समाचारमा बालबालिका

एक चौथाइ छात्रा हिंसापीडित

चार जिल्लाका सामुदायिक विद्यालयमा छात्राको दर उच्च छ । धनुषा, महोत्तरी, रौतहट र पर्सा जिल्लाका २ सय सामुदायिक विद्यालयका करिब २५ प्रतिशत छात्राले विद्यालयमा हिंसा हुने गरेको गुनासो गरेका छन् । जनकपुरमा आइतबार आयोजित एक कार्यक्रममा यो तथ्यांक प्रस्तुत गरिएको हो । प्रदेश २ का यी जिल्लाका ४८ वटा पालिकाका २ सय सामुदायिक विद्यालयमा राखिएको गुनासो पेटिकामा छात्राहरूले आफूमाथि हुने हरेक प्रकारको दुर्व्यवहारको लिखित गुनासो गर्न थालेका छन् । लाइफ नेपालका सुरैत ठाकुरका अनुसार विद्यालयमा गुनासो पेटिका राखिएयता ४ हजार ४ सय ६८ जना विद्यार्थीले आफ्नो समस्या राखेका छन् । जसमध्ये २५ प्रतिशत विद्यार्थीले आफूमाथि हुने लैगिंक हिंसाबारे खुलेर समस्या राखेको ठाकुरले जनाए । शिक्षकको नराम्रो छुवाइ, हेराइ, लैगिक भेदभाव, महिनावारी, सेनिटरी प्याड, प्रजन्न स्वास्थ्य, मौखिक र शारीरिक दुर्व्यवहार सम्बन्धमा बढी गुनासो देखिएको छ । यस्तै, ३ हजार ३ सय ६६ वटा गुनासो विद्यालयमा गुणस्तरीय शिक्षा नदिइएको र विद्यालयको भौतिक पूर्वाधार जर्जर रहेको सम्बन्धमा छ । ४० वटा उजुरी विद्यालयमा पढ्दा–पढ्दै बालविवाह गरिएको र ८ वटा उजुरी बलात्कारसम्बन्धी छन् । जसमध्ये ३ सय ३६ वटा उजुरीमा सुनुवाइ भएको छ । विद्यालयमा राखिएको उजुरी पेटिका गुनासो सुनुवाइ समितिको रेखदेखमा हरेक शुक्रबार खोलिने गरिएको छ । ठाकुरका अनुसार सामुदायिक विद्यालयको शिक्षामा सुधार र छात्रामैत्री वातावरण बनाउन प्रदेश २ का केही पालिकाले बालसंरक्षण नीति, बाल संरक्षण आचारसंहिता बनाएको छ । कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेशमा सामुदायिक विद्यालय र शिक्षा कहालीलाग्दो अवस्थामा पुगेको बताए । उनले विद्यालयमा लैंगिक र जातीय हिंसा अझै कायम रहेको पनि बताए । ‘स्कुलमा जे सिकाइन्छ । त्यस्तै नै समाज बन्ने हो,’ मन्त्री यादवले भने, ‘तर, सामुदायिक विद्यालयमा असल र नैतिक शिक्षाको अभाव देखिन्छ । शिक्षकले आफ्नो कतर्व्य बिर्सेका छन्।

२०७६ असार १६ गते १०:३४ मा प्रकाशित