समाचारमा बालबालिका

विद्यालयबाहिर मुसहर बालबालिका

भंगाहा नगरपालिका–४ की सुशीला सदा आफ्नो नागरिकता नभएकाले दुई छोराको जन्मदर्ता गराउन सकेकी छैनन् । उनको ५ वर्षीय छोरा धीरज र ३ वर्षीय नीरजलाई स्कुल पठाउने इच्छा भए पनि जन्मदर्ता नहुँदा भर्ना नलिने भएपछि स्कुल नपठाएको बताइन् । भंगाहा नगरपालिका–३ की १४ वर्षीया अञ्जनाकुमारी सदा र १२ वर्षीया रूपा कुमारी सदाले जन्मदर्ता नहुँदा सानैमा स्कुल जान पाएनन् । उनीहरूको पढ्ने रहर भए पनि साथीभाइले जन्मदर्ता नभएकै कारण जिस्काउने गरेकाले विद्यालय नजाने बताउँछन् । सोही गाउँकी आमाबाबु गुमाइसकेकी १२ वर्षीया बिना सदाले समेत जन्मदर्ता नभएकाले स्कुल नगएको बताइन् । पढ्ने मन भए पनि स्कुल जाँदा सानो कक्षामा ठूला मान्छे भन्दै अरूले जिस्काउने गरेकाले आफूहरू विद्यालय नजाने गरेको बालबालिकाहरू बताउँछन् । महोत्तरीको भंगाहा नगरपालिका ३ र ४ को मुसहर समुदायमा रहेका चार सय बालबालिका विद्यालयबाहिर छन् । यी गाउँमा ५ वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिका विद्यालय समय खेलेरै दिन कटाउने गर्छन् । केही बालबालिका विद्यालयमा भर्ना भएर पनि जाने गरेका छैनन् । उनीहरूजस्तै आमाबाबु गुमाइसकेकी १२ वर्षीया बिना सदाले जन्मदर्ता नभएकाले विद्यालय नगएको सुनाइन् । दुईवटा बस्तीमा बसोबास गर्दै आएका अधिकांश अभिभावकसँग न लालपुर्जा छ न त नागरिकता । नागरिकता नभएकाले बालबालिकाको जन्मदर्ता हुन सकेको छैन । विद्यालयले जन्मदर्ता खोज्ने गरेकाले बालबालिकालाई विद्यालय नपढाउने गरेको अभिभावक बताउँछन् । स्थानीय देवतीदेवी सदालेआफ्ना दुई छोरीलाई जन्मदर्ता नभएकै कारण स्कुल नपठाएको बताइन् । ससुराको समेत नागरिकता नभएकाले तीन पुस्तासम्म असर परेको भन्दै बच्चाहरूको जन्मदर्ता नहुँदा पढाइ मात्रै नभएर धेरै कुराबाट वञ्चित हुनुपरेको उनको दुःखेसो छ । विद्यालय शिक्षाको महत्त्व बुझाउँदै मुसहर समुदायमा पहिले अभिभावकमै चेतना फैलाउन जरुरी भएको स्थानीय श्रीकृष्ण सदाले बताए । समुदायका बालबालिका विद्यालय नजानेभएकाले आफ्नो ४ कक्षामा पढ्ने छोरी सुष्मिता र छोरा सुशीललाई समेत समुदायमा पढ्ने वातावरण नभएको उनले सुनाए । गरिबीका कारण २ वटा वडाको मुसहर समुदायका मात्रै ४ सय बालबालिका शिक्षाबाट वञ्चित रहेको स्थानीय जितेन्द्रकुमार सिंहले जनाए । सीतापुरस्थित श्री मावी भंगाहाका प्रधानाध्यापक श्रीराम यादवले विद्यालयमा बालबालिका ल्याउन पहल गरिरहेको बताए । बालबालिकाको जन्मदर्ता नभए पनि नगरको निर्देशनमा विद्यार्थी भर्ना गर्ने गरिएको उनले बताए । भंगाहा नगरपालिकाका मेयर संजीव साहले भर्ना अभियानको समयमा सबै बालबालिकालाई विद्यालय ल्याउन मुसहर र बाँतर समुदायको हरेक घरमा आफैँ पुगेको बताए। नगरले विद्यालयलाई जन्मदर्ता नभए पनि विद्यार्थी भर्ना गर्न चिट्ठी पठाएको र विद्यालयमा भर्ना भएपछि ती बालबालिकालाई जन्मदर्ता प्रमाणपत्र दिने पहल गरेको मेयर साहले बताए।

२०७६ माघ ५ गते १०:१४ मा प्रकाशित