – सोनमा गाउँपालिकामा २ बालिकामाथि सामूहिक बलात्कार भएको घटना सेलाउन नपाउँदै जिल्लामा जबरजस्ती करणीको अर्को घटना भएको छ । भंगाहा नगरपालिका ८ पडरियामा बिहीबार राति डाँका शैलीमा घर प्रवेश गरेको समूहले २१ वर्षीया महिलाको बलात्कार गरी घरमा लुटपाट गरेको हो । पीडितकाअनुसार मध्य राततिर पिसाव फेर्न आँगनमा निस्केका बेला ४ जनाको संख्यामा रहेको समूहले उनलाई नियन्त्रणमा लिई लोहारपट्टी नपा ६ का २२ वर्षीय रहमद नदाफले जबरजस्ती गरेका थिए । समूहमा आएका नदाफसमेत असरफ शेषलाई मात्र चिनेको र बाँकी २ जनालाई भने पहिचान गर्न नसकेको जनाएकी छन् । ‘चार जनाको संख्यामा आए पनि रहमतले मात्र मेरो इज्जत लुट्यो’, उनले प्रहरीसमक्ष घटनाबारे बताइन् । आफूलाई काबुमापारि जबरजस्ती गरिरहँदा समूहका ३ जनाले भने घरभित्र प्रवेश गरी श्रीमानले विदेशबाट पठाएको नगद साढे ४ लाखसमेत मोबाइल र जिन्सी लुटेको पीडितको आरोप छ । उनका श्रीमान् अब्बु बकर भन्ने जयार विश्वकर्मा बैदेसिक रोजागरीको सिलसिलामा २ वर्षदेखि कतारमा छन् । अपराधी फरार रहेकाले घटना दोहोरिन सक्ने आशंकाले उनी मनोवैज्ञानिक त्रासमा छिन् । ‘उनीहरूलाई पक्राउ नगरे म एक्ली महिलालाई जुनसुकै बेला जे पनि गर्न सक्छन्,’ घटनाको भोलिपल्ट आफन्तसाथ जिल्ला प्रहरी पुगेकी उनले प्रहरीसमक्ष आग्रह गरिन् । उनको घर बस्तीदेखि केही दूरीमा रहेकोले हारगुहार गर्दा पनि छरछिमेकबाट तत्कालै सहयोग पाउने अवस्था नरहेकाले घटनाले उनलाई त्रासमा पारेको हो । प्रहरी निरीक्षक केदार बस्नेतले घटना जानकारीलगत्तै पीडितको स्वास्थ्य परीक्षण गराइएको जनाए । ‘असपतालबाट प्राप्त उनको ‘भेजिनल स्वाव’ परीक्षणका लागि प्रहरीको सामाखुसीस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको छ,’ बस्नेतले भने, ‘फरार प्रतिवादीको खोजतलास भइरहेको छ ।’ पीडितले घटना विवरण उल्लेख गरिदिएको जाहेरिलाई प्रहरीले १० नं डाइरीमा ‘जबरजस्ती करणी तथा चोरी’ शीर्षकमा मुद्दा दर्ता गरेको छ ।

२०७४ फागुन ५ गते ७:०१ मा प्रकाशित