समाचारमा बालबालिका

बालक हत्याले त्रास

दाइको छोराको हत्या भएको ६ महिना नबित्दै भाइको छोराको पनि हत्या भएपछि पर्साको बहोदरमाई नगरपालिका २ बैरिया टोलका स्थानीय त्रसित बनेका छन् । परिवारजन र समाजमा त्रास फैलिएको छ । गत आइतबार बिहान करिब साढे ८ बजे खाना खाएर घरबाहिर निस्किएका शिवजीप्रसाद साहका ६ वर्षीय छोरा आयोग साह गाउँकै पोखरीमा दिउँसो मृत फेला परेका थिए । शिवजीका दाइ सञ्जय साहका ११ वर्षीय छोरा सुमित साहको शव सोही नगरपालिकाको नगरदाहाको पोखरीको डिलमा गत मंसिर १७ गते फेला परेको थियो । मंसिर १३ गतेदेखि परिवारजनबाट सम्पर्कविहीन भएका सुमित ३ दिनपछि मृत अवस्थामा भेटिएका थिए । सुमितको हत्यारा प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । सुमितझैँ आयोगको पनि हत्या गरिएको भन्दै स्थानीयले दिनभरि शव झिक्न दिएनन् । साँझ हेटौंडाबाट तालिमप्राप्त कुकुर झिकाएर आवश्यक अनुसन्धानपछि प्रहरीले शव बाहिर निकालेका थियो ।एकै परिवारका २ बालकको हत्या गरिएको विषयमा सोमबार स्थानीयले वीरगन्जमा विरोध प्रदर्शन गरेका थिए । एक घण्टा चक्काजाम पनि गरे ।

हत्या अनुसन्धानमा प्रहरी गम्भीर नरहेको आरोप लगाउँदै उनीहरूले नाराबाजीसमेत गरेका थिए । हत्यारा पत्ता लगाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । प्रजिअ लोकनाथ पौडेलले एकै परिवारका २ बालकको हत्याबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको संयोजकत्वमा ५ सदस्य छानबिन समिति गठन गरेका छन् । समितिमा संघीय प्रहरी इकाइ कार्यालय, वीरगन्जका प्रहरी नायब उपरीक्षक छेदिलाल कामती, जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी नायब उपरीक्षक सत्यनारायण थापा, अनुसन्धान अधिकृत दीपक पटेल र जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा महेश अर्याल सदस्य छन् । सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न छानबिन समिति गठन गरिएको प्रजिअले जनाएका छन् । यस्तो घटना दोहोरिन नदिन सुरक्षा अंगलाई अपनाउनुपर्ने सावधानी पनि सुझाउन छानबिन समितिलाई निर्देशन दिएका छन् । परिवारजनका अनुसार बिहान करिब साढे आठ बजेतिर खाना खाएर खेल्न निस्किएका आयुव दिउँसो घरबाट झन्डै ३ सय मिटर उत्तरमा रहेको पोखरीमा मृत अवस्थामा फेला परेका थिए । आयुबलाई नियन्त्रणमा लिई हत्या गरी पोखरीमा फालेको परिवारको आशंका छ । शृङ्खलाबद्ध बालक हत्याले परिवार मात्र नभई पूरै वरिया टोल नै त्रसित बनेको स्थानीय वीरेन्द्र यादवले बताए । यसैगरी ०७३ असोज १९ मा सोही नगरपालिका ८ निवासी विनोद पटेलका ९ वर्षीय छोरा राजन पटेलको पनि हत्या भएको थियो । राजनको शव क्षतविक्षत अवस्थामा वीरगन्ज चिनी कारखाना लिमिटेडपछाडि फेला परेको थियो । हत्या गरेर फालिएको शव नजिकै वडा प्रहरी कार्यालय श्रीपुर र सशस्त्र प्रहरी सीमा सुरक्षा बलको कार्यालय छ । घर नजिकैको एक बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययन गर्ने राजन असोज १९ गते साँझ खेल्न गएपछि घर फर्केका थिएनन् । परिवारले चारैतर्फ खोजबिन गरी राति नै वडा र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको थियो । हराएको भोलिपल्ट उनको शव फेला परेको थियो । हत्या भएको २१ महिना बितिसक्दा पनि प्रहरीले राजनको हत्यारा पत्ता लगाउन सकेको छैन । प्रहरी उपरीक्षक रेवती ढकालले दत्तचित्त भएर बालक हत्या अनुसन्धानमा लागेको बताए ।

 २०७५ साउन ३ गते १०:१७ मा प्रकाशित