समाचारमा बालबालिका

खोलामा गाडेको शव निकालेर पोस्टमार्टम गर्न पठाइयो

रामग्राम नगरपालिका–७ उजैनीका ९ वर्षीय एक बालकको शंकास्पद मृत्यु भएको छ । स्थानीय बैजनाथ पासवानका छोरा विवेक पासवानको मृत्यु शंकास्पद देखिएपछि गाडेको ठाउँबाट शव उत्खनन गरेर प्रहरीले पोस्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौं पठाएको छ ।स्थानीय रामग्राम बोर्डिङ स्कुलमा कक्षा १ मा पढ्ने बालकको आइतबार चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । बालकका अभिभावकले विद्यालयमा कुटपिट हुँदा बालक घाइते भएका दाबी गरेका छन् । शुक्रबार बिहान स्वस्थ्य रूपमा विद्यालय गएका बालक एक्कासि बिरामी परेपछि सुरुमा उपचारका लागि अभिभावकले जिल्ला अस्पताल पृथ्वीचन्द्र लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि भैरहवा र अन्तिममा चितवन मेडिकलकलेज लगिएको थियो । मेडिकल कजेजमै उनको मृत्यु भएको हो । 

 प्रदर्शनपछि शव उत्खनन
पढाउने क्रममा शिक्षिका प्रतिमा रजकले टाउकोमा कुटपिट गर्दा बालकले कक्षाकोठामै उल्टी गरेका दाबी अभिभावकको छ । त्यही चोटको कारण उनको मृत्यु भएको बालकका बुवा बैजनाथले बताए । विद्यालयमा कुटपिट हुँदा बालकको मृत्यु भएको भन्दै सोमबार स्थानीयले परासीमा प्रदर्शन गरेका थिए ।  बालकको मृत्यु शंकास्पद देखिएपछि गाडेको ठाउँबाट शव उत्खनन गरेर पोस्टमार्टमका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । ‘बाहिरबाट हेर्दा भने बालकको शरीरमा कुनै चोटपटक देखिँदैन,’ थापाले भने ।

कुटपिट भएको  छैन : प्रिन्सिपल
विद्यालयका प्रिन्सिपल राधेश्याम पाण्डेले भने बालक पहिलादेखि नै बिरामी रहेको दाबी गरेका छन् । शुक्रबार कक्षाकोठामा पढाउने क्रममा बालकले उल्टी गरेपछि आफन्तको जिम्मा लगाएको उनले बताए । ‘यसमा शिक्षकको कुनै दोष छैन, बालकमाथि विद्यालयमा कुटपिट पनि भएको छैन,’ उनले भने ।

कुटपिट भएको देखिन्छ : डाक्टर
आइतबार मृत्यु भएका बालकको शव पोस्टमार्टमविनै अभिभावकले घरनजिकैको खोला किनारमा लगेर गाडेका थिए । सुरुमा बालकको उपचार गरेका पृथ्वीचन्द्र अस्पतालका डा। नुरुल होडाले कुटपिटबाटै बालक घाइते भएको बताए । ‘बालकलाई कुटपिट गरेको देखिन्छ,’ उनले भने, ‘बालकलाई थप उपचार आवश्यक देखेपछि मैले अन्यत्र रेफर गरेको हुँ ।’ विभिन्न प्रमाण संकलन गरेर घटनाको अनुसन्धान सुरु गरेको नवलपरासीका प्रहरी उपरीक्षक लालमणि आचार्यले । ‘स्थानीयको विरोधपछि हामीले शव उत्खनन गरेर पोस्टमार्टम गर्न पठाएका छौँ,’ आचार्यले भने, ‘कक्षाकोठामा लगाइएको सिसिक्यामेराको फुटेज पनि हामीले नियन्त्रणमा लिएका छौँ । केही दिनमै यथार्थ विवरण बाहिर आउँछ ।

२०७६ फागुन ७ गते ६:५८ मा प्रकाशित