कालिकोटमा एक वर्षीय बालकमा कोरोना पुष्टि
कालिकोटमा एक वर्षीय बालकसहित दुईजनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा एक वर्षीय बालक र अर्काे एकजनामा कोरोना पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतका अनुसार नरहरिनाथ गाउँपालिका– १ का एक वर्षीय बालक र खाँडाचक्र नगरपालिका– २ को पञ्चदेव माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
कालिकोटका हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६३ पुगेको सूचना अधिकारी महतले बताए ।
‘अहिलेसम्म १३ जना आइसोलेसनमा रहेका छन्,’ उनले भने, ‘५० जना निको भएर डिस्चार्ज हुनुभएको छ ।’
कालिकोटको सदरमुकाममा मान्ममा रहेको आइसोलेसनमा रहेका एकजना कोरोना निको भएर शुक्रबार डिस्चार्ज भएको सूचना अधिकारी महतले बताए ।