त्रासले उखुबारी छेउबाट हिँड्न छाडे छात्रा
कक्षा ९ मा पढ्ने लक्ष्मी बडू काठको जीर्ण पुल तरेपछि उखुबारीछेउ खोलाकिनारको पक्की सडक भएर विद्यालय जान्थिन्। उनी कहिलेकाहीं भाइलाई पनि नकुरेर निर्धक्कसँग एक्लै पनि यही बाटो भएर विद्यालय जानेआउने गर्थिन्। विद्यालय जाने बाटो बदलेका उनी अचेल सो पुल तरेपछि बायाँतिर हुँदै घुमेर विद्यालय जान्छिन्। उखुबारीदेखि करिब ५० मिटर पछाडि उनको घर छ। ‘उखुबारीछेउ अघिबाट हिँड्दा अर्कैअर्कै लाग्छ। सँगै भाइ हुँदा पनि डर लागेजस्तो हुन्छ,’ लक्ष्मीले भनिन्, ‘निर्मलाको शव उखुवबारीमा भेटिएपछि डरले पहिला हिँड्ने बाटो छोडेर अर्कै बाटो भएर विद्यालय आउजाउ गर्छौं। यसैगरी, भीमदत्त नगरपालिका–२ कि कक्षा ९ मा पढ्ने जानकी भट्ट पनि उखुबारीछेउको सडक भएर बजार जान छाडेकी छन। पहिला निर्धक्कसँग बजार आउनेजाने बाटोमा हिँड्न अहिले डर लाग्ने उनी बताउँछिन्। ‘बजारमा ट्युसन पढ्न वा अन्य कामका लागि जानुपर्दा ओहोरदोहोर गर्ने यही उखुबारीछेउको बाटो हो,उनले भनिन्, ‘तर उखुबारीमा निर्मलाको शव फेला परेपछि डरले यो बाटो हिँड्न बन्द गरेका हौं।’ उनको घरबाट महेन्द्रनगर बजार करिब अढाइ किलोमिटर टाढा छ। ‘त्यो बाटो जान डर लाग्ने भएकाले पूर्व–पश्चिम राजमार्गमा पर्ने भासीबाट घुमेर महेन्द्रनगर बजार जानेआउने गरेका हौं, उनले भनिन्। पहिला अढाइ किलोमिटर हिँडेर महेन्द्रनगर बजार पुग्ने उनी अहिले पाँच किलोमिटर घुमाउरो बाटो भएर बजार पुग्छिन्। यस्तै, कक्षा ९ मा पढ्ने पूजा चन्द र गीता जोशीले पनि निर्मलाको हत्यापछि उखुबारीछेउको सडक भएर ओहोरदोहोर गर्न डर लाग्ने गरेको बताए। ‘हामी सँगै हिँड्ने, खेल्ने र पढ्ने साथीलाई मारेर उखुबारीमा फालियो,’ पूजाले भनिन्, ‘उखुबारी र त्यो छेउको सडक सम्झँदा पनि मनमा चसक्क हुन्छ। डरले हामी त्यो बाटो ओहोरदोहोर गर्नै सक्दैनौं।’ पक्की सडकको छेउमा निर्मलाका कापीकिताब भेटिएका थिए। खोलामा साइकल थियो। खोलापारि उखुबारीमा पानीमा घोप्टो पारिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो। मान्छे ओहोरदोहोर गरिरहने र छेउछाउमा फाटफुट घर रहेको यो सडक डरलाग्दो देखिँदैन। तर निर्मलाको शव फेला परेपछि छात्राहरू डरले यो बाटो नहिँडेका हुन्। छात्रा मात्र नभएर नगरपालिकाका वडा २, १८ र १९ का महिला पनि यो बाटो ओहोरदोहोर गर्न डराउँछन्।
अहिले महिला यो बाटो एक्लै हिँडडुल गर्न डराउँछन्,’ वडा २ कि मञ्जु भट्टले भनिन्, हुन त निर्मलाको हत्या त्यो उखुबारीमा भएको होइन, हत्यारा त्यहाँ हुने पनि होइन तर पनि त्यो बाटो एक्लै हिँड्दा मनमा डर पैदा हुन्छ। त्यो बाटो हिँड्नै परे दुईचारजनाको समूहमा वा पुरुषसँग जाने गरेको उनी बताउँछिन्। एक्लै भए सबै महिला भासीको लामो र घुमाउरो बाटो प्रयोग गर्ने उनी बताउँछिन्। वडा २ उल्टाखाम, वडा १९ बागफाँटाका छात्रा तथा महिला पनि यो बाटो हिँड्न डराउँछन्। ‘राति अँध्यारोमा बजारबाट घर फर्कनुपरे यो बाटोमा झन् बढी डर लाग्छ, भट्ट भन्छिन्। निर्मलासँगै पढ्ने र उनीसँग परिचित छात्रा बढी त्रसित छन्। उनका मिल्ने चार छात्राले प्रधानमन्त्रीलाई हत्यारा पत्ता नलाग्दा असुरक्षित भएको भन्दै कहिले हत्यारा पत्ता लाग्ने भनेर खुलापत्र पनि लेखेका थिए। विद्यालयका प्रधानाध्यापक जगन्नाथ पाण्डेय घटनास्थलनजिक भएर विद्यार्थी ओहोरदोहोर गर्न डराउने बताउँछन। ‘करिब २५ प्रतिशत विद्यार्थीको विद्यालय आउनेजाने बाटो घटनास्थल उखुबारीछेउ छ, उनी भन्छन्, अपराधी नखुलेकाले उनीहरू यो बाटो हिँड्डुल गर्न डराउँछन्। डरले छात्राले वैकल्पिक बाटो प्रयोग गर्न थालेका छन्।
कक्षाकोठा नै बदलियो
निर्मला पढ्ने कक्षकोठामा आजभोलि कोही विद्यार्थी बस्दैनन्। निर्मलाको हत्यापछि उनको कक्षाकोठामा निरन्तर पुगिरहने पत्रकार, अधिकारकर्मीका कुराले उनका साथीलाई निर्मलाको सम्झना र वियोगले बढी पीडा दिलाउँछ। यही बेन्चमा बस्ने भनेर निर्मलाको याद आउँदा पढ्न नै मन नलागेपछि अचेल हामी त्यो कोठा छोडेर नयाँ कोठामा बस्न थालेका छौं,’ हुन्थ्यो, निर्मलाकी साथी लक्ष्मीले भनिन्। उनले थपिन्, निर्मलाको यादले हामीलाई पढाइमा मन नै नलाग्ने भएकाले पनि कोठा सार्न भनेका हौं। अहिले त सरस्वती उच्च माविमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ। हामीले प्रधानमन्त्रीलाई पनि खुलापत्र लेख्यौं। अहिलेसम्म पनि हत्यारा पत्ता नलाग्दा हामीलाई असुरक्षा महसुस भएको छ, कक्षा ९ मा पढ्ने गीता जोशीले भनिन्।
२०७५ मंसिर १६ गते ७:४२ मा प्रकाशित