समाचारमा बालबालिका

प्याड नहुँदा पढाइ छुट्छ

१४ वर्षकी सविता सुनार चितवनको दिवानगर माडीस्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा पाँच कक्षामा पढ्छिन् । अघिल्लो महिना उनी कक्षाकोठामै छँदा महिनावारी भइन् । उनको पोसाकमा रगत देखेपछि शिक्षिकाले खुसुक्क बोलाइन् र घर जान भनिन् । करिब २० मिनेटको बाटो हिँडेर जान गाह्रो मानेपछि उनै शिक्षिकाले घरसम्म पुर्‍याइदिइन् । विद्यालयमा सेनिटरी प्याडको व्यवस्था नहुँदा महिनावारीका बेला उनीजस्ता किशोरी समस्यामा पर्ने गरेका छन् । सामुदायिक विद्यालयका प्राथमिक तहका छात्रालाई निस्शुल्क सेनिटरी प्याड वितरण गर्ने कार्यक्रम प्राथमिकता छैन । सविता दुई महिनाअघि पहिलोपटक महिनावारी भएकी हुन् । त्यसबेला स्कुल बिदा थियो । उनी खाना खाएर घर नजिकै साथीको घरमा खेलिरहेकी थिइन् । अचानक आफ्नो खुट्टामा रगत बगेको देखिन् । कतै घाउचोट नदेखेपछि दौडिँदै आमालाई भन्न पुगिन् । आमाले उनलाई ‘पर सरेको’ भन्दै अलग्गै रहन भनिन् । र, कोठाबाट पुरानो कपडा च्यातेर राख्न सिकाइन् । साँझ परेपछि फुपूको घर जाने भन्दै बुवा र भाइले नदेख्ने गरी लुकेर बस्न अह्राइन् । झमक्क साँझ परेपछि आमासँग फुपूको घरतर्फ लागिन् । चार दिन फुपूकहाँ बस्दा उनी विद्यालयमा गयल हुनुपर्‍यो । सवितासँगै पढ्ने सहारा कुमाल पनि यसै महिना पहिलोपटक महिनावारी भइन् । सविताले नै उनलाई कपडाको प्याड प्रयोग गर्न सिकाइन् । उनीहरूले महिनावारी भएको कुरा साथीलाई भनेका छैनन् । ‘सबै साथी हामीभन्दा साना छन्,’ सहाराले भनिन्, ‘केटाहरूले थाहा पाए भने त झन् जिस्क्याउँछन् ।’उक्त विद्यालयमा अधिकांश सीमान्तकृत, दलित र जनजाति समुदायका बालबालिका अध्ययन गर्छन् । उनीहरूले घरमा भाइबहिनीको हेरचाहका साथै र आमाबुवालाई काममा सघाउनुपर्छ । यसको असर पढाइमा पर्छ, धेरैजसो फेल हुन्छन् । यही कारण उमेर बढी भए पनि प्राथमिक तहमा पढ्ने विद्यार्थीको संख्या निकै छ । विद्यालयमा पाँच कक्षामा पढ्ने चार छात्रा महिनावारी भइसकेको शिक्षिका टीकाकुमारी खत्रीले बताइन् । ‘विद्यालयमा सेनिटरी प्याडको अवधारणा पनि छैन, हामीले पनि त्यसबारे कुरा उठाएका छैनौं,’ उनले भनिन्, ‘बीचमै छुट्टी लिएर जाने र तीन–चार दिन गयल हुने गरेका छन् । प्याड अभावमा कतिपयको पढाइ छुटिरहेको छ ।’ सेनिटरी प्याडको व्यवस्था गर्नुपर्ने आवश्यकताबारे प्रधानाध्यापक नै अनभिज्ञ देखिए । ‘हाम्रा विद्यार्थी पनि महिनावारी भएका छन् भन्ने जानकारी शिक्षिकाबाट आएको छैन,’ प्रधानाध्यापक प्रेमकुमार काफ्लेले भने, ‘के आधारमा माग्नु ? माडी नगरपालिकाले अर्को प्राथमिक विद्यालयमा भने निस्शुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने भएको छ । राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय अयोध्यापुरीकी शिक्षिकाले आफ्ना विद्यार्थीका लागि प्याडको व्यवस्था गर्नुपर्ने माग राखेपछि पहल गरिएको माडी नगरप्रमुख ठाकुरप्रसाद ढकालले बताए ।

२०७६ मङ्सिर२९ गते १२:१० मा प्रकाशित