समाचारमा बालबालिका

स्कुल भर्ना भए रविन

अपांगता भएकै कारण भर्नाबाट वञ्चित रविन परियार आइतबारदेखि स्कुल जान थालेका छन् । सुरक्षाको कारण देखाउँदै घरमै बसेर पढ्न भनेको छोरेपाटन माविले नै ६ वर्षीय रविनलाई केजी कक्षामा पढाउन थालेको हो । अभिभावक र विद्यालयबीच रविनको सुरक्षा र छुट्टै पूर्वाधार बनाएर पढाउने मौखिक सहमति भएको छ । वैशाख ११ देखि पढाइ सुरु भए पनि विद्यालयले अपांगता भएकाले सुरक्षा दिन नसक्ने भन्दै पढाउन मानेको थिएन । रविनले पढ्न नपाएको बारे शनिबार कान्तिपुरमा समाचार प्रकाशित भएको थियो । विद्यालयका प्रधानाध्यापक लक्ष्मण थापाले रविनका लागि तत्काल हालकै अवस्थामा राखिने र बिस्तारै उनका लागि नयाँ संरचना बनाएर पढाइने बताए । बस्ने व्यवस्था नभएसम्म एक-दुई दिन अभिभावक आएर हेरिदिन भनेका छौं, उनले भने, कक्षाकोठामा उनलाई पढाइमा कसरी सहज हुन्छ भनेर फर्निचरको व्यवस्था गर्छौं । रविनलाई बाबु कुमारले आइतबार बिहान विद्यालयको केजी कक्षामा पुर्‍याएका थिए । त्यहाँ उनलाई अरू साथीसँगै बेन्चमा राखिएको थियो । विद्यालय खुलेको लामो समयसम्म पनि स्कुल जान नपाउँदा दुःखी भएका रविन कक्षामा साथीभाइसँगै बसेर पढ्न पाउँदा निकै खुसी भएका थिए । घरमा बस्दा कस्तो(कस्तो हुन्थ्यो । तर आज स्कुल आउन पाउँदा खुसी भएको छु, रविनले भने, अब धेरै पढ्छु । पढेर प्रहरीको जागिर खान्छु । नभए डाक्टर बन्छु । विद्यालयले घरमै राखेर पढाउन आग्रह गरेपछि छोराले पढ्न पाउँदैन कि भनेर बाबु कुमार चिन्तित थिए । आज छोरालाई स्कुल पुर्‍याएर कक्षामा राख्न पाउँदा म पनि खुसी छु, उनले भने, यसका लागि विद्यालयलाई धन्यवाद दिन्छु । छोराको पढाइ र सुरक्षामा मेरो पनि चासो नहुने कुरा भएन । विद्यालयको पनि समस्या हेरेर अघि बढ्छु ।अबदेखि कुनै पनि अवरोधबिना छोराले निरन्तर पढ्न पाउने उनले विश्वास लिए । छोरालाई बस्न सहज हुने गरी फर्निचरको व्यवस्थामा पनि आफूलेसहयोग गर्ने उनले बताए । कक्षा शिक्षक अमृता शाहीले पढाउन नसक्ने नभनेको, सुरक्षा दिन सक्दैनौंमात्र भनेको बताइन् । रविनलाई कक्षामा सुरक्षासाथ बस्ने व्यवस्था मिलाइदिए पढाउन कुनै गाह्रो विषय होइन,उनले भनिन्, मुख्य कुरा सुरक्षा चुनौती हो । अर्की शिक्षक टीका क्षत्रीले अभिभावकलाई नबुझाएसम्म विद्यार्थीको सुरक्षा जिम्मा विद्यालयले लिनुपर्ने बताइन् । अपांगतामैत्री विद्यालय हुनुपर्छ । यो सरकारको पनि काम हो,ु उनले भनिन्, विद्यार्थीअनुसार शिक्षक दिए यस्तो समस्या हुँदैन ।रविनले पढ्न नपाएको समाचार सुनेपछि विद्यालय पुगेका राष्ट्रिय अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माले अपांगता भएकाले पनि अन्य विद्यार्थीसरह पढ्न पाउने वातावरण मिलाउनुपर्ने बताए । अपांगता भएकै कारणले विद्यालय, राज्यले विभेद गर्न पाउँदैन, उनले भने, रविनको हकमा उनको सुरक्षाको विषय उठाएर गैरजिम्मेवारी रूपमा प्रस्तुत भएको पायौं । विद्यालयले रविन बस्ने पूर्वाधार बनाउने विकल्प नखोजी कसरी तर्किन सकिन्छ भन्नेमा केन्द्रित भएको उनले बताए । बच्चालाई गाह्रो हुन्छ, लड्छ, विद्यार्थी चल्छन् भन्ने एकदमै मसिना कुरा सबै विद्यालयमा हुने भन्दै शर्माले विद्यार्थीलाई नियन्त्रण र अनुशासनमा राख्ने काम शिक्षकको भएकोतर्फ हेक्का राख्नुपर्ने बताए । शिक्षकमा अपांगतासम्बन्धी सामान्य जानकारीसमेत नभएको देखियो, यस्तो अवस्थामा शिक्षकले पढाउँदा विद्यार्थीमा कस्तोचेतना आउला ?, उनले भने । रविन दुवै खुट्टा टेक्न सक्दैनन् । अरूको सहारा वा हिवलचियरमा हिँड्छन् । शरीर हृष्टपुष्ट, बोली प्रस्ट छ भने बोल्न र लेख्न कुनै समस्या छैन । तर विद्यालयले भने नर्सरी कक्षा उत्तीर्ण गरी केजीमा पुगेका उनलाई जिम्मा लिन नसक्ने भन्दै घरमै पढाउन भनेको थियो ।

२०७६ बैशाख ३० गते ७:१३ मा प्रकाशित