समाचारमा बालबालिका

लागुऔषध र बालविवाह रोक्न प्रहरी अभियान

लागुऔषध र बालविवाह रोक्ने जिल्ला प्रहरी कार्यालय लमजुङले विद्यालय तहमा अध्ययनरत बालबालिकालाई प्रयोग गरी अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सचेत गराई उनीहरूमार्फत बस्तीमा लागुऔषध र बालविवाहविरुद्ध सूचना प्रवाह गरिरहेको छ । यही क्रममा प्रहरीले आइतबार बेसीसहर नगरपालिका–११ चितीस्थित जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीलाई सचेतना दिएको छ । लागुऔषध र बालविवाहबारे विद्यार्थीलाई सुसूचित गराउन सचेतनामूलक कार्यक्रम आयोजना गरेको जनकल्याण मावि चितीका विद्यालय व्यावस्थापन समिति अध्यक्ष शिव जोशीले बताए ।

उनले भने, ‘विद्यार्थीमा चेतना अभावले १६ वर्ष नपुग्दै विवाह गर्नेको संख्यामा वृद्धि भएको देखियो ।’ विद्यालयलाई लागुऔषध र बालविवाहमुक्त बनाउन विद्यालयले सचेतनामूलक कार्यक्रम गरेको जोशीले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले लागुऔषधको परिचय, लागुऔषध प्रयोगको असर, लागुऔषधले समाजमा पार्ने नकारात्मक प्रभाव, बालविवाह, बालविवाहले समाजमा निम्त्याउने समस्या र ऐन–कानुनका बारेमा जानकारी गराएका थिए । उनले लागुऔषध सेवनले समाजमा ठूलो विकृति फैलिँदै गएको उल्लेख गर्दै नियन्त्रणका लागि प्रत्येक परिवारमा सचेतना आवश्यक रहेको बताए । उनले दुव्र्यसनमुक्त समाज निर्माणका लागि लागुऔषध सेवनबाट हुने असरका विषयमा विद्यार्थीलाई सानैदेखि सचेत गराउन आग्रह गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य फुलबहादुर थापाले समाजलाई दुव्र्यसनमुक्त नबनाएसम्म शान्त र सभ्य समाज निर्माण नहुने बताए । लागुऔषधबारे सचेतनाका लागि सरकारले यस विषयको पाठ्यक्रम नै लागू गर्नुपर्ने उनको जोड छ ।

२०७४ माघ ११ गते प्रकाशित