स्थानीय उत्पादन खान नजान्दा कुपोषण
किशोर उमेरमै पहिलो पटक आमा बनेकी रेवती सार्कीको पहिलो सन्तान तीन वर्षका भए । नौ महिनाअघि दोस्रो पटक उहाँले एकै पटक एक छोरा र एक छोरीलाई जन्म दिनुभयो । स्वस्थ जन्मिएका जुम्ल्याहामध्ये अहिले छोरीलाई कुपोषण भयो । छोरा भने स्वस्थ र निरोगी छन् । कुपोषण भई तौल कम भएकी पाँच किलोग्रामकी छोरीसहित सार्की यति बेला पोषण पुनस्र्थापना केन्द्रमा हुनुहुन्छ ।छोरी कसरी कुपोषित भइन् भन्ने कुरा यी २२ वर्षीया आमालाई थाहा छैन । कुपोषण पुनस्र्थापना केन्द्रमा पोषण र हेरचाह पाएपछि उहाँकी छोरीको तौल विस्तारै बढिरहेको केन्द्रका अनमी पार्वती ओझाले बताउनुभयो ।डोटी जिल्लाको गैराकी २१ वर्षीया डम्बरी ओली दोस्रो पटक आमा बनेको ११ महिना भयो । उहाँको पहिलो छोरी चार वर्षकी भइन् । दोस्रो छोरी भने कुपोषणका कारण कम तौलकी छन् । “खोप लगाउन जाँदा छोरीको तौल कम भएको थाहा पाएँ”, एक वर्ष पुग्नै लाग्दा पनि जम्मा छ किलोकी छोरी लिएर पोषण पुनस्र्थापना केन्द्र आउनुभएकी ओलीले भन्नुभयो ।खेतीपाती गर्ने ओलीको परिवारमा खानेकुराको अभाव छैन । घरमै अन्न, गेडागुडी, हरिया सागपातलगायत पोसिला वस्तु खुवाउन सकिन्छ । “बच्चाले खाँदैन भनेर खानेकुरा खुवाइएन । आफ्नै घरको खानेकुरा पनि मिलाएर खुवाए हुने रहेछ”, ओलीले भन्नुभयो, “यहाँबाट बच्चालाई खानेकुरा बनाउन सिकेको छु । अब घरमै खुवाउँछु । ” शिशुलाई जन्मेको छ महिनापछि पोसिलो अन्न खुवाए कुपोषणबाट बचाउन सकिने रहेछ भन्ने कुरा कुपोषण पुनस्र्थापना केन्द्र आएर थाहा पाएको उहाँले बताउनुभयो ।बैतडी, अनारखोलीकी राजेश्वरी चन्दले सुत्केरी अवस्थामा रक्तअल्पता भएपछि नवजात छोरीलाई पर्याप्त दूध चुसाउन पाउनुभएन । पछि पोसिलो खाद्यपदार्थ पनि खान नमानेपछि उहाँको छोरीको तौल बढेन । डेढ वर्षकी छोरीको जम्मा साढे छ किलो तौल भएपछि उहाँ अहिले पुनस्र्थापना केन्द्रमा हुनुहुन्छ । पुनस्र्थापना केन्द्रमा १८ दिन राखेपछि अहिले उहाँको छोरीको तौल आठ किलो पुगेको छ ।डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा दुई वर्षदेखि पोषण पुनस्र्थापना केन्द्र सञ्चालन भएको छ । कुपोषण भएका बालबालिकालाई आवासीय सुविधासहित पोषण पुनस्र्थापना गरिन्छ । यहाँ आउने अधिकांश बालबालिकाका अभिभावकलाई पोषणको ज्ञानको कमीका कारण सन्तानलाई कुपोषण हुने गरेको अनमी ओझाको अनुभव छ ।“खान नपाएरभन्दा खान नजानेर कुपोषण भएको देखिन्छ । बालबालिकालाई घरमै भएको अन्नपात र फलफूल पनि खुवाउन जानेको देखिएन”, उहाँले भन्नुभयो, “साना र ठूलाले खाने खाना एउटै हुँदा पनि कुपोषण भएको पाउँछौँ । ” धेरैजसो किसान, मजदुर, गरिब तथा दलित परिवारका बालबालिका कुपोषणको समस्या लिएर केन्द्र आउने गरेको अनमी ओझाले बताउनुभयो ।केन्द्रमा डडेल्धुरा, बैतडी, डोटी र अछामबाट बालबालिका कुपोषणको समस्या लिएर आउने गरेको केन्द्रकी कार्यक्रम व्यवस्थापक पूजा चन्दले बताउनुभयो । केन्द्रले १४ वर्षमुनिका बालबालिकालाई पोषण पुनस्र्थापनाका लागि राख्ने गरेको छ । उमेरअनुसार तौल नपुगेका बालबालिकालाई सामान्य तौल नपुग्दासम्म पोषण दिई घर पठाइन्छ । आमालाई पनि केन्द्रमै राखी बालबालिकालाई पोसिलो र सन्तुलित खानेकुरा बनाउने तरिका सिकाएर पठाइन्छ । आमालाई सरसफाइ तथा स्वास्थ्य शिक्षा दिएर पठाउँदा भविष्यमा घरमै पोषण पूर्ति हुने गरेको चन्दको भनाइ छ । केन्द्रमा बालबालिकालाई राखी पोषण दिएपछि आमाको समेत स्वास्थ्यमा सुधार देखिएको उहाँले बताउनुभयो ।केन्द्रले वार्षिक सय जना बालबालिकालाई कुपोषणको उपचार गर्ने गरेको चन्दले जानकारी दिनुभयो । नेपाल युथ फाउन्डेसन, रुडुक र डडेल्धुरा उपक्षेत्रीय अस्पतालले संयुक्त रूपमा पोषण पुनस्र्थापना केन्द्र सञ्चालन गरिरहेको छ । अबको तीन वर्षपछि पूर्ण रूपमा अस्पतालले स्वामित्व लिने छ । नेपाल जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा १० प्रतिशत बालबालिकालाई कुपोषण छ । विश्व स्वास्थ्य सङ्गठनले १० देखि १४ प्रतिशत बा९लबालिकामा कडा खालको कुपोषण भएको अवस्थालाई नाजुक मानेको भन्छ।
२०७६ फागुन १ गते प्रकाशित