बञ्चरो प्रहार गरी दुई बालबालिकाको हत्या
पश्चिमी रोल्पाको त्रिवेणी गाँउपालिका–२ नुवागाँउका २१ वर्षीय खर्कबहादुर विश्वकर्माले छिमेकी दाजु नाता पर्ने गणेश विकका एक छोरा र छोरीको बञ्चरो प्रहार गरी हत्या गरेका छन् । बञ्चरो प्रहारबाट खर्कबहादुरका ठूलो बुबाका छोरा गणेश विश्वकर्माका ५ वर्षीय छोरा प्रेम र ३ वर्षीय छोरी बसन्तीको सोमबार ज्यान गएको हो। घर छेउकै बारीमा खेलिरहेका बालबालिकामाथि एक्कासी खर्कबहादुरले बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ। हत्या अभियोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे जानकारी पाएपछि अनुसन्धानका लागि रुन्टीगढी गाउँपालिकास्थित होलेरीबाट प्रहरी घटनास्थल पुगेको थियो। हत्या गरी भाग्दै गरेका खर्कबहादुरलाई नुवागाँउकै भाङ्गोबारीबाट पक्राउ गरेको हो। पारिवारिक विवादका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। दुई परिवारमा केही अघिदेखि विवाद हुदै आएको स्थानीयले बताएका छन्। घटनाको थप अनुसन्धान भैरहेकोप्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए। गणेशका दुई सन्तान मात्रै थिए। दुवै सन्तान मारिएपछि गणेशका दम्पति विक्षिप्त बनेको छ। घटनापछि गाँउ शोकमग्न छ। होलेरीस्थित प्राथमिक सेवा केन्द्रमा चिकित्सक नहुदाँ मृतक बालबालिकाको शव पोष्टमार्टमका लागि दाङको घोराही लगिएको छ ।
२०७४ चैत्र २० गते २:१० मा प्रकाशित