समाचारमा बालबालिका

कुपोषणबाट जोगाउन बच्चालाई अन्डा

रसुवाको उत्तरगया गाउँपालिका–५ कैदलटारकी लक्ष्मी पौडेल आफू र आफ्नो बच्चाको स्वास्थ्यप्रति निकै सचेत छिन्। उनले आफ्नो बच्चालाई ६ महिना स्तनपान मात्र गराइन्। त्यसपछि दूधसँगै खाना थपेर अन्डासमेत मिसाएर खुवाउन थालिन्। ‘बच्चाले दिनहुँ अन्डाको एकैखालको परिकार खान मान्दैन,’ उनले भनिन्, ‘त्यसकारण विभिन्न परिकार बनाएर खुवाउँछु।’ कहिलेकाहीं बच्चालाई अमलेट खुवाउने उनले कहिलेकाहीं भने केराको खीरमा उसिनेको अन्डा मिसाएर दिने गरेकी छन्। केही वर्षअघिसम्म बच्चालाई अन्डा खुवाउनुहुन्न भन्ने सोचाइ थियो। बच्चालाई अन्डा खुवाउनुपर्छ भन्ने चेतना फैलिँदै जाँदा अन्डा उसिनेर खुवाउने क्रम सुरु भयो। तर पछिल्लो समय अन्डाका विविध परिकार बनाएर बच्चालाई खुवाउनेको संख्या बढ्दै गएको छ। गोसाइँकुण्ड गाउँपालिका–६ की किप्पा तामाङले बच्चालाई अन्डा कहिले लिटो वा जाउलोसँग मिसाएर दिने गरेकी छन्। ‘कहिले त्यसमा उसिनेको अन्डा मिसाउँछु,’ उनले भनिन्, ‘कहिलेकाहीं गेडागुडीको बाक्लो दालमा पकाएको साग, गाजर र अन्य तरकारीमा उसिनेको अन्डा मिसाउने गरेकी छु।’ केही दिनको अन्तरालमा अन्डा राखेको पानकेक बनाएर दूधमा मिसाएर खुवाउने गरेको उनले सुनाइन्।बच्चाले मिठो मानेर खाओस् भनी उसिनेको अन्डालाई दूध वा पाकेको केरामा मसिनोगरी मिचेर खुवाउने गरेको गोसाइँकुण्ड–६ की पूजा गुरुङले बताइन्। उसिनेको तथा भुटेको अन्डा पनि अन्य परिकारमा मिसाएर खुवाउन सकिने उनको अनुभव छ। बच्चालाई दिनहुँ अन्डाको फरकफरक परिकार बनाएर खुवाउँदा बच्चाले मिठो मानेर खाने कालिका गाउँपालिका–५ का रामप्रसाद पौडेलले बताए। अन्डाले बच्चाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने र कुपोषणबाट बचाउने स्वास्थ्यकर्मी बताउँछन्।

२०७६ फागुन १९ गते ९:१९ मा प्रकाशित