समाचारमा बालबालिका

विदेशी ‘हाई प्रोफाइल’ नै बालयौन दुराचारी

दुई दर्जनभन्दा धेरै नेपाली बालकमाथि यौन दुराचार गरेको अभियोगमा क्यानडा प्रहरीले युरोपियन युनियनका पूर्वकर्मचारी पाउल म्याकार्थीलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको उजुरीका आधारमा क्यानडा प्रहरीले दुई महिनाअघि उनलाई नियन्त्रण लिएको थियो। प्रहरीका अनुसार अनुसन्धानपछि उनले नेपालमा रहँदा नेपाली बालकहरूमाथि यौन दुराचार गरेको गोप्य भिडियो र फोटो फेला पारेको थियो। पाउल नेपालमा युरोपियन युनियनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कन्सल्ट्यान्टका रूपमा कार्यरत थिए। नेपाल रहँदा उनले बौद्धमा दुई दर्जनभन्दा धेरै बालबालिकालाई ललाईफकाई डेरामा लगेर गोप्य भिडियो बनाएर देखाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। त्यस्तै युएन ह्याबिटेन्टमा अफगानिस्तानको कन्ट्री प्रतिनिधि र वल्र्ड हेल्थ अर्गनाइजेसनमा सिनियर अर्बन एडभाइजर पिटर डाल्गिस काभ्रेको मन्डन देउराली नगरपालिका–१ मा दुई बालकलाई यौनदुराचार गरेको अभियोगमा पक्राउ परेका व्यक्ति हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले २०७४ चैत २५ गते पिटरले बालकहरूलाई पढाइदिने, विदेश घुमाइदिने, ठूलो भएपछि जागिर लगाइदिनेजस्ता प्रलोभनमा पारी समाजसेवीको आवरणमा यौन शोषण गरेको अभियोग लागेको छ। युद्धपीडित बालबालिका, कामदार, सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका र तीनवटा मानार्थ विद्यावारिधि प्राप्त गरेका उनी स्ट्रिट किड्स इन्टरनेसनलको संस्थापकसमेत हुन्।

यी दुई बालयौन दुराचारी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्थाका पूर्वकर्मचारी हुन्। तिनले नेपालमा रहेका अबोध बालकलाई ललाइफकाइ गरेर आफ्नो कुत्सित यौन मनोकांक्षा पूरा गरेका केही प्रतिनिधिमूलक घटना हुन्। पछिल्लो समय नेपालमा यौन दुराचारका घटनामा विदेशी हाई प्रोफाइल कर्मचारीकै संलग्नतामा हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। समाजसेवी र पर्यटकको आवरणमा आउने विदेशीले अहिले आर्थिक अवस्था कमजोर भएका बालकलाई छानेर आफ्नो कुण्ठित यौनमनोकांक्षा पूर्तिकै लागि प्रयोग गर्ने सिआइबीको अनुसन्धानले देखाएको छ। नेपालमा यौन दुराचारीका लागि स्वर्गजस्तै भएको सिआइबीका एक पूर्वअधिकारी बताउँछन्। ‘बालयौनदुराचारीका लागि नेपाल स्वर्गजस्तै भएको छ,’ उनले भने, ‘यौन दुराचारी पटक–पटक नेपाल आएर बालकमाथि दुराचार गर्दा समेत त्यसबारे प्रहरीले भेउ नै पाउँदैन।’ उनका अनुसार बेलायत, फ्रान्स, क्यानडालगायत मुलुकका यौनदुराचारी पटक–पटक नेपाल आउने गरेका छन्। ‘यहाँ विदेशी भन्नेबित्तिकै अभिभावकले सहजै आफ्ना छोराछोरीलाई सुपिन्छन्। जसका कारण नाबालकहरू यौन दुराचारजस्तो जघन्य अपराधको सिकार भइरहेका छन्,’ उनले भने, ‘विदेशीले विभिन्न लोभलालच देखाएर आफ्नो इच्छा पूरा गर्ने गर्छन्। हाम्रो समाजमा यस्तो पनि हुन्छ भनेर कल्पनासमेत गर्दैनन्।’सन् २००० मा फ्रान्समा बालबालिकामाथि यौन शोषण गरेको अभियोगमा जर्ज इगोर सिमान्सकी पक्राउ गरेर कारबाहीमा परेका थिए। सिआइबीले सिमान्सलाई गत चैत २८ गते ठमेलबाट एक बालकलाई यौन दुराचार गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका थिए। फ्रान्समा दुराचारीको अभियोगमा कारबाही भोगेका जर्ज नेपालमा टुरिस्ट भिसामा सातपटकसम्म नेपाल भित्रिएको सिआइबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जसबाट पुष्टि हुन्छ कि यौन दुराचारी पर्यटक र समाजसेवीकै आवरणमा नेपाली बालकमाथि यौन दुराचार गर्नकै लागि आउने गरेको देखिन्छ।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी नेपाल यौनदुराचारीका लागि स्वर्गजस्तै नभएको बताउँछन्। ‘यौनदुराचारी गर्ने अभियुक्तलाई धमाधम पक्राउ गरेका छौं,’ उनले भने, ‘पछिल्लो समय विदेशी र नेपाली दुवै बालयौन दुराचारका गतिविधिमा संलग्नता भेटिएको छ।’ केन्द्रीय बालकल्याण समितिका निर्देशक केशव भट्टराईले पर्यटक र समाजसेवीको आवरणमा विदेशी पर्यटकले लुकीछिपी ढंगले बालयौनदुराचार गर्दै आएको बताए। ‘पर्यटक र समाजसेवीको आवरणमा बालकमाथि गुपचुप रूपमा यौनदुराचार गर्दै आइरहेका छन्,’ उनले भने, ‘सरकार तथा अन्य निकायको पर्याप्त पहुँच नपुगेकाले नै त्यस्ता गतिविधि भएका हुन्।’ उनका अनुसार बालबालिकालाई अपरिचित विदेशीसँग घुलमिल हुन र सामीप्य बढाउन दिनुहुँदैन। उनका अनुसार विदेशी पर्यटकको प्रोफाइल अध्ययन गरेर मात्रै भिसा दिनुपर्ने बताउँछन्। प्रहरी प्रधान कार्यालयका अनुसार आव २०७१/७२ मा देशभर अप्राकृतिक मैथुनका २२ वटा मुद्दा दर्ता भएका थिए। आव २०७२/७३ मा २१ र २०७३/७४ मा २० वटा अप्राकृतिक मैथुनका मुद्दा दर्ता भएका थिए। आव २०७४/७५ मा अप्राकृतिक मैथुनका मुद्दा बढेर २४ पुगेको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले इन्टरपोलमा सूचीकृत अपराधीलाई उच्च निगरानीमा राख्दै आएको बताए। ‘इन्टरपोलमा सूचीकृत नभएका अभियुक्तबारे जानकारी पाउन सकिँदैन,’ उनले भने, ‘शंका लागेका विदेशीहरूलाई उच्च निगरानीमा राखेर अनुसन्धान गर्दै आइरहेका छौं।’ उनका अनुसार इन्टरपोलमा सूचीकृत नभएकाहरूबारे थाहा पाउन गाह्रो हुने देखिन्छ। केन्द्रीय बालकल्याण समितिका निर्देशक भट्टराई परिवार, समाज तथा राष्ट्रले नै बालयौन दुराचारविरुद्ध सचेतनामूलक कार्यक्रम गर्नु आवश्यक भएको बताउँछन्। प्रहरी प्रवक्ता सुवेदीका अनुसार विदेशी यौनदुराचारीले आर्थिक अवस्था विपन्न भएका परिवारका सदस्य र सडक बालकलाई मुख्य सिकार बनाउने गर्छन्। ‘अरू देशको तुलनामा नेपालमा आउन सहज र सस्तो छ,’ उनले भने, ‘यहाँ विदेशी भन्नेबित्तिकै बालबालिका हुरुक्कै हुन्छन्। त्यसैले यौन दुराचारीको नजर नेपालमा परेको हो। नेपाल प्रहरीले नेपालका पर्यटकीय स्थलमा उच्च सर्तकता अपनाएको जनाएको छ।

२०७६ बैशाख २२ गते ८:०० मा प्रकाशित