समाचारमा बालबालिका

विद्यालयमा अर्गानिक खेती

झापा मेचीनगर १४ दुवागढीको बाल सुबोधिनी आधारभूत विद्यालयकी छात्रा निशा भुजेल विहान १० बजेअघि नै स्कुल पुग्छिन् । एउटा हातमा किताव र अर्को हातमा गाईको गोबर उनको दैनिकी बनेको छ । गोबर बोकेर स्कुल गएको देख्नेहरू अचम्म मानेर सोध्छन् । निशाको जवाफ हुन्छ, ‘स्कुलमा अर्गानिक तरकारी खेती गरेका छौं, त्यसैका लागि हो । कक्षा ८ पढ्ने निशा जस्तै ५० छात्र, छात्रा यसरी नै कितावसँगै गोवर बोकर जान्छन् । स्कुलमा उनीहरूले अर्गानिक कोपी खेती गरेका छन् । ‘स्कुल आउँदा गाईको मल बोकेर ल्याउँछौं र कोपीको फेदमा हाल्छौं’, निशाले भनिन् ,प्रत्येक विद्यार्थीले आफ्नो भागको दुई बोट स्याहार्नुपर्ने हुन्छ । कक्षा ८ को पाठ्यक्रममा तरकारी खेती भन्ने विषय छ । त्यही विषयको प्रयोगात्मकका लागि उनीहरूले स्कुलको हाताभित्रै अर्गार्निक कोपी खेती गरेका छन् । स्कुल आउने वित्तिकै मल हाल्छन् र गोडमेलमा व्यस्त हुन्छन् । त्यसपछि कक्षा कोठामा पस्छन् । प्रधानाध्यापक विश्व थापा यो विषय पढाउँछन् । उनी आफैं पनि विद्यार्थीहरूसँगै तरकारी गोडमेलमा सामेल बन्छन् । ‘विद्यार्थीलाई तरकारी खेती सिकाउन म आफैं गोडमेलमा भाग लिन्छु’, थापाले भने । उनका अनुसार स्कुलमाा गरिएको तरकारी खेतीले विद्यार्थीलाई प्रयोगात्मक अभ्यासमा जोड गर्दै अर्गानिक खेतीप्रति चेतना प्रवाह गरेको छ । अर्गानिक खेतीबारे सिकेका कुरा विद्यार्थीमार्फत अभिभावकसम्म पुर्‍याउने हाम्रो ध्येय हो’ प्रअ थापाले भने, सवै नानीहरूका अभिभावकले अर्गानिक खेती गर्नुपर्छ भन्ने बुझे भने हाम्रा लागि ठूलो उपलव्धि हो। रोपेको करिव तीन महिनामा तरकारी खानयोग्य बन्छ । तरकारी पाकेपछि विद्यार्थीले आफ्नो भागको तरकारी घरै लिएर जान्छन् । अनि अभिभावकलाई पकाएर चखाउँछन् । अभिभावक र विद्यार्थीले अर्गानिक तरकारीको स्वाद पनि चाख्न पाउँछन्’, प्रअ थापाले भने । बालसुबोधिनी स्कुल जिल्लाकै नमुना स्कुल हो । जिल्लाका अन्य आधारभूत स्कुललाई विद्यार्थी संकट छ । तर,यहाँ ३ सय ६० विद्यार्थी पढ्छन् । आदिवासी र जनजाति बाहुल्य क्षेत्र भएकाले ती समुदायकै विद्यार्थी ज्यादा छन् ।

२०७५ फागुन १५ गते ९:३३ मा प्रकाशित