समाचारमा बालबालिका

अर्घाखाँचीको भूमिकास्थानमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

अर्घाखाँचीमा चितुवाको आतंक बढेको छ । भूमिकास्थान नगरपालिका वडा नम्वर ९ (ढिकुरा) गौचौरका माधव प्रसाद घिमिरेका ४ वर्षीय छोरा आर्यन घिमिरेलाई चितुवाले आक्रमण गरेको छ । चितुवाको आक्रमण पश्चात उनलाई जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको छ । शनिबार बेलुका ६ बजे आफ्नै घरको आँगनमा खेलिरहेका आर्यनलाई चितुवाले एक्कासी आक्रमण गरेर घाईते बनाएको थियो । उनलाई तत्काल जिल्ला अस्पताल लगिए पनि बचाउन नसकिएको अस्पताल स्रोतलाई उद्घृत गर्दै जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

१९ जना बालबालिकामाथी आक्रमण
पछिल्लो ४ वर्षको अवधिमा अर्घाखाँचीमा चितुवाले १९ जना बालबालिकामाथी आक्रमण गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शिला पोख्रेलले बताइन् । जसमध्ये १३ जनाको ज्यान गएको छ भने ६ जना घाईते भएका छन् । आहार कम हुँदै जानु र जंगलको मात्रा बढ्दै जाँदा चितुवाले मानिस माथी आक्रमण गरेको हुन सक्ने पोख्रेलले बताइन् । बालबालिकामाथि दिउँसोको समयमा पनि चितुवाले आक्रमण गर्न थालेपछि  यहाँका स्थानीय अहिले डर, भय र त्रासमा जिवन बिताइरहेका छन्। स्थानीय सिर्जन भुसालले भने बालबालिकाहरुलाई विद्यालय पठाउन समेत गाह्रो भयो ।

नरभक्षी चितुवा मार्न सुरक्षा टोली परिचालन
नरभक्षी चितुवा मार्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली अहिले घटनास्थालमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । यसरी पटक-पटक सुरक्षाकर्मी परिचालन गरिए पनि नरभक्षी चितुवा भने फेला परेको छैन । घटना घटेको स्थलमा आज बाख्रा राख्ने र चितुवा आएमा मार्ने निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए । सेना र प्रहरीसँगै डिभिजन वन कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीय बासिन्दा मिलेर चितुवाको खोजी गरिरहेका छन् । यसरी पटक-पटक बालबालिकालाई चितुवाले आक्रमण गरेपछि स्थानीयहरु आतंकित बनेका छन् ।

२०७५ कार्तिक १८ गते प्रकाशित