समाचारमा बालबालिका

हराएको शिशु स्याङ्जाको मिर्मिबाट भेटियो

लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार हराएको नवजात शिशु शनिबार भेटिएको छ । अस्पतालमा जन्मिएको चार घण्टामै गायव भएको शिशु स्याङ्जा जिल्लाको मिर्मीमा भेटिएको हो । प्रहरीले बच्चा र चोरी गर्ने महिलालाई शनिबार बिहान ८ बजे कोठाबाटै नियन्त्रणमा लिएको जनाएको छ । बच्चा सकुशल छ । अस्पतालबाट शिशु खोजी कार्यमा मिर्मिका स्थानीय र सञ्चारकर्मी जगदीश भटराई लगायतले प्रहरी प्रशासनलाई सघाएका हुन् । टोलीले स्थानीय र कालीगण्डकी ड्याम साइटका कर्मचारीहरुको सहयोग लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा सम्पर्क गरी बच्चा राखेको ठाउँमा बच्चा र बच्चा चोर्ने ४५ वर्षकी विमकला पाण्डेलाई नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको छ । क्याम्पका सुरक्षाकर्मीहरुले रातभरी बच्चा रोएको र त्यहाँ कोही पनि सुत्केरी नभएको भन्ने आधारमा थप अनुसन्धान शुरु गरिएको थियो । महिला स्याङ्जा गल्याङ नगरपालिका(५, डुम्रीचौर स्थायी घर भएकी ४५ वर्षकी विमकला विगत एक दशक अघिदेखि कालीगण्डकी ए परियोजनाको ड्याम साईडको क्वाटरमा दैनिक ज्यालादारीमा सरसफाई गर्ने कर्मचारी हुन् ।सुत्केरी बेथा लागेर अस्पताल पुगेकी तानसेन नगरपालिका-९, डाँडागाउँ तिलाहारकी २२ वर्षीया जमुना रानाले शुक्रबार बिहान ११ बजे लुम्बिनी मेडिकल कलेजमा जन्म दिएकी हुन् । सुत्केरी रानासँगै उनकी आमा र श्रीमान् समेत साथमा थिए । बच्चाको खोजीमा अस्पताल आएकी विमकला पाण्डेले उनीहरुको सीधापन र अस्पतालका कर्मचारीहरुको चरम लापरवाहीको फाइदा उठाउँदै बच्चा चोर्न सफल भएकी हुन् । विमकलाले बच्चा चोरेपछि अस्पतालको गेटबाटै भाग्दै गर्दा कसैले पत्ता पाएनन्।

२०७६ असार २८ गते १२:३५ मा प्रकाशित