समाचारमा बालबालिका

बालिकालाई उपचारका लागि काठमाडौं

बलात्कारमा परेकी पटेर्वासुगौली गाउँपालिका ५ निचुटा टोलकी १० वर्षीया बालिकालाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । लैनचौरस्थित रक्षा नेपालले थप उपचारका लागि लग्न थालेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी राजन लिम्बूले बालिकालाई लिन संस्थाका प्रतिनिधि शनिबार वीरगन्ज आइपुगेको बताए । उनले आवश्यक कागजी प्रक्रिया पूरा गरी बालिकालाई संस्थाको जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिए । चिकित्सकले बालिकालाई प्रभावकारी उपचार आवश्यक भएको बताएका छन् । बुधबार साँझ करिब ४ बजे खेतबाट घाँस काटेर ६ वर्षीया बहिनीसँगै घर फर्किरहेकी ती बालिकालाई पोखरिया नगरपालिका–४ का २० वर्षीय सुनील साह तुराहाले जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । अभिभावकले बालिकालाई विक्षिप्त अवस्थामा उखु बारीमा फेला पारेका थिए । उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएकी ती बालिकाको योनिबाट अत्यधिक रक्तश्राव भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका स्त्रीरोग विभाग प्रमुख डा।सुरेन्द्र चौधरीको टोलीले करिब ४५ मिनेट समय लगाएर योनिको शल्यक्रिया गरेको थियो । प्रहरीले घटनामा संलग्नताको आशंकामा पोखरिया ५ का ३५ वर्षीय मनोज साह तुराहालाई पनि पक्राउ गरेको छ । सुनीलको अपराधमा संलग्नता यकिन भइसकेको र मनोजको हकमा अनुसन्धान भइरहेको डीएसपी लिम्बूले बताए ।

 २०७४ फागुन २० गते ६:५९ मा प्रकाशित