समाचारमा बालबालिका

बुवाआमाको मृत्युपछि तीन बालकको बिचल्ली

मोरङको सुनवर्षी नगरपालिका–७ कुडेलीका १५ वर्षीय दीपक राजवंशी आठ कक्षामा पढ्दै गर्दा पढाइ छाडे । उनी १० वर्षको हुँदा बुवा फगुलाल गुमाए । गत साउनमा आमा सन्तोषी पनि गुमाएपछि दीपक दुईजना भाई ९ वर्षीय राजीव र ५ वर्षीय रोशनको अभिभावक बन्न पुगे । फगुलाल र सन्तोषी दुवैको सेतो लामखुट्टेको टोकाइबाट मृत्यु भएको स्थानीयको भनाइ छ । २०७० साल चैत ३० गते सेतो लामखुट्टेको टोकाईबाट फगुलालको मृत्यु भयो । सेतो लामखुट्टेले टोकेको थाहा भए पनि आर्थिक अभावले उपचार गराउन नसक्दा उनको मृत्यु भएको छिमेकी गणेशप्रसाद राजवंशीले बताए । कान्छो छोरो रोशन फगुलालको मृत्यु हुँदा गर्भमै थिए । १५ वर्षको उमेरमा दुई भाईको अभिभावक बन्नु परेपछि दीपकको पढाई बीचमै छुटेको हो । बुवाको मृत्युपछि दीपक आमासंग काममा जान्थे । काम गर्दै पढ्दै गरेका उनले भाई हुर्काउन आमालाई सहयोग गर्दै आएका थिए । आमाको पनि साउन २५ गते सेतो लामखुट्टेकै टोकाइबाट मृत्यु भएपछि टुहुरोमात्रै भएनन् दुई भाईलाई हुर्काउने र परिवार चलाउने दायित्व पनि उनकै काँधमा आइपरेको हो । ‘बावुको मृत्यु भएपछि आमालाई सहयोग गर्दै आएका दीपकको जसोतसो दैनिकी चल्दै थियो’, छिमेकी गणेशप्रसादले भने, ‘आमाको पनि मृत्यु भएपछि उनलाई ठूलै समस्या आइपरेको छ ।

पतिको मृत्युपछि गाउँ घरमा काम गरेर तीन सन्तानको लालनपाल गर्दै आएकी सन्तोषीलाई सेतो लामखुट्टेले टोकेकाले अस्पताल ल्याउन पनि नपाई मृत्यु भएको हो । गाउँलेले चन्दा उठाएर उनको काजकिरिया गरिएको थियो । आफूले पढ्न नपाए पनि भाईहरुलाई पढाउने उनको इच्छा छ । फगुलाल र सन्तोषीको मृत्युपछि फूपु सरसादेवी राजवंशी तथा मावलकी ७० वर्षीय हजुरआमा कृष्णवति मिलेर दीपक र उनका भाईहरुको हेरचाह गर्दै आएका थिए । पुसमा फूपु पनि वितेपछि तीन जनाको झनै विचल्ली भएको छ । ‘बुवाआमाको मृत्युपछि हेरचाह गर्दै आएकी फूपुको पनि केही दिनअघि मृत्यु भएपछि तीनैजनाको कन्तविजोग भएको छ’, छिमेकी गणेशप्रसादले भने । उनका अनुसार फूपुको यसैसाता काजकिरिया सकिएको हो । ७० वर्षीय हजुरआमाले तीनजना नाबालक नाती हुर्काउन सक्ने स्थिती छैन । ‘आमाको मृत्युपछि फूपुले बनिबुतो गरेर ल्याउने र हजुरआमाले रेखदेख गर्ने गर्थिन’, छिमेकी गणेशले भने, ‘फूपु बितेपछि र हजुरआमाले नसकेपछि उनीहरुलाई विहान बेलुका हातमुख जोर्न पनि समस्या भएको छ ।’ दिनभर सामान्य काम गरेर कमाएको थोरै पैसाले दीपकले आफू, हजुरआमा र भाईहरुलाई खानेकुराको जोहो गर्छन् । दीपकले राजमिस्त्रीकोमा काम गर्न जाने गरेको सुनाए । ‘भाईहरु भोक लाग्यो भन्दै रुन्छन्’, दीपकले भने, ‘बुवाआमा र फूपु वितेपछि पेटभरी खानेकुरा खुवाउन पनि सकेको छैन ।’ दीपक काममा जाँदा भाईहरुलाई केही होला कि भन्ने चिन्ता पनि त्यतिकै हुन्छ ।हजुरआमा कृष्णवतिले भक्कानिँदै पीडा सुनाइन् । ‘साना नातीहरु आमा खोज्दै रातदिन रुन्छन् । हरेक रात आमाको खोजी गर्दा मन चसक्क हुन्छ’, उनले भनिन्, ‘जसोतसो फकाउँदै सुताउनु पर्छ ।’ नातीहरुले राति निद्रामा समेत आमा खै भन्दै रुने गरेको उनले सुनाइन् । उनीहरुको नाममा जग्गा जमिन पनि छैन । ‘फूपुको थोरै जग्गामा फगुलाल बनाएको सानो झुप्रो छ । त्यही झुप्रोमा फुपुले रेखदेख गर्दै आएकी थिइन् । फूपु पनि वितेपछि नातीहरुले पेटभरी खान पाएका छैनन्’, वृद्धा हजुरआमाले दुखेसो पोखिन् । छिमेकी गणेशका अनुसार उनीहरुलाई स्थानीय बासिन्दाले खाने कुरा दिएर सहयोग गरिरहेका छन् । माघको चिसोमा अन्न, ओढ्ने ओछ्याउने केही छैन’, गणेशले भने, ‘आङ्भरी लगाउने कपडा नहुँदा चिसोले सिउसिउ गर्दै काप्छन् । यस्तो कन्तविजोग त कसैको देखेको थिइनँ ।’ लामखुट्टेले टोकेर आमा सन्तोषी बिरामी भएपछि उपचार गर्दा दीपकले गणेशसँगै २० हजार रुपैयाँ ऋण लिएका थिए । उपचार गर्न नपाउँदै आमाको मृत्यु भएपछि त्यो पैसा अन्य काममा खर्च भयो । उनलाई ऋणको बोझ पनि थपिएको छ । भाइको शरीरमा घाउ खटिराले ढाकेको छ । उपचार गर्न पाएको छैन’, दीपकले भने । बुवाआमा गुमाए पनि आडभरोसा दिंदै आएकी फूपुको समेत निधनले भएपछि आफूहरुलाई झन् समस्या भएको उनको दुखेसो छ । आमाको मृत्युपछि राजीव र रोशनले समेत स्कुल जान छाडेका छन् । भाईहरुलाई कम्तिमा १० कक्षासम्म पढाउने रहर छ’, दीपकले भने, ‘विहान बेलुका खानै नभएको अवस्थामा कसरी स्कुल पठाउनु ?

२०७५ माघ ११ गते ६:५० मा प्रकाशित