समाचारमा बालबालिका

बाल विवाहले खोसिँदै घरबार

रुपन्देहीको कम्हरियाकी पुजा चाईको बिहे भएको ९ वर्ष पुग्यो । बिहे हुदाकी १२ वर्षीया बालिका अहिले २१ वर्षे जवान भइन् । सुरुमा दूलाहाको पढाइ र दुलहीको बालापन पूरा गर्न माइत छोडिएकी पूजाको घर जाने दिन भने जुरेन । घरपक्ष गौना लिन (शुभ साइत छोपेर लिन) आउने दिनको प्रतिक्षामा बसेकी उनी पतिले अर्को बिहे गरेपछि अलपत्र छिन्। काली र नपढेकीु भन्दै पतिले गौना गर्न नमान्दा पूजा अलपत्र परेकी हुन्। होची भएको भन्दै पतिले गौना गर्न नमानेपछि घर जाने प्रतिक्षामा दिन कटाएकी रोहिणी गाउँपालिका छोटी रामनगरकी आशा पासीको पनि घरजम बस्न सकेको छैन। न त, बिहेपछि पति र घरपरिवारसँग भेटघाट भयो। पोखरामा प्राविधिकको जागिर खाँदै गरेका परासीका सरोजले आफ्नो उमेर र पेशा मिल्नेसँग प्रेम विवाह गरेपछि सुनिताको घर जाने बाटो छेकिएको छ। सरोज अहिलेको विवाह तोड्न र अवोध बाल्यकालमा सुनितासँग गरिएको विवाह स्वीकार्न तयार छैनन्। ‘बिहे गरेकी जवान छोरी माइतै अलपत्र परिन्। न्यायका लागि पटक पटक गाउँका अगुवा बसियो केही भएन।’ आशाकी आमा रमावतीले गुनासो गरिन्। ‘अड्डा अदालत जाउँ बाल विवाहको उजुरी लाग्दैन रे,’ उनले थपिन्। पछिल्लो समयमा पूजा र आशा जस्तै बालविवाहको चपेटामा परेका रुपन्देहीका धेरै किशोरी अलपत्र परेका छन्। एकदिन पति आउने र लैजाने प्रतिक्षामा सिउँदो रंगाएर बसेका उनीहरुका पति भने अर्को घरजम गरेर बसेका छन्। विवाहपछि दुलाहले पहिलोपटक दुलही घर लिएर जाने परम्परालाई मधेसी समूदायमा गवना अर्थात गौना भनिन्छ। सानैमा बिहे हुने भएपनि मधेसका छोरी परीपक्कताका लागि माइतमै छोडिन्छ। किशोर उमेरमा दिन जुराएर पुन केटापक्षले दाइजोसहित दुलही वा गौना लैजाने गर्छन्। सानैमा अभिभावकले बिहे गरिदिएपनि पछि केटाले पढाइ, दाइजो, सुन्दरता लगायतमा दोष लगाएर नस्वीकार्दा धेरै किशोरीको घरवार खोसिएको छ। भुक्तभोगीहरुका अनुसार बिहेपछि प्रायः अभिभावकहरु बालिकालाई पढ्न छुटाउँछन्। बालक भने पढन् जान्छन्। पढ्दै र बढ्दै जाँदा उनीहरुको स्तर मिल्दैन। भेट नै नहुने भएकाले मायाप्रेम पनि बस्दैन। यसैले पढेलेखेका केटाले आफूसरहकी केटी हेर्न थाल्छन् र बिहे गर्छन्। यो गर्दा बिहे गरेकी जेठी पत्नी अलपत्र परेका हुन्। बाल विवाह बढी हुने गुप्ता, ठहरे, कुर्मी, लोध, हरिजन, बाजिया, कलवार, पासी, पासवान, मौर्य, थारु लगायतका जातिमा गौना तोडिने समस्या बढ्दै गएको छ।

बालविवाहलाई कानुनले अवैध मानेको छ। २० वर्षअघिको विवाहलाई विवाह नै नमान्ने भएकाले सानैमा विवाह भएका किशोरीका पक्षमा कानुनले सहयोग गर्दैन। पतिले अर्को बिहे गरेर अन्याय गरेपनि जेठी पत्नीलाई न्याय दिलाउन नसक्दा समस्या झन् बढेको छ। पोखरभिण्डीकी रीता हरिजन यही मारमा परेकी छिन्। सरकारी जागिरे पतिले आफूमिल्दो पढाइको युवतीसँग घरबार गरेपछि प्रहरीमा उजुरी दिएकी उनको बाल विवाह भएकाले बहुविवाह मुद्धा दर्ता भएन। सट्टामा पति वा न्याय होइन जीवनयापनकालागि दिएका केही रकममै चित्त बुझाउनु पर्‍यो। ‘म १२ र उहाँ १४ वर्षको हुँदा बिहे भएको थियो,’ २२ वर्षे रीताले गुनासो गरिन्, ‘म त्यहीँ विवाहलाई सकारेर बसें। उहाँले नकारेर बिहे गर्नुभयो। समस्या बढेपछि अवैध विवाह नै भएपनि गौना नलगेका र केटाले अर्को विवाह गरेर अलपत्र परेका घटना महिलासम्बद्ध संघसस्था तथा प्रहरीकहाँ आउन थालेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा गत वर्ष ७० वटा खोजतलास भन्दै गौना नलगेका र बालविवाहपछि केटाले अर्को बिहे गरेका मौखीक उजुरी आएका थिए। चालु आवमा पनि १५ वटा त्यस्ता उजुरी परेका छन्। महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख लक्ष्मण बिकले कानुनी कारबाही गर्न नसकेपनि यस्ता धेरै उजुरी छलफलबाट समाधानको कोशिस गरिने बताए। ‘कानुनी प्रक्रिया खोज्ने हो भने बालविवाहलाई विवाह नै नमान्ने भएकाले सानैमा विवाह भएर गौना नगएका र बहुविवाहमा परेका किशोरीका पक्षमा कानुनले सहयोग गर्दैन,’ उनले भने, ‘सहमतिबाट बाच्नका लागि केही रकम जुटाउन सहयोग गर्छौ।’ यसले विवाह भइसकेका किशोरीले केही रकम पाएपनि घरजम गर्ने इच्छा भने सधैंकालागि मर्ने गरेको छ।

महिला तथा बालबालिका कार्यालय रुपन्देहीका प्रमुख शारदा वश्यालले सानैमा बिहेभएपछि कतै बालकले पढ्ने बालिकाले नपढ्ने गरेर त कतै बालिकाले पढ्ने तर बालकले नपढ्ने गरेकाले यौवनमा घरबार गर्दा उनीहरुबीच वेमेल भएको बताउँछिन्। ‘अभिभावकहरुले बालविवाह गराएको सजाय किशोरीहरुले भोगेका छन्।’ उनले भनिन् ‘घर नै नभित्राउने र घर लगेर किशोरीमाथि हुने अन्याय पनि पीडादायी छ।’ यो समस्या सधैकालागि हटाउन कानुनले निशेष गरेको बालविवाहलाई नै रोक्नुपर्ने प्रमुख वश्यालले सुझाइन्। बाल विवाह विरुद्ध कार्यरत एवीसी नेपालले बालविवाह बढी हुने जिल्लाका साविक १६ गाविसमा गरेको अध्ययनमा बालविवाह गरेका १० प्रतिशत बढी छोरीहरु अलपत्र परेका छन्। घरजम हुने पनि धेरै घरेलु हिंसामा परेका छन्। कार्यक्रम संयोजक मनोज लामिछानेले अवोध बालबालिकालाई जवरजस्त बिहे गराउँदा र बिहेपछि पनि छोरीलाई विभेद गर्दा किशोरी अलपत्र परेको बताए। बढी समस्या भएका क्षेत्रमा बालविवाहबाट समस्या भोगेका र बालविवाह हुने सम्भावना भएका किशोरीमार्फत संवाद केन्द्र खोलेर बाल विवाह विरुद्ध अभियान चलाइएको छ। त्यसमा महिला तथा बालबालिका कार्यालय, गाउँपालिका लगायतले सहकार्य गरेका छन्। अधिकारकर्मी लामिछानेले बालविवाह विरुद्ध टोल टोलबाट चेतना र सजायका कार्यक्रमान नथालेसम्म बालविवाह हुने र किशोरी अलपत्र पर्ने समस्या नरोकिने बताए। रुपन्देही देशमै बालविवाह बढी हुने १५ जिल्ला मध्येको एक हो। जिल्लामा धार्मिक सस्कार र गरीवीले बढी बालविवाह भएका छन्। 

२०७४ पुस १७ गते ६:०३ मा प्रकाशित