समाचारमा बालबालिका

पोलियो खोपका नाममा एफआइपिभी भ्याक्सिन सुरु

सरकारले पोलियो खोपका नाममा नयाँ भ्याक्सिन सुरु गर्ने भएको छ । विगतमा लगाउँदै आएको आइपिभी भ्याक्सिनको अभाव भएपछि सरकारले नयाँ भ्याक्सिन एफआइपिभी सुरु गर्ने भएको हो । आइपिभि खोप १४ महिना उमेरका बालबालिकलाई लगाइन्थ्यो भने एफआइपिभि खोप ६ साता र १४ महिनाको उमेरमा गरी दुईपटक लगाइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बालस्वास्थ्य महाशाखाका अनुसार आइपिभी भ्याक्सिन विश्वभर अभाव भएपछि यस वर्षबाट एफआइपिभी नामक भ्याक्सिन सुरु गर्न लागिएको हो । ‘ सम्पूर्ण विश्व पोलियो उन्मूलनको अभियानमा लागेको छ,’ महाशाखाका खोप अधिकृत भरत भण्डारीले भने, ‘अभियान सञ्चालन भइरहँदा आइपिभी अभाव भएकाले त्यसलाई थप प्रभावकारी बनाउन एफआइपिभी खोप चलाउन लागेका हौँ ।

ओपिभीले पक्षाघात गराउने भएपछि बन्द
विश्व स्वास्थ्य संगठनले सन् २०१३ देखि सन् २०१८ भित्र पोलियो उन्मूलन गर्ने अन्तिम रणनीति तयार पारेको छ । नेपालले यसैलाई आधार मानेर सन् २०१४ देखि नै पोलियो निर्मूल गर्ने कार्ययोजना बनाएको थियो । भण्डारीका अनुसार पोलियो उन्मूलन गर्न आइपिभी भ्याक्सिन सुरु गर्नैपर्ने हुन्छ । वर्षौँदेखि नेपालमा मुखबाट खुवाउने ओपिभी सञ्चालन हुँदै आएको थियो । ओपिभी खोप तीन प्रकारको भाइरसविरुद्ध दिने गरिन्थ्यो । उक्त थोपाले बच्चालाई पक्षाघात गराउने भएपछि सरकारले मुखबाट खुवाउने पोलियो थोपा हटाएको हो । भण्डारीले थपे, ‘ओपिभीले बच्चालाई पक्षाघात गर्ने भएका कारण हामी पोलियो उन्मूलनमा पुग्न सक्ने अवस्था रहेन । त्यसैले तीनमध्ये दुई हटाएर त्यसलाई समेत कभर गर्ने हिसाबले आइपिभी सञ्चालन गरेका होैँ । सरकारले सन् २०१६ बाट ओपिभी खोप हटाएको थियो ।

आइपिभी सञ्चालन गर्ने नेपाल पहिलो
आइपिभी पनि ओपिभी खोपजस्तै तीन प्रकारका भाइरसविरुद्ध खोप हो । पोलियो उन्मूलन रणनीतिअनुसार आइपिभी सञ्चालन गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र हो । तर, विश्वव्यापी अभावले गर्दा नेपालमा सो खोप लामो समय चल्न सकेन । आइपिभी नेपालमा करिब एक वर्ष मात्रै सञ्चालन हुन सक्यो । हाल बन्द रहेको खोप पुनः यस वर्षबाट देशैभर सञ्चालन हुने भएको छ । विश्व स्वास्थ्य संगठनले लामो अनुसन्धानपछि आइपिभीलाई एफआइपिभीका रूपमा दिन सक्ने परिणाम निकाले सँगै सरकारले उक्त खोप चलाउन लागेको हो ।

२०७५ साउन १३ गते प्रकाशित