समाचारमा बालबालिका

शिक्षक नै मोबाइल फोनमा अलमलिएपछि विद्यालयमा मोबाइल चलाउन नपाइने

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकास्थित रावादोलु स्रोत केन्द्रभित्रका विद्यालयमा मोबाइल फोन प्रयोग गर्न रोक लगाइएको छ । रावादोलु स्रोत केन्द्रले शैक्षिक सुधारका लागि आचारसंहिता जारी गर्दै विद्यालयमा मोबाइल फोनको प्रयोगमा रोक लगाएको हो । स्रोत केन्द्रभित्रका सबै विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकले समेत पालना गर्नुपर्ने अनिवार्य शर्त सहितको आचारसंहिता जारी गरिएको स्रोतव्यक्ति जीवन कुमार नेपालले बताउनुभयो । ‘विद्यालयमा बढ्दो विकृति रोक्ने प्रयास स्वरुप स्रोत केन्द्रबाट आचारसंहिता जारी गरेर लागू गरिएको छ’ नेपालले भन्नुभयो– ‘ शिक्षक नै मोबाइल र फेसबुकमा अलमलिएपछि शिक्षाको गुणस्तर खस्किएको पाइएपछि हामीले सुधार अभियान थालेका हौं ।’ शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधि सहितका सरोकारवालासँगको समन्वयमा शैक्षिक सुधारको अभियान अन्तरगत आचारसंहिता जारी गरेर कडाईका साथ लागु गरिएको नेपालले सुनाए । आचारसंहितामा शिक्षकले पालना गर्नुपर्ने १४ वटा, विद्यार्थीले पालना गर्नुपर्ने  ११ वटा र अभिभावकले पालना गर्नुपर्ने ७ वटा विषय समेटिएको छ । स्रोत केन्द्र भित्रका अधिकांश विद्यालयले आचारसंहिता लेखिएको बोर्ड विद्यालयको अग्रभागमा राखेर कार्यन्वयन सुरु गरेका छन् । शिक्षकले चप्पल, टाउजर सहितका अनौपचारिक पोशाकमा विद्यालय प्रवेश गर्न नपाउने, विद्यालय पोशाक अनिवार्य लगाउनु पर्ने, मोवाइल फोन प्रयोग गर्न नपाइने, बिदा बस्नुअघि अग्रीम स्वीकृित लिनुपर्ने बाध्यकारी नियम बनाइएको छ । विद्यार्थीले पनि विद्यालयमा मोवाइल फोन प्रयोग गर्न नपाउने, अभिभावक महिनामा १ पटक विद्यालय आउनु पर्ने, दिउँसो अनिवार्य स्थानीय खाजा विद्यार्थीलाई पठाउनुपर्नेलगायतका विषय समेटेर  आचारसंहिता जारी गरिएको छ । रावादोलु स्रोत केन्द्रमा माध्यमिक तहका २ र अन्य आधारभूत गरि १२ वटा विद्यालय छन् । 

२०७५ साउन ४ गते प्रकाशित