समाचारमा बालबालिका

बालयौन दुराचारीलाई कतिन्जेल स्वर्ग ?

पश्चिमा नागरिकबाट नेपाली बालबालिकामाथि भइरहेको यौन दुराचारबारे जुन तथ्य र प्रवृत्ति उजागर भएको छ, त्यो अत्यन्त डरलाग्दो छ । बालहितका लागि खुलेका भनिएका बालगृहमै बालबालिकाले उचित रेखदेख, शिक्षादीक्षा र पालनपोषण नपाइरहेको स्थितिमा त्यसकै लागि सघाउने बहानामा आएका कतिपय विदेशीमा यौन शोषणको उद्देश्य भेटिनु चिन्ताको विषय हो । यस्ता गतिविधिप्रति बेलैमा नेपाली अभिभावक र समाज मात्र होइन, बालगृह, बालबालिकाका लागि काम गर्ने संघसंस्था, प्रहरी, न्यायिक निकायलगायत पूरै राज्य गम्भीर बन्नुपर्ने देखिन्छ । बालबालिकालाई सहयोग गर्ने उद्देश्य देखाउँदै आएका कति विदेशीको अन्तर्य अर्कै हुन्छ । प्रहरीका अनुसार ०७५ सालमा मात्रै ६ विदेशी र एक नेपाली बालयौन दुराचारको आरोपमा पक्राउ परे । उनीहरूबाट पीडित २५ बालकलाई मनोसामाजिक परामर्श दिएर पुनःस्थापना गरियो । यहाँको अपराध अनुसन्धान र न्यायिक प्रणाली कमजोर भएको फाइदा उठाउन यस्ता दुराचारीहरूले नेपाललाई गन्तव्य बनाएको भेटिन्छ । सूचना र प्रविधिमा कमजोर अनुसन्धान अधिकारीहरू र केही भइहालेमा पैसाकै बलमा सबथोक गर्न सकिन्छ भन्ने बुझाइले पनि उनीहरूको मनोबल बढाएको पाइन्छ । केही विदेशी त आफ्नै मुलुकमा पनि यस्तै अभियोग खेपेर पनि यता आएको भेटिएको छ । दाता बनेर आएका र देखावटी रूपमै भए पनि बालबालिकालाई मायालु व्यवहार गर्ने उनीहरू यस्तो गतिविधिमा संलग्न भएको भेउ समाजले सजिलै पाउँदैन । कतिपयले उनीहरू दुराचारमा संलग्न भएको पत्याउँदैनन् पनि । खासमा, बालबालिकाप्रति गरिने अनुराग र स्नेह कस्तो हुन्छ, माया र दुर्व्यवहारबीचको भेद कसरी छुट्टिन्छ र प्रेमका नाममा यौनआनन्द लिन बच्चाहरूलाई अप्राकृतिक यौन गतिविधिमा कसरी संलग्न गराइन्छ भन्नेबारे नेपाली समाज पूर्ण सचेत देखिँदैन । यस्ता गतिविधिमा अक्सर ५० वर्षमाथिका धनाढ्य, शिक्षित पश्चिमाहरू संलग्न देखिन्छन् । पश्चिमासँग सजिलै घुलमिल हुने सामाजिक वातावरण र उनीहरूसित आफ्ना बालबालिकाको उठबसलाई सामान्य रूपमा लिने अभिभावकको सोचका कारण पनि बालयौन दुराचारीलाई बल मिलेको छ ।

कति बालयौन दुराचारी नेपालका अव्यवस्थित र नियमनबाहिर रहेर सञ्चालित बालगृहमा दाता वा स्वयंसेवकको भेषमा छिरेका छन् । कति भने खानेकुरा, पोसाक र केही रुपैयाँ दिएर सडक बालबालिकाप्रति लक्षित छन् । केही काठमाडौं वरपरका गाउँ छिर्ने, पारिवारिक साइनो गाँस्ने, केही सहयोग गरेजस्तो गर्ने अनि यौनकुण्ठा मेटाउन दुराचार गर्न तम्सिने गरेका भेटिन्छन् । दुःखलाग्दो पक्ष, बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी निकायहरू यसबारे बेखबरझैं छन् ।यसलाई रोक्न प्रयास गरिरहेका केही गैरसरकारी संस्थाबीच पनि अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । सरकारी सहकार्यको खाँचो त टड्कारै छ । बालयौन दुराचारीहरूका गतिविधि निगरानी गर्ने, यसविरुद्ध सामाजिक जनचेतना जगाउने काम हुन सकेको छैन । पश्चिमा बालयौन दुराचारीहरू सूचना प्रविधिमा दक्ष छन् । उनीहरू आफूले बालयौन दुराचार गर्न सफल भएको सूचना गोप्य रूपमा आफ्नो समूहका सदस्यहरूलाई बाँड्ने गर्छन् । ‘डार्क नेट’ जस्ता डिजिटल प्लेटफर्ममार्फत उनीहरूले कुन देशमा सजिलै बालबालिकालाई फसाउन सम्भव छ, त्यसनिम्ति के–के गर्न सकिन्छ भन्नेसम्मका सूचना आदानप्रदान गर्छन् । सूचना र प्रविधिमा कमजोर नेपालको प्रहरी संयन्त्रले गोप्य रूपमा आदानप्रदान हुने यस्ता डिजिटल प्लेटफर्महरूमा निगरानी राख्न सकेको देखिँदैन । पहिलो विश्वका प्रहरीहरू भने अनौपचारिक सञ्जाल बनाएर बालयौन दुराचारीवरुद्ध लडिरहेका छन् । उनीहरूले सम्भावित दुराचारीको यात्रा विवरणरसूचना आदानप्रदान गर्दै बलियो अनुसन्धान गरिरहेका छन् । नेपाल प्रहरीले इन्टरपोलमार्फत यस्ता व्यक्तिको सूचना त पाउने गरेको छ, तर त्यो मात्रै पर्याप्त देखिँदैन । दुराचारीहरूले कमजोर अध्यागमन प्रणालीको फाइदा उठाउन नसकुन् भन्नेतर्फ उचित ध्यान दिएको पाइँदैन । नेपाल प्रहरीले यिनीहरूमाथि एकपछि अर्को कारबाही त गरेको देखिन्छ तर विशिष्ट प्रकृतिको यस्तो अनुसन्धानका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गरिरहेको छैन । बालयौन दुराचारसम्बन्धी अनुसन्धान र अभियोजन विशिष्ट प्रकृतिको हुन्छ भन्नेबारे समेत हामीकहाँ बहस चलेको छैन । सन् १९९२ मा थाइल्यान्डमा बालयौन दुराचारको कानुन बनेपछि त्यहाँ बालबालिकामाथि हुने हिंसाका घटनामा कडाइ गर्न थालियो । त्यसपछि पश्चिमा बालयौन दुराचारीहरूले नेपालजस्ता देशहरूमा आँखा लगाउन थालेका हुन् । तसर्थ नेपालले पनि कडाइका उपाय अपनाउन ढिलाइ गर्न हुँदैन । दाताका रूपमा छिर्ने दुष्टहरूबाट नेपाली बालबालिकालाई जोगाउन सरकारले बलियो प्रणाली निर्माणमा जोड दिनुपर्छ । प्रहरीमा उच्च प्रविधियुक्त साइबर क्राइम युनिट स्थापना गर्नुपर्छ, अनुसन्धानकर्मीलाई दक्ष बनाउनुपर्छ । बालबालिकासम्बन्धी ऐन ०७५ र फौजदारी आचारसंहितामा भएको बालयौन दुराचारसम्बन्धी व्याख्यालाई अझ स्पष्ट गर्नुपर्छ । अभियोजन प्रणाली प्रभावकारी बनाउनुपर्छ । पर्यटक भ्रमण वर्षको तयारी जोडतोडले चलिरहेका बेला पर्यटकको भेषमा पनि बालयौन दुराचारी छिर्न सक्छन् भन्नेबारे सरकार सचेत बन्नुपर्छ । यसका लागि, बालबालिकाको हित हेर्छौं भन्नेहरूको पृष्ठभूमि जाँच्ने परिपाटी बसाल्नुपर्छ । नेपाली बालबालिका जोखिममा छन् भन्ने तथ्यप्रति सम्बन्धित सबै पक्ष गम्भीर बन्ने हो भने समस्या न्यूनीकरण गर्न असम्भव छैन ।

२०७६ मङ्सिर १ गते ८:४७ मा प्रकाशित