समाचारमा बालबालिका

तयार पारिँदै बाल खेलाडी

इलाम बजारको ठूलो टुँडिखेल शनिबार बिहान रंगीचंगी देखिन्थ्यो । मैदानैभरि बालबालिका । कोही नीलो, कोही हरियो, रातो, कालो त कोही पहेंलो जर्सीमा सजिएका । एकैपटक चारवटा खेल खेलाइँदै थियो । सेभेन ए साइड फुटबलमा आठ विद्यालयका टिम सहभागी थिए । सदरमुकामका १० वर्ष र १४ वर्षमुनिका विद्यार्थी एन्फाको दोस्रो चरणअन्तर्गतको ग्रासरुट फुटबलमा समेटिएका हुन् । यी सबैले अहिले लिगमार्फत फुटबल प्रशिक्षण गर्नेछन् । एक महिनाको लिगपछि एउटा टिम छनोट गरी प्रदेशमा खेल्न पठाइनेछ । ‘तर प्रशिक्षण निरन्तर चलिरहनेछ,’ जिल्ला फुटबल संघका अध्यक्ष महेश श्रेष्ठले भने, ‘यी वाहेकका इच्छुक विद्यार्थीलाई पनि समेटेर तालिम दिइनेछ ।’एन्फाले यस्तो प्रशिक्षण चलाएपछि अभिभावक पनि दंग छन् । मोबाइल र टेलिभिजनमा मस्त हुने बालबालिका बिदाको दिन पनि फुटवलमा रम्ने अवसर पाएकाले यसबाट उनीहरूको शारीरिकसँगै मानसिक विकासमा पनि सहयोग पुग्ने अभिभावकको भनाइ छ ।‘बालबालिकालाई अन्य विकृतिबाट बचाउन पनि अभियानले साथ दिने अपेक्षा गरेका छौ,’ एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीले भने, ‘यो कार्यक्रम लागू भएका क्षेत्रमा बालबालिकाको उपस्थिति सोचेभन्दा धेरै छ ।’ उनका अनुसार दक्षिण एसियामै धेरै विद्यार्थी सहभागी यो अभियानमा ४८ जिल्लाका ९ हजार विद्यार्थी छन् ।शारीरिक अभ्याससँगै फुटबलका विभिन्न कौशल सिकाइने भएकाले राम्रो खेलाडी बन्न चाहनेका लागि अभियान गतिलो मञ्च रहेको प्रशिक्षक दर्शन भक्तराजको भनाइ छ । धेरैतिरबाट माग आएकाले सदरमुकामबाहिर पनि यस्तो अभियान सञ्चालन गर्ने योजना रहेको जिल्ला फुटवल संघले जनाएको छ । ‘सूचना प्रविधिको विकाससँगै अहिलेका बालबालिका फुटबलका राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिबारे जानकार छन्,’ शिक्षक गणेश गतिवडाले भने, ‘घर र विद्यालयमा फुटबलको धेरै चर्चा गर्ने विद्यार्थी आफै खेल्न पाउदा झन खुसी देखिएका छन् ।’ सदरमुकाम क्षेत्रमा पर्याप्त खेलमैदान नहुनुले धेरैले चाहेर पनि खेल्न सक्दैनन् । एउटै मैदानमा पनि व्यवस्थापन गरेर सयौं विद्यार्थीलाई खेलाउन सकिने उदाहरण यो कार्यक्रमले दिएको छ।

२०७६ मङ्सिर ८ गते १०:१३ मा प्रकाशित