समाचारमा बालबालिका

यौन दुराचार गर्ने पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दुराचारको अभियोगमा ६३ वर्षीय जर्मन नागरिक योगेन भन्ने हान्स जर्गन गुस्ताभ धामलाई पक्राउ गरेको छ । भोटेबहालमा फ्ल्याट भाडामा लिएर बस्ने योगेन विभिन्न बालगृहमा आश्रित बालबालिकालाई निस्शुल्क खानपानको व्यवस्थामा संग्लन भएर नजिकको सम्बन्ध बनाइरहेका थिए । ब्युरोका अनुसार पछिल्ला केही वर्षदेखि योगेन बारम्बार नेपाल आउनेरजाने गरेका देखिन्छन् । उनको फ्ल्याटमा विभिन्न बालगृहबाट बालबालिका आउने, खाना खाने, नुहाउने र कोही त रात नै बिताएर फर्किने गरेको देखिन्छ । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार त्यसरी आउने बालबालिकासँग योगेनले अनैतिक यौन क्रियाकलाप गर्थे । प्रहरीले योगेनको फ्ल्याटमा रहेका दुई बालकको उद्धारसमेत गरेको छ । पक्राउ परेका योगेनविरुद्ध प्रहरीले बाल यौन दुराचारका कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान अघि बढाएको छ । ब्युरोको प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार योगेनको गतिविधि र उद्देश्यबारे थप अनुसन्धान भइरहेको छ ।

बाल यौन दुराचारी अर्थात् पेडोफिलहरूले नेपाललाई गन्तव्य बनाउने गरेको यो पहिले घटना भने होइन । खासगरी युरोप र अमेरिकाबाट आउने उनीहरू नेपालमा पर्यटकको भेषमा घुम्छन् । बालबालिकाहरूसँग अनेकन तरिका अपनाएर नजिकिन्छन् र उनीहरूलाई अनुचित यौन क्रियाकलापमा सामेल गराउँछन् । गत असार १६ मा पनि ब्युरोले बाल यौन दुराचारको आरोपमा ठमेलको ज्याठाबाटै ६३ वर्षीय जर्मन नागरिक अल्बर्ट फ्रेड क्लिनिस्केलाई पक्राउ गरेको थियो । लामो समयदेखि होटलमा बस्दै आएका अल्बर्टले बालबालिकालाई खानेकुराको लोभमा आफ्नो कोठासम्म ल्याउँथे र यौनजन्य गतिविधिमा सामेल गराउँथे । गत कात्तिक २४ मा पनि ब्युरोले कोटेश्वरस्थित एक होटलको कोठाबाट नेदरल्यान्डका ७५ वर्षीय हेनेरियस एड्रियनसलाई पक्राउ गरेको थियो । उनको कोठाबाट प्रहरीले एक बालकलाई पनि उद्धार गरेको थियो । प्रहरीका अनुसार हेनेरियसले बालबालिकालाई खानेकुराको लोभमा कोठासम्म ल्याउँथे र अनुचित यौन क्रियाकलापमा संलग्न गराउँथे । प्रहरीले पक्राउ गरेका धेरैजसो पेडोफिल भने उमेरले ६० वरिपरिका देखिन्छन् । उनीहरू बच्चालाई माया गरेजस्तो गर्छन्, फकाउँछन् र यौनजन्य गतिविधिमा सामेल गराउँछन् ।

२०७४ माघ १ गते ७:४९ मा प्रकाशित