समाचारमा बालबालिका

सहयोगीकै भरमा विद्यालय

कालीमाटी गाउँपालिका ७, आम्बासमा रहेको मनकामना आधारभूत विद्यालय शिक्षकविहीन अवस्थामा छ । १ देखि ३ कक्षासम्म सञ्चालित विद्यालयमा २ शिक्षकको दरबन्दी रहे पनि शिक्षक नहुँदा कार्यालय सहयोगी र बालविकास केन्द्रकी सहयोगी कार्यकर्ताको भरमा विद्यालय चलिरहेको छ । केही समय अघिसम्म शिक्षक सुरशे गाहामगर रहे पनि शिक्षक सेवा आयोगबाट नाम निकालेर गएपछि विद्यालय शिक्षकविहीन हुन पुगेको हो । शिक्षक नभएका कारण बालबालिका पढ्नेभन्दा पनि दिनभरि खेलेर समय बिताउँछन् । शिक्षक नहुँदा विद्यार्थीको संख्या पनि घटदै गएको छ । १४ विद्यार्थी भर्ना भएकामा नियमित ६र७ जना मात्र आउँछन् । ‘शिक्षक नभएपछि विद्यार्थीले के पढुन्, दिनभरि खेलेर बस्छन्,’ सरुवा भएर गएका शिक्षक गाहामगरले भने, ‘सरोकारवालाले ध्यान नदिएपछि विद्यालयको बिजोग छ ।’ विद्यालयमा मनोरञ्जन तथा बालबालिकाको व्यक्तित्व विकासका लागि आवश्यक पर्ने पूर्वाधार अभाव पनि छ । सरुवा भएर गए पनि आफ्नै व्यक्तिगत खर्चमा १५ हजारको सामग्री किनेर दिएको गाहामगरले बताए । २०५८ मा स्थापना भए पनि बेवास्ताले विद्यालयको अवस्था नाजुक बन्दै गएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दधिराम रानाले जति गर्दा पनि सम्बन्धित निकायले चासो नदिने गरेको बताए । ‘कार्यालय सहयोगी र बालविकास केन्द्रकी सहयोगी कार्यकर्ता नभए बालबालिकाले पढ्न पाउँदैनन्, दिनभरि खेलेर घर फर्किन्छन्,’ उनले भने, ‘विद्यालयमा कम्तीमा १ शिक्षक भए पनि व्यवस्था गरियोस् भनेर गाउँपालिकादेखि सम्बन्धित निकायमा अनुरोध गर्‍यौं, तर सुनुवाइ भएन ।’विद्यालयकी कार्यालय सहयोगी रुपा रानाले बालबालिकालाई पढाउनेभन्दा पनि विद्यालयमा कसरी टिकाउने भन्ने चिन्ता लाग्ने गरेको बताइन् । कतिपय अभिभावक बालबालिकाको पढाइका लागि अन्यत्र बसाइसराइँ गरेर गएका समेत उनले बताइन् । ‘शिक्षक नभएपछि हामीले आफूले जानेको कुरा सिकाएर विद्यालयमा राख्छौं,’ उनले भनिन्, ‘सधैंभरि यस्तै गरी विद्यालय कसरी रहला?

२०७६ असार ९ गते १०:४४ मा प्रकाशित