समाचारमा बालबालिका

एक विद्यालय, एक नर्स

प्रदेश ३ सरकारको सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयका विद्यार्थी शिक्षकहरूलाई स्वास्थ्य सेवा पुर्याकउने उद्देश्यले सञ्चालन गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ । सयौं विद्यार्थी र शिक्षक भएको स्कुलमा एउटा नर्ससम्म नहुँदा विद्यालय परिवारले विभिन्न किसिमका स्वास्थ्यका समस्याहरू भोग्नुपरेकाले पाइलट प्रोजेक्ट रूपमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेको हो । विगत साढे २ महिनादेखि लागू भएको ऊक्त कार्यत्रमबाट विद्यार्थी, शिक्षकलगायत विद्यालय परिवार प्रभावित छन् । विद्यार्थीहरू घरबाहेक बढी समय विद्यालयमा बिताउने तर स्कुल समयमा देखिएका स्वास्थ्य समस्याहरूको तत्कालै उपचार गर्न नसक्दा गम्भीर समस्या भोग्नुपरेको पीडालाई महसुस गरी ऊक्त कार्यत्रम सञ्चालन गरिएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक सतिश विष्टले बताए । यो कार्यक्रम सफल देखिएमा प्रदेश ३ का सबै माध्यमिक विद्यालयमा ऊक्त कार्यत्रम विस्तार गर्ने छौं,’ उनले भने । नर्स भएको विद्यालय परिवारले तत्कालै स्वास्थ्य सेवा पाउनुको साथै विद्यालयको सरसफाइमा सुधार आएको छ।

प्रदेश ३ का १३ जिल्लाका २० वटा माध्यमिक विद्यालयमा पहिलो पटक ऊक्त कार्यत्रम लागू गरिएको छ । मुलुकको इतिहासमा पहिलो पटक सामुदायिक विद्यालयमा यस्तो सेवा सञ्चालन गरिएको हो । मकवानपुरको २ वटा विद्यालयमा ऊक्त कार्यत्रम सञ्चालन गरिएको छ । मकवानपुरको सबैभन्दा बढी विद्यार्थी भएको हेटौंडा उपमहानगरपालिका ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र जिल्लाको पूर्वी क्षेत्रमा पर्ने महेन्द्र मावि छतिवनमा नर्स राखिएको छ । ‘स्कुलमा नर्स राखिएपछि विद्यार्थीहरूको खानपिन र सरसफाइमा सुधार आएको छ भने विद्यालय परिवारले सहज ढंगले स्कुलमा नै स्वास्थ्य उपचार पाएका छन्,आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरसिंह बैठाले भने, ‘एक विद्यालय : एक नर्स कार्यक्रम अत्यन्त प्रभावकारी भएको छ । उक्त विद्यालयमा साढे २ महिनादेखि नर्स करुणा श्रेष्ठ कार्यरत छिन । शिक्षक अनुपस्थित रहेको अवस्था उनले उक्त कक्षामा गएर सरसफाइ, स्वास्थ्य, महिनावारी, प्रजनन स्वास्थ्य र खानपिनका बारेमा चेतनामूलक कक्षा लिने गरेकी छन् । एक हजार ९ सय ७८ विद्यार्थी र ५० जना शिक्षक रहेको उक्त विद्यालयमा दैनिक १० जनादेखि ३० जना विद्यार्थीहरू बिरामी हुने गर्छन् ‘बिरामी विद्यार्थीहरूलाई स्कुलमा नै उपचार गर्ने गरेका छौं,’ नर्स श्रेष्ठले भनिन्, ‘सामान्य रोगको उपचारका निम्ति आवश्यक पर्ने उपकरण र औषधि स्कुलमा नै छ । सामाजिक विकास मन्त्रालयले नर्स भएको विद्यालयमा एउटा बेड, उपकरण र औषधिहरू उपलब्ध गराएको छ । आधुनिक राष्ट्रिय माविमा मंगलबार पुग्दा ८ कक्षामा अध्ययन गर्ने एक छात्रा बेडमा बसेर उपचार गराइरहेकी थिइन् । पेट दुखेर उनी छटपटिएकी थिइन् । नर्सले कक्षाकोठाबाट ल्याएर उनलाई उपचार गरेकी हुन् । ‘विद्यालयमा नर्स राखेपछि धेरै कुरामा सुधार आएको छ,’ महेन्द्र माविका प्रअ नारायणप्रसाद चापागार्इंले भने, ‘सुरुमा स्कुलमा किन चाहियो नर्स, शिक्षक पो चाहिन्छ भने जस्तो लागेको थियो तर आवश्यक रहेछ । स्कुलमा नर्सको व्यवस्था भएपछि विद्यार्थीको सरसफाइमा सुधार आउनुको साथै स्कुल परिसरमा रहेको क्यान्टिनमा पाक्ने खानेकुरामा परिवर्तन आएको छ । विद्यार्थी र शिक्षकको खानेकुरामा परिवर्तन आएको छ । जंकफुड अहिले स्कुलमा छिर्न पाउँदैन,’ विद्यालयका एक शिक्षकले भने, ‘महिनावारी भएर समस्यामा परेका छात्राहरू नर्स राखेपछि नियमित स्कुलमा आउने गरेका छन् । नर्स नहुँदा महिनावारी भएको अवस्था अधिकांश छात्राहरू विद्यालयमा पढ्न आउने थिएनन् । अहिले नियमित ढंगले आउने गरेका छन् ।’ मन्त्रालयका अनुसार प्रदेश ३ का काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नुवाकोट र धादिङ जिल्लाका २ वटा विद्यालयमा र सिन्धुली, दोलखा, रसुवा, रामेछाप, काभ्रे तथा भक्तपुर जिल्लाका एक विद्यालयमा गरी २० जना नर्स खटाएको छ । सामाजिक विकास मन्त्रालयले सिन्धुपाल्चोकको कृष्णरत्न मावि, भीमेश्वर मावि, मकवानपुरको आधुनिक राष्ट्रिय मावि र महेन्द्र मावि छतिवनमा नर्स खटाएको छ भने ललितपुरको आदर्श सोल मावि र त्रिपद्म विश्राम मावि नर्सको व्यवस्था गरेको छ । यसैगरी काठमाडौंको जनसेवा मावि र पद्मकन्या मावि, चितवन नारायणी मावि र दुर्गाशेषकान्त माविमा नर्स राखिएका छन् । एक विद्यालय  एक नर्सअन्तर्गत धादिङको नीलकण्ठ मावि र बेनीघाट माविमा नर्स कार्यरत छन् । भक्तपुरको बागेश्वर मावि, सिन्धुलीको जनज्योति मावि, रसुवाको कालिका हिमालय मावि, रामेछापको मन्थली मावि र नुवाकोटको बिन्दुकेशर मावि र त्रिभुवन माविमा नर्सको व्यवस्था छ।

२०७५ फागुन १५ गते ८:४७ मा प्रकाशित