समाचारमा बालबालिका

विद्यालयमा मोबाइल निषेध

बर्दियाको ठाकुरबाबा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई विद्यालयमा मोबाइल फोन प्रयोग निषेध गरिएको छ । अब विद्यार्थीहरूले विद्यालय परिसरमा मोबाइल फोन प्रयोग गर्न पाउने छैनन् । विद्यार्थीले मोबाइल ल्याएको वा नल्याएको जाँच विद्यालयको गेटमै गरिने भएको छ । ल्याएको भए अभिभावकलाई बोलाई मोबाइल फोन जिम्मा लगाइनेछ । शिक्षकहरूले भने विद्यालयमा मोबाइल फोन ल्याउन पाए पनि कक्षाकोठामा लैजान पाउनेछैनन् । शिक्षकहरूले कार्यालयमा मोबाइल राखेर मात्र कक्षाकोठामा प्रवेश गर्नुपर्नेछ । शिक्षकहरूले कार्यालय कक्षमा मात्र मोबाइल फोन प्रयोग गर्न पाउनेछन् । नगरप्रमुख, उपप्रमुख, जिल्ला शिक्षा अधिकारी, स्रोतव्यक्ति, ठाकुरबाबा नगरपालिकाका ९ वटै वडाका वडाध्यक्ष, नगर कार्यपालिकाका सदस्य, ठाकुरबाबा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र राजनीतिक दलका प्रतिनिधिहरूको एक बैठकले विद्यालयमा मोबाइल फोनको प्रयोग निषेध गर्ने निर्णय गरेको हो । पछिल्लो समय मोबाइल फोनको प्रयोगले विद्यार्थीको पढाइमा नराम्रो असर परेकाले यसलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको ठाकुरबाबा नगरपालिकाका स्रोतव्यक्ति नन्दराम अधिकारीले जानकारी दिए । उनले भने, ‘ विद्यार्थीहरूले कक्षा कोठामै गीत सुन्ने, भिडियो हेर्ने, अनावश्यक फोटो खिच्नेजस्ता गतिविधि बढ्दै गएको पाइएकाले मोबाइल फोनको दुरुपयोग रोक्न सबैको सहमतिमा यो निर्णय गरिएको हो ।

पछिल्लो समयमा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूमा विद्यालयमा मोबाइल फोनको प्रयोग बढ्दै गएको पाइन्छ । माथिल्लो तहका विद्यार्थीको सिको गरेर तल्लो तहका विद्यार्थीले पनि विद्यालयमा लुकाईछिपाई मोबाइल ल्याउने गरेको एक शिक्षकले बताए । विद्यालयमा मोबाइल फोनको प्रयोग रोक्ने सबै विद्यालयका प्रधानाध्यापकहरूले प्रतिबद्धता जनाएका छन् । अनुगमनका क्रममा मोबाइल फोनको प्रयोग गरेको पाइएमा कारबाही हुने स्रोतव्यक्ति नन्दराम अधिकारीले बताए । विद्यालयमा मोबाइल फोन लैजान नपाउने निर्णयलाई अभिभावकहरूले स्वागत गरेका छन् । स्थानीय अभिभावक नरेश सुनारले भने, ‘राम्रो निर्णय भएको छ । यसले विद्यार्थीको पठनपाठन र विद्यालयको वातावरणमा सुधार अवश्य ल्याउने छ । ’यसैगरी विद्यालयमा व्यावहारिक शिक्षा लागू गर्ने सम्बन्धमा पनि सरोकारवालाबीच छलफल भएको छ । सैद्धान्तिक शिक्षालाई दैनिक जीवन पद्धतिसँग जोडेर शिक्षा दिइएमा सिकाइ दिगो र प्रभावकारी हुनेमा सरोकारवालहरूले जोड दिएका छन् । ठाकुरबाबा नगरपालिका नगरप्रमुख घननारायण श्रेष्ठले नगरक्षेत्रको शैक्षिक विकास र विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको शैक्षिक उन्नतिका लागि नगरपालिका सदैब तत्पर रहेको बताए ।

२०७४ फागुन ६ गते प्रकाशित